काठमाडौं। तेल निर्यातकर्ता राष्ट्रहरूको संगठनको तेल उत्पादन असार महिनामा उल्लेख्य रूपमा बढेको छ। युद्धका कारण लामो समयदेखि अवरुद्ध रहेका खाडी क्षेत्रका तेल उत्पादनकर्ताले बन्द गरिएका उत्पादन स्रोतहरू पुनः सञ्चालनमा ल्याउन थालेपछि उत्पादनमा वृद्धि देखिएको हो। तर उत्पादन बढे पनि यो संकटअघिको अवस्थासम्म अझै पुग्न सकेको छैन।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको मासिक सर्वेक्षणअनुसार संगठनका ११ सदस्य राष्ट्रले असार महिनामा दैनिक एक करोड ९४ लाख ३० हजार ब्यारेल तेल उत्पादन गरेका छन्। यो जेठ महिनाको तुलनामा दैनिक ३३ लाख ब्यारेलले बढी हो। जेठमा उत्पादन घटेर सन् २००० यताकै सबैभन्दा न्यून स्तरमा पुगेको थियो।
उत्पादन वृद्धिमा कुवेत र इरानको योगदान सबैभन्दा बढी देखिएको छ। गत महिना भएको ६० दिने सहमतिपछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमाथिको समुद्री नाकाबन्दी हटाएसँगै इरानले उत्पादन पुनः बढाउन सफल भएको हो। खाडी क्षेत्रका अन्य उत्पादक राष्ट्रहरूले पनि भण्डारण क्षमता भरिएपछि र प्रमुख समुद्री मार्गमा जहाज आवागमन अवरुद्ध हुँदा बन्द गरिएका कुवाहरू पुनः सञ्चालनमा ल्याएका छन्।
साउदी अरब र इराकले पनि उत्पादन बढाएका छन् भने नाइजेरिया र लिबियामा तुलनात्मक रूपमा सानो वृद्धि देखिएको छ। यी राष्ट्रहरू खाडी क्षेत्रको संकटबाट कम प्रभावित भएका थिए।
यद्यपि उत्पादनमा आएको यो सुधारलाई पूर्ण रूपमा सामान्य अवस्थाको संकेत मान्न सकिँदैन। संगठनको कुल उत्पादन अझै पनि निर्धारित उत्पादन सीमाभन्दा निकै तल रहेको छ। हालको वृद्धि नयाँ उत्पादन थपिएको भन्दा पनि बाध्यतावश रोकिएका उत्पादन पुनः सञ्चालनमा आएको परिणाम हो।
हर्मुज जलडमरूमार्गबाट हुने तेल ढुवानी अझै युद्धअघिको स्तरमा फर्किएको छैन। व्यापारिक जहाजमाथि पटक–पटक भएका आक्रमणका कारण बीमा कम्पनी र जहाज सञ्चालकहरू अझै सतर्क देखिएका छन्।
यही कारणले संगठन तथा उसका साझेदार राष्ट्रहरूले उत्पादन सीमा बढाउने निर्णय गरे पनि त्यसको प्रभाव वास्तविक आपूर्तिमा तत्काल देखिएको छैन। इरान युद्ध सुरु भएयता उत्पादन कोटा धेरैपटक बढाइएको भए पनि अतिरिक्त तेल निर्यात गर्न आवश्यक पूर्वाधार र ढुवानी क्षमता पर्याप्त थिएन।
यसबीच अर्को चुनौती पनि देखापर्न थालेको छ। संयुक्त राज्य अमेरिकाले दैनिक झण्डै एक करोड ४० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै नयाँ कीर्तिमान बनाएको छ। उता, संगठनबाट बाहिरिएको संयुक्त अरब इमिरेट्सले पनि द्वन्द्वका क्रममा भण्डारण गरिएको तेल ठूलो मात्रामा निर्यात गर्न थालेको छ।
यी घटनाक्रमले विश्व बजारमा तेलको अधिक आपूर्तिको सम्भावना बढाएको छ र कच्चा तेलको मूल्यमा दबाब कायम राखेको छ।