काठमाडौं । लगानी बोर्डले सिमेन्ट उद्योग र जलविद्युत आयोजना गरी ७ विभिन्न परियोजनाको काम अघि बढाउन १ खर्ब ८५ अर्ब ४३ करोड वैदेशिक रुपैयाँ लगानी स्वीकृति गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार साँझ बसेको लगानी बोर्डको ४४ औं बैठकले ५ ओटा जलविद्युत परियोजना र २ ओटा सिमेन्ट उद्योगमा लगानी स्वीकृति गरेको हो ।
बैठकले ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्गदी जलविद्युत परियोजना बनाउन ७८ अर्ब ६५ करोड, ४९.५ मेगावाटको आँखुखोला जलविद्युत आयोजना बनाउन ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना बनाउन १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
यस्तै ९७.२ मेगावाटको इस्वाखोला जलविद्युत आयोजना बनाउन १३ अर्ब ५७ करोड र १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना बनाउन २८ अर्ब ६ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको छ । यी परियोजना स्वदेशी र चिनियाँ लगानी हुने छ ।
यस्तै बैठकले दाङ्ग सिमेन्ट उद्योगको ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड रुपैयाँ लगानी स्वीकृति गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले बताए ।
यसैगरी बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २० मेगावाटको पम्पस्टोरेजसहित १२५ मेगावाटका दुई छुट्टै परियोजना स्वीकृत गरेको उनले जानकारी दिए । पम्पस्टोरेज र सौर्य ऊर्जा परियोजना सञ्चालनका लागि राइजन इनर्जी सिङापुर जेभी प्रालिलाई अनुमति दिएको छ ।
कोरोना भाइरस महामारीका कारण अवरुद्ध भएका मुक्तिनाथ केवलकार, नेपाल चाइना फ्रेण्डसिप इन्डष्ट्रियल पार्क, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट फ्राइनट टर्मिनल एन्ड बल्क हेन्डिलिङ फेसिलिटिज परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पेश गर्ने को म्याद थपको निर्णय गरेको छ ।