काठमाडौं। भैरहवामा सञ्चालित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने सर्तमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको थाई एयर एसियाले अहिले नेपाल उडान पूर्ण रुपमा बन्द गरेको छ। लामो समयको विवादपछि २०८१ असोज १७ गतेबाट नेपाल उडान सुरु गरेको थाई एयर एसियाले विगत दुई महिनादेखि नेपाल उडान रोकेको हो।
प्राधिकरण श्रोतका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२५ को मार्चदेखि उडान गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दुई महिनादेखि उडान रोेकेको छ।
प्राधिकरणमा लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिरेको भन्दै उडान अनुमति रोकिरहेको बेला उसले पुरानो बक्यौता तिर्ने र भैरहवाबाट नियमित उडान गर्ने सर्तमा उडानका लागि अनुमति पाएको थियो।
थाई एयर एसियाले सुरुमा नियमित उडान गरे पनि यात्रु नपाएपछि भैरहवा र काठमाडौंबाट समेत उडान रोकेको हो। थाई एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १ र गौतमबुद्धमा साताको १ उडान गर्दै आएको थियो।
सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २ वटा र भैरहवाबाट साताको ४ वटा उडान गर्ने गरी उडान अनुमति लिएको थियो। तर, विस्तारै यात्रुको संख्या घट्दै जादा उडान संख्या घटाइरहेको थियो।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने मध्यपूर्वमा सुरु भएको युद्धपछि उडान रोकेको छ। मध्यपूर्वमा सुरु भएको युद्धको कारण इन्धन अभाव र महँगो हुनुको साथै पर्याप्त मात्रामा यात्रु नपाएको भन्दै उडान रोकेको थियो।
नेपालमा बढी पर्यटक आउने पाँचौँ मुलुकमा थाइल्यान्ड पर्छ। ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिर्भसल टुर्स एण्ड ट्राभल्स हो।
भैरहवाबाट एक उडानमा हुन्थ्यो ३/४ जना यात्रु
भैरहवाबाट उडान गर्ने सर्तमा उडान अनुमति पाएको थाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि धेरै प्रयत्न गरेका थिए।
युनिभर्सल ट्राभलले भैरहवामा छुट्टै ट्राभल एजेन्सीलाई समेत टिकटका लागि राखेको थियो। तर, उसले एक उडानमा बढीमा ४ जना यात्रु जम्मा गर्न नसकेपछि नियमित उडानबाट पछि हटेको जनाएको छ।
नियमित उडानको रटान, तर पाइँदैन यात्रु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि रटान भए पनि त्यहाँबाट पर्याप्त यात्रु नपाउँदा धेरै एयरलाइन्सहरु फिर्ता भएको छ। थाई एयर एसियाअघि कतार एयरवेज, हिमालय एयर, नेपाल एयरलाइन्सले पनि त्यहाँबाट नियमित उडानको लागि तयारी गरेका थिए।
तर, पर्याप्त यात्रुहरु नपाएको भन्दै विमानस्थलबाट ती एयरलाइन्सहरु फिर्ता भएका छन्। यता त्यहाँका उद्योगी व्यवसायीहरुले पनि सो विमानस्थलबाट नियमित उडानका लागि सरकारसँग बारम्बार अनुरोध गर्दै आएका छन्।