काठमाडौं। चितवनको सौराहमा अन्तर्राष्ट्रिय ब्राण्डमा सञ्चालन हुन लागेको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने लक्ष्यका साथ आफ्नो साख मूल्यांकन गराएको छ। रिसोर्टको प्रवर्द्धक कम्पनी केटीएम हस्पिटालिटीले प्राइभेटबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएसँगै संस्थागत साख मूल्यांकन (इस्युआर रेटिङ) गराएको हो।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीको पछिल्लो वित्तीय अवस्था र परियोजना प्रगतिको विश्लेषण गर्दै ‘बीबी माइनस’ रेटिङ दिएकोे छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको र लगानीको सुरक्षा अवस्था सामान्य रहेको संकेत गर्दछ।
कम्पनीले आईपीओका लागि मार्गप्रशस्त गर्न र लगानीकर्तालाई आफ्नो वित्तीय स्वास्थ्यबारे जानकारी दिन यो मूल्यांकन गराएको बुझिन्छ। केटीएम हस्पिटालिटी लिमिटेड सन् २०२४ को जुलाई ९ मा प्राइभेटबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो।
नेपालको कानुनी प्रावधानअनुसार सर्वसाधारणमा सेयर जारी गर्न पब्लिक लिमिटेड हुनु अनिवार्य छ। कम्पनीले हाल चितवनमा १ अर्ब ७४ करोड ९० लाख रुपैयाँ (करिब १ अर्ब ७५ करोड)को लगानीमा ६५ कोठाको अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ। परियोजनाको ठूलो लगानी बैंक ऋण र संस्थापकहरूको पूँजीबाट व्यवस्थापन गरिएकाले आगामी दिनमा थप पूँजी जुटाउन र ऋणको भार कम गर्न कम्पनी आईपीओमा जाने तयारीमा देखिएको हो।
चितवनको सौराहमा ४.१२ एकड क्षेत्रफलमा निर्माण भइरहेको यो रिसोर्ट सञ्चालनको अन्तिम चरणमा छ। सन् २०२६ को मध्य जुलाई (आगामी साउन)देखि होटलले व्यावसायिक रुपमा पाहुँनाहरूलाई सेवा दिन सुरु गर्ने लक्ष्य राखेको छ। रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेलिप्याड, स्विमिङ पुल र हेल्थ क्लब जस्ता ५ तारे मापदण्डका सुविधाहरू रहने छन्।
कम्पनीले फ्रान्सेली होटल चेन ‘लोभ्रे होटल्स ग्रुप’सँग व्यवस्थापन सम्झौता गरी ‘रोयल टुलिप’ ब्राण्डमा रिसोर्ट चलाउन लागेको हो। यसको नेतृत्व गैर-आवासीय नेपाली संघ (एनआरएन)का पूर्वउपाध्यक्ष तथा प्रतिष्ठित व्यवसायी रामेश्वर शाहले गरिरहेका छन्। शाहको व्यावसायिक अनुभव र अन्तर्राष्ट्रिय ब्राण्डको साथले गर्दा यो होटलले बजारमा छिट्टै आफ्नो पकड जमाउने अपेक्षा गरिएको छ।
सौराहको कुमरोज सामुदायिक वन र राप्ती नदीको तटमा रहेको यस रिसोर्टको रणनीतिक लोकेसन यसको सबैभन्दा सबल पक्ष हो। सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ र वैदेशिक पर्यटकको बढ्दो आगमनले होटलको आम्दानीमा टेवा पुग्ने देखिन्छ।
यद्यपि, कम्पनीका सामु केही चुनौतीहरू छन्। यसअघि नै सञ्चालनमा ल्याउने योजना रहे पनि ‘जेनजी’ आन्दोलनका कारण सिर्जित परिस्थितिले उद्घाटनको मिति केही समय धकेलिएको थियो। नयाँ परियोजना भएकाले लगानी फिर्ता हुन लाग्ने समय, बैंकको अस्थिर ब्याजदर र सौराह क्षेत्रका अन्य स्थापित होटलहरूसँगको प्रतिस्पर्धा कम्पनीका लागि मुख्य जोखिम हुन्।
कम्पनीले समयमै होटल सञ्चालन गरी राम्रो ‘अकुपेन्सी’ हासिल गर्न सकेमा यसको आईपीओमा लगानीकर्ताहरूको आकर्षण अझ बढ्ने रेटिङ रिपोर्टको निष्कर्ष छ।