काठमाडौं। संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले जनताका समस्या र पीडा सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले कर्णाली बस दुर्घटना, प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रका वासिन्दामाथि परेको अप्ठेरो, बाढीपहिरो जाँदा मन्त्री हेलिकोप्टरमा उडे पनि जनता नदीमै हारगुहार माग्नुपर्ने अवस्था नहटेको भन्दै सरकारप्रति रोष प्रकट गरे।
प्रतिनिधिसामा मुख्य प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा भाइरल हुन छाडेर जनताका समस्यामा ध्यान दिन आग्रह गरे।
‘प्रधानमन्त्रीजी संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ उनको प्रश्न छ, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एकै कुरा होइन।’
उनले प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपर्ने हो भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ भनेर प्रश्न पनि गरे। सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भए पनि प्रधानमन्त्रीका रूपमा गम्भीर ढंगले काम गर्न गाह्रो रहेको उनको भनाइ छ।
‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले अब भाइरल हुने बाटो अब त्याग्नुपर्छ। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो, सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, दुर्घटनामा पर्दा तपाईंमात्र होइन, सिंगो देश दुर्घटनामा पर्न सक्छ,’ उनले भने।
उनले प्रधानमन्त्रीलाई मस्तिष्कमा उत्तर कोरिया बोकेर नहिँड्न सुझाए। लोकतान्त्रिक विधिबाट निर्वाचित प्रधानमन्त्री उत्तरकोरिया शासनको झल्कोमा हिँड्दा दुर्घटना हुन सक्ने उनले चेतावनी दिए।
यस्तै, सांसदहरु ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुस्बु ओली, आशिका तामाङ, ज्ञानेन्द्र शाहीलगायतले विभिन्न समस्यामा परेका नागरिकलाई राहत दिन सरकार गम्भीर नभएको बताए।
एमाले प्रमुख सचेतक महरले बझाङमा भएको आगलागीबाट ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहत व्यवस्था गर्न माग गरे। विपदमा परेर गाँस, बास र कपासको अभाव झेलिरहेका नागरिकलाई राहत दिन सरकारले ढिलाइ गरेको भन्दै उनले आपत्ति जनाए।
महरले भने, ‘बझाङमा विभिन्न समयमा भएका आगलागीका घटनाले पीडित नागरिकलाई गाँस, बास र कपासको ठुलो समस्या परेको छ। उनीहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ सरकारलाई व्यङ्ग्य गर्दै उनले यत्रो सिंहदरबार, संसद् र सर्वोच्च अदालत चल्दा पनि जनताको पीडाले सरकारलाई नदुखेको टिप्पणी गरे।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कुनै पहल नगरेको भन्दै आलोचना गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को अनावश्यक हस्तक्षेपका कारण फिफाले यस्तो निर्णय लिएको उनको आरोप छ।
सांसद मल्लले भने, ‘नेपालको फुटबलमा फिफाले गरेको निलम्बन केवल खेलकुदको विषय मात्रै होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो। फिफा र एएफसीले हस्तक्षेप नगर्न स्पष्ट चेतावनी दिँदा पनि सरकारले गम्भीरतापूर्वक लिएन।’ उनले तत्काल कूटनीतिक पहल गरी खेलाडीले भोग्नुपरेको समस्या समाधान गर्न माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक खुस्बु ओलीले चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न सरकारसँग माग गरिन्। सरकारले चिकित्सकलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध गराउन कुनै ठोस कदम नचालेको उनको गुनासो छ।
ओलीले भनिन्, ‘यस अवस्थालाई समयमै सम्बोधन गरिएन भने नेपालले चिकित्सकका साथै अन्य स्वास्थ्यकर्मीको गम्भीर अभाव सामना गर्नुपर्ने निश्चित छ। यो जनस्वास्थ्यसँग गाँसिएको अत्यन्तै गम्भीर विषय हो।’ सरकारबाट पटकपटक आश्वासन पाए पनि ठोस पहल नभएको भन्दै उनले आउँदो शनिबार शान्तिपूर्ण प्रदर्शनको घोषणा गरिएको जानकारी दिइन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बर्डफ्लुको हल्ला फैलाएर किसानलाई मारमा पार्ने काम हुँदा पनि सरकार मुकदर्शक बनेको बताइन्। बर्डफ्लुको त्रासका कारण कुखुराको मासु र अन्डाको मूल्य घट्दा किसानको ठूलो लगानी जोखिममा परेको उनले बताइन्।
सांसद तामाङले भनिन्, ‘नेपाल टेलिकमको रिङटोनबाट समेत किसानलाई मारमा पार्ने खालको सन्देश प्रवाह गरियो। यो वास्तविक प्रयोगशालामा परीक्षण गरी पुष्टि भएको हो कि केवल आशंकाका आधारमा जारी भएको हो? स्पष्ट पार्न अत्यन्तै आवश्यक छ।’ यदि बर्डफ्लु पुष्टि नै भएको हो भने यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीमा हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन्।
असार १८ गते दैलेखस्थित कर्णाली नदीमा गाडी खसेको भएको थियो। उक्त घटनामा ५ जना बेपत्ता छन्। भिरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले कैलालीमा एक महिला र एक पुरुषको शव फेला पारेको छ। शव सोही दुर्घटनाका बेपत्ताहरूको हुन सक्ने आकलन गरिएको छ। कर्णालीमा हराएको बस अहिलेसम्म भेटिएको छैन।
उक्त घटना भएकै समयमा ऊर्जा तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठ जगदुल्ला हाइड्रोपावरका विभिन्न संरचनाको उद्घाटनका लागि कर्णालीको डोल्पा पुगेका थिए।
‘कर्णालीमा १८ गते गाडी कर्णाली नदीमा खस्यो। नदीको बीचमा मानिस हार गुहार गरिरहेका थिए। एक जना मान्छे भिरमा अड्किएका थिए। जीवनको भिक मागिरहनुभएको थियो। गुहारले नदीको किनार थर्कियो। डाको लगाउँदालगाउँदै स्वर सुक्यो। स्वरसँगै जीवन समाप्त भयो। गाडी डुब्यो। भिर अड्किएको मान्छेको मृत्यु भयो’, शाहीले भने, ’त्यही बेला आकाशमा हेलिकप्टर देखियो। तर, त्यो उद्धारका लागि थिएन, मन्त्रीको सवारीका लागि थियो। केन्द्रीय मन्त्री हेलिकोप्टरमा कर्णालीको आकाश घुमिरहेका थिए।’
उनले प्रदेश सभामा पनि भाग पुगेन भन्दै सांसदहरू एकआपसमा झगडा गरिरहँदा कर्णालीका नागरिक नदीमा डुबेर जीवन बचाइदिनह हार गुहार मागिरहेको उल्लेख गरे।
ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीमा हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन्।उक्त घटना भएकै समयमा उर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ जगदुल्ला हाइड्रोपावरको विभिन्न संरचनाको उद्घाटनका लागि कर्णालीको डोल्पा पुगेका थिए। राप्रपा सांसद शाहीले प्रकरणसँग जोडेर संसदमा आक्रोश पोखेका हुन्।
‘कर्णालीमा १८ गते गाडी कर्णाली नदीमा खस्यो। नदीको बीचमा मानिसहरू हारगुहार गरिरहेका थिए। एक जना मान्छे भिरमा अड्किएका थिए। जीवनको भिक मागिरहनुभएको थियो। गुहारले नदीको किनार थर्कियो। डाको लगाउँदालगाउँदै स्वर सुक्यो। स्वरसँगै जीवन समाप्त भयो। गाडी डुब्यो। भिर अड्किएको मान्छेको मृत्यु भयो’, शाहीले भने, ’त्यही बेला आकाशमा हेलिकप्टर देखियो। तर, त्यो उद्धारका लागि थिएन, मन्त्रीको सवारीका लागि थियो। केन्द्रीय मन्त्री हेलिकप्टरमा कर्णालीको आकाश घुमिरहेका थिए।’
उनले प्रदेशसभामा पनि भाग पुगेन भन्दै सांसदहरू एकआपसमा झगडा गरिरहँदा कर्णालीका नागरिक नदीमा डुबेर जीवन बचाइदिनह हार गुहार मागिरहेको उल्लेख गरे।
कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग
कर्णालीबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदले कर्णाली राजमार्गमा दैनिकजसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापा, एमालेका यशोदाकुमारी बराल, कांग्रेसका खड्ग शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटालगायतले सरकारको ध्यानाकर्षण गराएका हुन्।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांकेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो। उक्त यात्रुवाहक गाडी हालसम्म भेटिएको छैन।