काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ, फागुन, चैत) राष्ट्रिय लेखा अनुमानअनुसार नेपालको अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले विस्तार भएको छ। यो प्रारम्भिक अनुमान हो र भविष्यमा परिमार्जन हुन सक्छ।
विस्तार भए पनि गति सामान्य
कार्यालयका अनुसार यो वृद्धि मुख्यतः विद्युत उत्पादन तथा वितरण, बैंकिङ क्षेत्रको निक्षेप संकलन र ऋण प्रवाह, जीवन बिमा प्रिमियम संकलन र व्यापार सेवाको विस्तारबाट सम्भव भएको हो। १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन (म्यानुफ्याक्चरिङ) बाहेक बाँकी सबैमा धनात्मक वृद्धिदर देखिएको छ।
तथापि निर्माण सामग्री आयात, धान बालीको उत्पादन र केही वस्तुको घरेलु उत्पादनमा आएको गिरावटका कारण यस त्रैमासको वृद्धिदर ूसामान्य अवस्थाूमा सीमित रहेको प्रतिवेदनले औंल्याएको छ।
विद्युत र वित्तले तान्यो, उद्योगले तान्यो पछाडि
वार्षिक आधारमा हेर्दा यस त्रैमासमा सबैभन्दा बढी वृद्धि विद्युत, ग्यास तथा वातानुकूलन आपूर्ति क्षेत्रमा भएको छ, जुन एक्लैले २४.८८ प्रतिशतको वृद्धिदर हासिल गरेको छ। यसपछि वित्तीय तथा बिमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७।८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार ५.२५ प्रतिशतले बढेको देखिन्छ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशतमा सीमित रहेको छ। धान बालीको उत्पादनमा आएको कमीलाई पशुपन्छी, तरकारी बाली, फलफूल र वन पैदावारको उत्पादन वृद्धिले केही हदसम्म धानेको देखिन्छ।
विपरीत दिशामा, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धि देखिएको छ। यी नै यस त्रैमासका एक मात्र दुई संकुचित क्षेत्र हुन्।
त्रैमासिक गतिशील मौसमी प्रभाव समायोजन
अघिल्लो त्रैमासको तुलनामा यस त्रैमासमा (मौसमी प्रभाव समायोजित गरी हेर्दा) समग्र अर्थतन्त्र ०.५८ प्रतिशतले मात्र बढेको देखिन्छ, जुन अघिल्लो त्रैमासको २.४४ प्रतिशत वृद्धिको तुलनामा उल्लेख्य रूपमा सुस्त हो। यस अवधिमा १८ वटा वर्गीकरणमध्ये ११ वटामा मात्र धनात्मक वृद्धि देखिन्छ भने ७ वटामा ऋणात्मक।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्ने कृषि क्षेत्र नै यस त्रैमासमा ०.०४ प्रतिशतले सुस्ताएको (ऋणात्मक) देखिन्छ, जबकि दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्र भने २.०२ प्रतिशतले बढेको छ। आवास तथा भोजन सेवा (–२.३०), वित्तीय तथा बिमा (–१.०७) र औद्योगिक उत्पादन (–०.८३ प्रतिशत) मा त्रैमासिक आधारमै संकुचन देखिन्छ।
पछिल्ला त्रैमाससँगको तुलना
आर्थिक वर्ष २०८२÷८३ को हालसम्मको तथ्यांक हेर्दा पहिलो त्रैमासमा ३।१५ प्रतिशत, दोस्रोमा ४.१३ प्रतिशत र तेस्रोमा ३.५१ प्रतिशत वृद्धिदर रहेको छ, जसको औसत करिब ३.६ प्रतिशत हुन आउँछ। यो गत आर्थिक वर्ष २०८१/८२ को औसत वृद्धिदर (करिब ३.७९ प्रतिशत)भन्दा हल्का न्यून हो, जसले चालू वर्षमा अर्थतन्त्रको विस्तार गति गत वर्षको भन्दा अलिक सुस्ताएको संकेत गर्छ।
विगत पाँच वर्षको त्रैमासिक तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासमा वृद्धिदर सबैभन्दा उच्च (९.१ प्रतिशत) र २०७९÷८० को दोस्रो त्रैमासमा सबैभन्दा न्यून (ऋणात्मक १.० प्रतिशत) रहेको थियो। त्यसपछिका वर्षमा भने उतारचढाव क्रमशः घट्दै गई हाल वृद्धिदर २.५ देखि ५ प्रतिशतको साँघुरो दायराभित्र सीमित हुने गरेको देखिन्छ।
विश्लेषण के देखाउँछ?
यस त्रैमासको तथ्यांकले नेपालको अर्थतन्त्रको संरचनागत विशेषता र सीमितता दुवै छर्लङ्ग पार्छ
वित्तीय र सेवा क्षेत्रको भरः वृद्धि मुख्यतः विद्युत, वित्तीय (बिमा र व्यापारजस्ता सेवामूलक तथा पूर्वाधारजन्य क्षेत्रबाट आएको छ, जबकि प्रत्यक्ष उत्पादनसँग जोडिएको औद्योगिक (म्यानुफ्याक्चरिङ) क्षेत्र ऋणात्मक रहनु चिन्ताजनक हो। यसले मुलुकको औद्योगिकीकरणको गति कमजोर रहेको र आयातमा निर्भरता जारी रहेको संकेत गर्छ।
कृषिको जोखिमः अर्थतन्त्रको सबैभन्दा ठूलो आधार मानिने कृषि क्षेत्र त्रैमासिक आधारमा नै संकुचनमा गएको देखिनु मौसम निर्भर उत्पादन प्रणालीको जोखिमलाई पुनः उजागर गर्छ।
सार्वजनिक प्रशासनको संकुचनः सरकारी प्रशासनतर्फको गतिविधि घट्नुले खर्च परिचालन वा जनशक्ति उपयोगमा सुस्तता आएको संकेत गर्न सक्छ, जुन पुँजीगत खर्चको कमजोर कार्यान्वयनको व्यापक समस्यासँग पनि जोडिन सक्छ।
गतिको स्थिरीकरणः वार्षिक वृद्धिदर लगातार दोस्रो वर्ष ३ देखि ४ प्रतिशतको दायरामा सीमित रहनुले अर्थतन्त्र ठूलो झट्काबाट जोगिए पनि, विस्तारको गति महत्वाकांक्षी लक्ष्य जस्तै, आगामी बजेटले लक्षित ७ प्रतिशत वृद्धिदरभन्दा निकै तल रहेको स्पष्ट हुन्छ।
समग्रमा, यो प्रारम्भिक तथ्यांकले अर्थतन्त्र स्थिर तर सुस्त गतिमा अगाडि बढिरहेको र उत्पादनमूलक क्षेत्र (कृषि र उद्योग) मा थप संरचनागत सुधार नभएसम्म वृद्धिदर उल्लेख्य रूपमा माथि उक्लिन कठिन देखिने चित्र पुनः पुष्टि गर्छ।