झापा। सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जंगली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन्।
आइतबार राति झापा पुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका ११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका हुन्।
भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए।
सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्कर नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचविखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ।
गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका ४ स्थित बाँहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए। सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका ६ सन्तपुर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका अनिकेत चौलागाईंसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरे।
गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका ७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोष्टको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिए।