काठमाडौँ। इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो।
खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो। खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो। खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्याए।
त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे। त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०ं३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।
यस्तै कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे। त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बाहिरियो।
प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो। यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ।