काठमाडौँ। होर्मुज जलडमरूमध्यमा तीन वटा व्यावसायिक जलयानमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय सैन्य कमान्डले मंगलबार राति विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जलयानलाई लक्षित गरी गरिएका आक्रमणको जवाफस्वरूप कारबाही सुरु गरिएको जनाएको हो।
अमेरिकी सैन्य कमान्डका अनुसार उक्त कारबाहीको उद्देश्य व्यावसायिक जलयातायातमाथि आक्रमण गर्ने पक्षलाई त्यसको गम्भीर परिणामको अनुभूति गराउनु हो। विज्ञप्तिमा इरानको गतिविधिलाई अनावश्यक, खतरनाक तथा युद्धविरामको उल्लङ्घनसमेत भनिएको छ।
यता, इरानले अमेरिकी आक्रमणलाई दुई देशबीच गत महिना भएको समझदारीको उल्लङ्घन भएको बताएको छ। इरानका उपविदेशमन्त्रीले अमेरिकाको कदम अस्वीकार्य रहेको भन्दै तेहरानले आवश्यक र निर्णायक प्रतिकारात्मक उपाय अपनाउने चेतावनी दिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा आक्रमण भएको छ। विस्फोटका कारण उडेका छर्राहरू लागेर केही व्यक्ति घाइते भएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन।
यस घटनाअघि अमेरिकाले होर्मुज जलडमरूमध्यमा भएका आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै त्यसका लागि जिम्मेवार पक्षले परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।
सैन्य कारबाही हुनुअघि अमेरिकाको अर्थ मन्त्रालयले इरानमाथिका तेलसम्बन्धी केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्न दिइएको अनुमति पनि रद्द गरेको थियो। उक्त व्यवस्थाअन्तर्गत इरानलाई कच्चा तेल तथा इन्धनजन्य पदार्थ बिक्री गर्न दिइएको थियो, जुन अमेरिका–इरान समझदारीको एक हिस्सा मानिएको थियो।
इरानको विदेश मन्त्रालयले उक्त निर्णयलाई पनि समझदारीविपरीत भएको बताएको छ। मन्त्रालयले यस कदमले अमेरिकी सरकारको अस्थिर नीति र अविश्वसनीयता उजागर गरेको दाबी गर्दै राष्ट्रिय हित र सुरक्षाको संरक्षणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने जनाएको छ।
यसैबीच, अमेरिकी पक्षले तनाव बढे पनि इरानसँगको कूटनीतिक संवाद पूर्ण रूपमा बन्द नभएको संकेत दिएको छ। अमेरिकी प्रशासनका एक अधिकारीले अन्तिम सहमतितर्फ वार्ता जारी रहने बताएका छन्।
होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ। यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व व्यापारमा थप असर पार्न सक्ने विश्लेषण गरिएको छ।