काठमाडौं। प्रधानमन्त्री बनेपछि पहिलो पटक एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्ला एक्लै (वान-टु-वान) भेटवार्ता गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले त्यसको भोलिपल्ट निजी क्षेत्रसँग संवाद गरे।
बुधबार प्रधानमन्त्री निवासमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरूसँग भएको छलफललाई सरकारले निजी क्षेत्रसँगको सम्बन्ध सुधार्ने प्रयासका रूपमा हेरिएको छ।
सरकार गठन भएयता पहिलो पटक तीनवटै प्रमुख निजी क्षेत्रका छाता संगठनका नेतृत्वसँग भएको यो भेटलाई सरकार र निजी क्षेत्रबीच बढेको दूरी घटाउने संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ।
सरकार गठनसँगै विभिन्न उद्योगी व्यवसायीमाथि भएका पक्राउ तथा अनुसन्धानका घटनाले निजी क्षेत्र त्रसित बनेको थियो। लामो समयपछि बलियो बहुमतको सरकार बनेपछि लगानी विस्तारको अपेक्षामा रहेको निजी क्षेत्र निरन्तरको धरपकडका कारण नयाँ लगानी र उद्योग विस्तारमा ‘पर्ख र हेर’को अवस्थामा पुगेको थियो।
बुधबारको भेटपछि भने सरकार निजी क्षेत्रसँग सहकार्यको पक्षमा अघि बढ्न खोजेको सन्देश गएको भन्दै उद्योगी व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। सरकार गठन भएको १०० दिन बितिसक्दा पनि निजी क्षेत्रले सरकारको उपस्थिति महसुस गर्न नसकेको, बरु असुरक्षा र त्रास बढेको गुनासो सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश दिएका छन्।
त्यसपछि प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल सुरु गरेको स्रोतले जनाएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा उद्योगी विदुषी राणाले प्रधानमन्त्री शाहसँग भेट गरी निजी क्षेत्रमा देखिएको निराशा अन्त्य गर्न संवाद आवश्यक रहेको र लगानीमैत्री वातावरण अवरोध बनेका कानुन संशोधन गर्नुपर्ने सुझाव दिएकी थिइन्। त्यसपछि प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल सुरु गरेको स्रोतले जनाएको छ।
सांसद राणाका अनुसार 'मुलुकभित्र धेरैभन्दा धेरै उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकता हो। निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रधानमन्त्रीको कुनै उद्देश्य थिएन। पहिलो १०० दिन सरकार व्यवस्थापनमै केन्द्रित भयो, अब परिणाम दिने गरी काम गर्ने चरण सुरु भएको छ। त्यसैले प्रधानमन्त्रीले सबै क्षेत्रसँग क्रमिक रूपमा संवाद बढाउँदै जानु हुनेछ।'
राष्ट्र बैंक र बैंकरसँग छलफल
मंगलबार मौद्रिक नीति सार्वजनिक भएपछि त्यसको प्रभावकारी कार्यान्वयन, बैंकिङ क्षेत्रमा देखिएका चुनौती तथा लगानी विस्तारका उपायबारे प्रधानमन्त्री कार्यालयले बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको छ।
सरकारले निजी क्षेत्रबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायलाई आवश्यक निर्देशन दिने तयारीसमेत गरेको जनाएको छ।
छलफलमा राष्ट्र बैंकले गर्नुपर्ने नीतिगत सहजीकरण, बैंकिङ प्रणालीमा सुधार तथा लगानी बढाउन सरकार र राष्ट्र बैंकले खेल्नुपर्ने भूमिकाबारे सुझाव संकलन गरिने छ। सम्भव भएसम्म प्रधानमन्त्री शाह स्वयं सहभागी हुने र अन्यथा प्रधानमन्त्री कार्यालयको उच्चस्तरीय टोली सहभागी हुने तयारी गरिएको छ।
नाइमा, नाडा, हानलगायतसँग पनि संवाद
प्रधानमन्त्री शाहले निजी क्षेत्रको आत्मविश्वास बढाउने, लगानी विस्तार गर्ने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित विभिन्न व्यवसायिक संघसंस्थासँग पनि चरणबद्ध रुपमा छलफल गर्ने कार्यक्रम बनाएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), नेपाल पर्वतारोहण संघलगायत विभिन्न व्यवसायिक संस्थाका पदाधिकारीसँग निकट भविष्यमै बैठक हुनेछ।
सरकारले निजी क्षेत्रबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायलाई आवश्यक निर्देशन दिने तयारीसमेत गरेको जनाएको छ।