काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनाको अनुपातमा जेठ महिनामा २० हजार ८४३ जना इन्टरनेट प्रयोगकर्ता बढेको पाइएको हो। सो संख्या बढेर अहिले इन्टरनेटको प्रयोगकर्ताको संख्या २१ हजारले थपिएको छ।
प्राधिकरणका अनुसार जेठ समान्तसम्ममा इन्टरनेट ग्राहक संख्या ३५ लाख ८ हजार ८१५ पुगेको छ। सो संख्या यो वर्षको सुरुको महिनामा ३४ लाख ८७ हजार ९७२ थियो। प्राधिकरणका अनुसार पछिल्लो महिनामा वर्ल्डलिंक सबैभन्दा शीर्ष स्थानमा रहेको छ। जसको कारोबार एक महिनामा २ हजार ८५७ ग्राहक वृद्धि भएको तथ्यांक छ।
निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्पनीको ग्राहक संख्या १० लाख ८१ हजार ५६६ पुगेको छ। कम्पनीको बजार हिस्सा ३० दशमलव ८२ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यता, सरकारी स्वामित्वमा सञ्चालन हुँदै आएको नेपाल टेलिकम भने दोस्रो स्थानमा रहेको छ। टेलिकमको ग्राहक संख्या ३ लाख ८४ हजार ९५४ पुगेको प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ। जसमा टेलिकमको बजार हिस्सा १० दशमलव ९७ प्रतिशत रहेको छ।
तथ्यांकअनुसार तेस्रो स्थानमा डिस मिडिया नेटवर्कसँग ३ लाख ७१ हजार २५३ ग्राहक रहेका छन्। जसको बजार हिस्सा १० दशमलव ५८ प्रतिशत रहेको छ। प्राधिकरणका अनुसार भायोनेटको ३ लाख ६९ हजार ७१४ जना, क्लासिक टेकसँग २ लाख ८९ हजार ७९८ जना, सुबिसु केबल नेटसँग २ लाख ६६ हजार ८४९, वेबसर्फर नेपाल कम्युनिकेसनसँग १ लाख ७३ हजार ६९६, टेकमाइन्ड्स नेटवर्क प्रालिसँग १ लाख १३ हजार २६९ जना र वाइफाइ नेपालसँग १ लाख १४ हजार ३५९ जना ग्राहक रहेको प्राधिकरणको तथ्यांक रहेको छ।
त्यस्तै सीजीका इन्टरनेट ग्राहक ९१ हजार ४९४ जना ग्राहक र ब्रोडलिंक नेटवर्कका ग्राहक ५४ हजार ७६२ जना ग्राहक पुगेका छन्। ग्राहक सजिलो नेटका ४३ हजार ८२७ जना ग्राहक, फाइबरवल्र्ड कम्युनिकेसनका ३९ हजार ७५०, कनेक्ट नेपाल नेटवक्र्सका २१ हजार ३०२, एरोनेट प्रालिका १४ हजार २७१ र एभरेष्ट वायरलेसका १४ हजार ४५० जना ग्राहक रहेको प्राधिकरणले उल्लेख गरेको छ।