काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले नेपाल भ्रमणका क्रममा सरकारी उच्च तहसँगको औपचारिक भेटवार्तापछि निजी क्षेत्रका प्रमुख व्यवसायीहरूसँग गहन छलफल गरेका छन्। नेपालको आर्थिक वृद्धिलाई सघाउन कुन-कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने हो, निजी लगानीलाई कुन-कुन तत्वले रोकिरहेको छ भन्ने विषयमा उनले व्यवसायीहरूबाट राय-सुझाव संकलन गरेका हुन्।
सोमबार नेपाल आइपुगेका अध्यक्ष कान्डाले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका थिए। सोही भेटपछि तत्काल सामाजिक सञ्जाल 'एक्स' मार्फत उनले नेपाललाई थप दुई अर्ब ४० करोड अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरे। मंगलबारकै विनिमय दर (प्रतिडलर रु. १५२.९४) अनुसार यो रकम नेपाली मुद्रामा करिब तीन खर्ब ६७ अर्ब ५ करोड ६० लाख बराबर हुन आउँछ।
प्रधानमन्त्री र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटपछि अध्यक्ष कान्डाले निजी क्षेत्रका प्रतिनिधिहरूसँग समेत छलफल गरे। उनीसँग इन्टरनेट सेवा प्रदायक वर्डलिंक कम्युनिकेसन प्रालिका अध्यक्ष दिलीप अग्रवाल, वुद्द एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाह, हाेटल व्यवसायीकाे भेट भएकाे थियाे।
यस भेटमा निजी लगानीका मुख्य अवरोध, रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई गति दिने सम्भावनाहरूबारे प्रत्यक्ष कुराकानी हाे। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकका अध्यक्ष दिलीप अग्रवालका अनुसार, नेपाललाई डेटा सेन्टर हबका रूपमा विकास गर्न विकास साझेदारहरू अग्रसर हुनुपर्ने सुझाव निजी क्षेत्रबाट आएको थियो। सरकार, निजी क्षेत्र र विकास साझेदार एकसाथ अगाडि बढ्नुपर्ने अध्यक्ष कान्डाको भनाइ रहेको समेत अग्रवालले बताए।
छलफलका क्रममा पर्यटन, कृषि, सूचना प्रविधि, हवाई उद्योग, अटो र वित्तीय क्षेत्रलाई थप सशक्त बनाउन नीतिगत तवरबाटै सहजीकरण गर्ने र आवश्यक नीति निर्माणमा सरकारलाई सघाउने प्रतिबद्धता समेत अध्यक्ष कान्डाले जनाए। साथै, नेपालको कर प्रणाली र प्रक्रियागत झन्झटका विषयमा पनि उनले निजी क्षेत्रसँग जानकारी लिए र आर्थिक गतिलाई अवरोध गर्ने नीतिहरू संशोधन तथा अनावश्यक नीतिहरू खारेज गर्न आफूले पनि सरकारसमक्ष पहल गर्ने बताए।
अध्यक्ष कान्डाले नेपालमा निजी लगानी विस्तारका लागि नीतिगत पूर्वानुमान, स्थिर नियामक व्यवस्था, वित्तीय पहुँच र लगानीयोग्य परियोजनाको बलियो पाइपलाइन अपरिहार्य रहेको औंल्याएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अध्यक्ष तथा बैद्य अर्गनाइजेशनका कार्यकारी निर्देशक ऋतु सिंह बैद्यका अनुसार, एडीबीले दिने ऋण र सहयोगले सरकारलाई मात्र होइन, निजी क्षेत्रलाई पनि सहज बनाउने चाहना अध्यक्षको रहेको बताइन्। "त्यही अनुसार निजी क्षेत्रका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटेर छलफल र सुझाव लिनुभएको हो," उनले भनिन्।
कृषिको सम्भावना र किसानलाई आत्मनिर्भर बनाउने उपायबारे समेत अध्यक्ष कान्डाले चासो देखाएका छन्। यस सिलसिलामा उनले बुद्ध एयरका अध्यक्ष एवं आरजु राइस मिल्सका सञ्चालक बस्नेतसँग जिज्ञासा राखेका थिए। बस्नेतले विराटनगरपछि मधेश प्रदेशमा किसानसँग मिलेर धान खेती गर्ने र मिल सञ्चालन गर्ने योजना अनुसार तयारी थालिरहेका छन्।
सरकारले समेत बस्नेतको धान खेती मोडलमा चासो राख्दै यसलाई अन्य ठाउँमा विस्तार गर्ने सम्भावनाबारे छलफल अगाडि बढाइरहेको छ। छलफलका क्रममा धान खेतीमा समयमै मल नपाउनु प्रमुख समस्या रहेको र यस समाधानका लागि रासायनिक मल उद्योग सञ्चालनको विषयमा समेत कुराकानी भएको जनाइएको छ।