काठमाडौं। विश्वप्रसिद्ध सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले ४,८०० कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीका कुल कर्मचारीको करिब २.१ प्रतिशत हो।
जागिर कटौतीको सबैभन्दा ठूलो असर कम्पनीको एक्सबक्स विभागमा पर्ने भएको छ। माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको सन्देशमा तीव्र रूपमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योगमा कम्पनीले ग्राहकलाई बढी लाभ पुग्ने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।
पुनर्संरचना योजनाअन्तर्गत एक्सबक्स विभागमा तत्काल १,६०० भन्दा बढी जागिर समाप्त हुनेछन्। हालै एक्सबक्सको प्रमुख कार्यकारी अधिकृत बनेकी आशा शर्माले कर्मचारीहरूलाई पठाएको सन्देशमा कम्पनीले एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचनाको सुरुआत गरिरहेको उल्लेख गरेकी छन्। उनका अनुसार आगामी एक वर्षभित्र थप १,६०० जागिर पनि समाप्त गरिनेछ।
यसका साथै एक्सबक्सअन्तर्गत रहेका चार खेल विकास स्टुडियो—कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन्स, निन्जा थ्योरी र अनडेड ल्याब्स—लाई पनि पुनर्संरचना योजनाअन्तर्गत अलग गरिने भएको छ। आशा शर्माले यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउन नभई अझ ठूलो भविष्यका लागि गरिएको बताएकी छन्।
उनले भनिन्, “इतिहासमा यस्ता धेरै उदाहरण छन्, जहाँ कम्पनीहरूले लामो समयसम्म टिकिरहनुलाई नै आफ्नो भविष्यको सुनिश्चितता ठानेका छन्। हामी त्यस्तो गल्ती गर्ने छैनौँ।”