काठमाडौँ। बंगलादेश सरकारले स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई आफ्नो भू-भाग हुँदै छिमेकी राष्ट्रहरूमा अनफिल्टर्ड (अनियन्त्रित) इन्टरनेट ब्यान्डविथ निर्यात गर्ने अनुमति प्रदान गरेको छ। बंगलादेशको इतिहासमा कुनै पनि स्याटेलाइट इन्टरनेट कम्पनीलाई यस प्रकारको अनुमति दिइएको यो पहिलो दृष्टान्त हो।
यस निर्णयले बंगलादेशलाई क्षेत्रीय इन्टरनेट सम्पर्क केन्द्रका रूपमा स्थापित गर्नुका साथै त्यहाँका स्थानीय दूरसञ्चार पूर्वाधार कम्पनीहरूलाई विदेशी मुद्रा आर्जन गर्ने नवीन मार्ग खोल्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। सम्बन्धित मन्त्रालयको स्वीकृतिपश्चात् बंगलादेश दूरसञ्चार नियामक आयोगले स्टारलिंकलाई उक्त अनुमति प्रदान गरेको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन्।
त्यहाँको डेली स्टार पत्रिकाका अनुसार सरकारी स्वामित्वको बंगलादेश सबमरिन केबल कम्पनी लिमिटेड नै प्रमुख ब्यान्डविथ आपूर्तिकर्ता हुनेछ। सरकारी कम्पनीले माग धान्न नसकेको अवस्थामा स्टारलिंकले सामिट कम्युनिकेसन्स र फाइबर होमजस्ता निजी कम्पनीहरूबाट समेत ब्यान्डविथ प्राप्त गर्न सक्ने छ।
बंगलादेशी पत्रिका द डेली स्टारका अनुसार बिटिआरसीका अध्यक्ष मोहम्मद इमदाद अल बारीले यो अनफिल्टर्ड इन्टरनेट ब्यान्डविथ बंगलादेशको भू-भागभित्र आपूर्ति नहुने र यो केवल अन्य छिमेकी मुलुकहरूमा मात्र प्रवाहित हुने प्रस्ट पारेका छन्। अर्का प्रविधि विशेषज्ञ सुमन अहमद साबिरका अनुसार हालको यो प्रयासले बंगलादेशका लागि उल्लेखनीय लाभ पुर्याउने छ।
साबिरका भनाइमा नेपाल र भुटानजस्ता भूपरिवेष्ठित छिमेकी राष्ट्रहरूलाई भरपर्दो एवं उच्च गुणस्तरीय इन्टरनेट सेवाका लागि अनफिल्टर्ड सम्पर्कसुविधा अपरिहार्य रहेको छ। स्टारलिंकले सन् २०२५ अप्रिल २९ मा बंगलादेशमा सेवा सञ्चालनको अनुमति प्राप्त गरेको थियो र सोही वर्ष अगस्ट ८ देखि आधिकारिक रूपमा कार्य आरम्भ गरिसकेको छ। सुरक्षा र नियमनलाई ध्यानमा राख्दै बंगलादेश सरकारले स्टारलिंकलाई स्थानीय प्रयोगकर्ता र अन्तर्राष्ट्रिय ग्राहकहरूको डाटा ट्राफिकलाई पूर्णतः पृथक राख्ने निर्देशन दिएको छ। जुन प्राविधिक व्यवस्था पालना गर्ने प्रतिबद्धता स्टारलिंकले द डेली स्टारसमक्ष व्यक्त गरेको उल्लेख छ।
साथै, उक्त पत्रिकाका अनुसार सन् २०२० देखि २०२५ सम्म बिएससिसिएलले विभिन्न सम्झौताअन्तर्गत भारतलाई बीस वटासम्म अनफिल्टर्ड आईपी ट्रान्जिट सेवा आपूर्ति गरिसकेको थियो, जसले बंगलादेशमा अनफिल्टर्ड ब्यान्डविथ निर्यातको अभ्यास पूर्णतः नौलो नभएको संकेत गर्दछ।
अनफिल्टर्ड इन्टरनेट भनेको के हो?
सामान्य भाषामा भन्नुपर्दा, अनफिल्टर्ड इन्टरनेट भनेको कुनै पनि प्रकारको प्रतिबन्ध, सेन्सरसिप वा सरकारी निगरानीविहीन खुला इन्टरनेट हो। बंगलादेशले मुख्यतः दुई सामुद्रिक केबल र भारतसँग जोडिएका सात अन्तर्राष्ट्रिय स्थलमार्ग केबल अपरेटरमार्फत इन्टरनेट ब्यान्डविथ आयात गर्दै आएको छ।
यसरी आयातित ब्यान्डविथ इन्टरनेट सेवा प्रदायक र मोबाइल कम्पनीसम्म पुग्नुअघि सरकारी निगरानी प्रणालीद्वारा फिल्टर गरिन्छ। तर अनफिल्टर्ड ब्यान्डविथ भने सरकार वा अपरेटरले प्रयोग गर्ने फायरवाल, डीप प्याकेट इन्स्पेक्सन र एप्लिकेसन ब्लकिङजस्ता नियन्त्रण प्रणालीबाट नगुज्री सिधै अन्तर्राष्ट्रिय नेटवर्कमा प्रवाहित हुन्छ।
अधिकांश मुलुकका सरकार वा इन्टरनेट सेवा प्रदायकहरूले सुरक्षा, राजनीतिक वा सामाजिक कारणले इन्टरनेटमा निगरानी कायम राखिरहेका छन् र विभिन्न सफ्टवेयर तथा प्रविधिको प्रयोगद्वारा निश्चित वेबसाइट, सामाजिक सञ्जाल वा एप्लिकेसनहरू अवरुद्ध गर्ने गर्छन्।
बंगलादेशभित्र सर्वसाधारणले प्रयोग गर्ने इन्टरनेट पनि यसैगरी फिल्टर वा निगरानीयुक्त रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। यसको विपरीत, अनफिल्टर्ड इन्टरनेटमा यस्तो कुनै अवरोध वा निगरानी नरहने र डाटा ट्राफिक प्रत्यक्ष एवं यथावत् रूपमा प्रवाहित हुने गर्छ।
अनफिल्टर्ड इन्टरनेट किन आवश्यक छ?
विशेषतः अन्तर्राष्ट्रिय स्तरमा एक देशबाट अर्को देशमा इन्टरनेट ब्यान्डविथ ओसार्दा अनफिल्टर्ड इन्टरनेटलाई अपरिहार्य मानिन्छ। बंगलादेशका मित्रराष्ट्र नेपाल वा भुटानजस्ता छिमेकी मुलुकहरूले बंगलादेशमार्फत आउने इन्टरनेट प्रयोग गर्दा, बंगलादेश सरकारद्वारा फिल्टर वा निगरानी गरिएको इन्टरनेट स्वीकार गर्न चाहँदैनन्।
कुनै पनि राष्ट्रले आफ्नो इन्टरनेट ट्राफिकमा अर्को मुलुकको नियन्त्रण रहोस् भन्ने चाहँदैन। त्यसैले छिमेकी राष्ट्रहरूमा भरपर्दो, सुरक्षित, तीव्र गतिको र उच्च गुणस्तरीय इन्टरनेट पुर्याउनका लागि स्टारलिंकजस्ता कम्पनीहरूले बंगलादेशबाट अनफिल्टर्ड इन्टरनेटको पहुँच प्राप्त गरेका हुन्, जुन बंगलादेशमा कुनै अवरोधबिना प्रत्यक्ष रूपमा नेपाल र भुटानजस्ता मुलुकसम्म पुग्नेछ।
अनफिल्टर्ड इन्टरनेटले नेपालमा पार्ने प्रभाव
स्टारलिंकले बंगलादेशमार्फत ल्याउने यो अनफिल्टर्ड इन्टरनेटले नेपालको डिजिटल परिवेशमा सकारात्मक र दूरगामी प्रभाव पार्ने कडीका रूपमा काम गर्नेछ। भौगोलिक बनावटका कारण भूपरिवेष्ठित रहेको नेपालले हाल मुख्यतः भारतमार्फत मात्र अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ प्राप्त गर्दै आएको छ। बंगलादेशमार्फत उपलब्ध हुने यो नयाँ विकल्पले नेपालको भारतमाथिको एकल निर्भरतालाई न्यूनीकरण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।
साथै, यो इन्टरनेट कुनै तेस्रो मुलुकबाट निगरानी वा सेन्सर नगरिएकाले नेपाली उपभोक्ता र व्यवसायीहरूले कुनै हस्तक्षेपबिना प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय डेटा हबसँग जोडिने अवसर पाउने छन्। यसले नेपालभित्र इन्टरनेटको गति, विश्वसनीयता र गुणस्तरमा उल्लेख्य सुधार ल्याउने तथा शुल्कमा समेत कमी आउने यस क्षेत्रका जानकारहरूको भनाइ छ।
त्यसैगरी उच्च गतिको निर्बाध इन्टरनेटका कारण नेपालका दुर्गम क्षेत्रहरूमा समेत डिजिटल पहुँच विस्तार हुनेछ, जसले शिक्षा, स्वास्थ्य, सूचना प्रविधि क्षेत्र र समग्र डिजिटल अर्थतन्त्रको विकासलाई सघाउ पुर्याउने निश्चित छ।