काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानले समयमै रासायनिक मल पाऊन् भन्ने उद्देश्यका साथ मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताएकी छन्।
मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको जानकारी दिए।
‘मलको कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको चलखेल रोक्न छड्के अनुगमन तथा ‘स्टिङ’ अपरेसनको अघि बढाएका छौँ,’ उनले भने, ‘किसानका गुनासा तत्काल सुन्ने, सम्बन्धित निकायलाई निर्देशन दिने र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौँ।’
आर्थिक वर्ष २०८२/८३ मा चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६.४५ मेट्रिकटन तथा साल्टट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८.१० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरिएको मन्त्री चौधरीले जानकारी दिइन्।
साथै, दुवै कम्पनीबाट गत चैतयता तीन लाख ५० हजार मेट्रिकटन (जिटुजीको ५० हजार मेट्रिकटनसमेत) बोलपत्र आह्वान गरिएको छ। आगामी साउन महिनाभित्र थप दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात गरी किसानलाई थप वितरण गर्ने प्रकिया अगाडि बढाइएको उनले बताइन्।