काठमाडौं। विश्वकप फुटबलको क्रेज संसारभर फैलिरहेको छ। फुटबल भनेपछि हुरुक्कै हुने देश र प्रशंसक बढिरहेकै छन्।
यस्तो बेला फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्याउनेबारे सन् २०२६ को विश्वकपपछि छलफल हुने बताएका छन्।
स्वीस सञ्चार माध्यमसँगको कुराकानीमा इन्फान्टिनोले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्रै नभई विश्वकै निम्ति भएकाले सबै देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्ने धारणा व्यक्त गरे।
‘विश्वकप सबैका लागि हुनुपर्छ । साना देशलाई पनि अवसर दिनुपर्छ। अवसर नपाए उनीहरूमा अझ राम्रो बन्ने प्रेरणा कम हुन्छ,’ उनले भने।
इन्फान्टिनोले ४८ टोली सहभागी भएको विश्वकप सफल भएको दाबी गर्दै विशेषगरी अफ्रिकी टोलीको प्रदर्शनले प्रतियोगिता विस्तारको औचित्य पुष्टि गरेको उनको भनाइ छ।
फिफाले सन् २०१७ मा विश्वकपलाई ३२ टोलीबाट ४८ टोलीमा विस्तार गरेको थियो। त्यसपछि ४८ टोली सम्मिलित विश्वकप सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा चलिरहेको छ।
दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले सन् २०२५ मै २०३० को विश्वकप ६४ टोलीको बनाउन औपचारिक प्रस्ताव राखेको थियो। तर त्यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन।
यद्यपि युरोपेली फुटबल महासंघ (यूईएफए) र एसियाली फुटबल महासंघ (एएफसी) टोली विस्तारमा असहमत छन्।
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिताको शताब्दी वर्षका अवसरमा उद्घाटनका तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा हुनेछन्। यदि विश्वकप ६४ टोलीको बने फिफामा आबद्ध २११ सदस्य राष्ट्रमध्ये झन्डै एक तिहाइ देशले खेल्ने अवसर पाउनेछन्।