काठमाडौं। अमेरिका, क्यानडा र मेक्सिकोमा केही बेरअघि सम्पन्न फिफा विश्वकप २०२६ मा विश्व फुटबल महासंघ (फिफा)ले मनग्य आम्दानी गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप खेलबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको बताएका हुन्।
उनका अनुसार खेल सुरु हुनुअघि ११ अर्ब डलर अनुमान गरिए पनि आम्दानी ४ अर्ब बढी भएको हो। फिफाका अनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो। दोस्रो बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र बिक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने गरेको छ।
फिफाको आम्दानी बढेसँगै विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्नेछन्। आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि अध्यक्ष जियानीले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ।
विश्वकपबाट भएको आर्थिक सफलताले भविष्यमा अमेरिकाले फेरि विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको छ। सन् २०३८ को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र खुल्ने तयारी छ।
तीन महादेश र ६ वटा फरक देशमा हुनेछ सन् २०३० को विश्वकप
अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न सन् २०२६ विश्वकप सम्पन्न भएको छ। आगामी सन् २०३० का तीन महादेशका ६ वटा फरक–फरक देशमा आयोजना हुनेछ। विश्वकपको १००औं वार्षिकोत्सवलाई भव्य बनाउन फिफाले यस्तो ढाँचा तयार पारेको हो।
प्रतियोगिताको मुख्य आयोजक स्पेन, पोर्चुगल र मोरक्को हुन्, जहाँ प्रतियोगिताका अधिकांश खेलहरू सञ्चालन हुनेछन्। तर, विश्वकपको शतवार्षिकी मनाउन उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा एक–एक वटा उद्घाटन खेलहरू हुनेछन्। फिफाको प्रस्तावित तालिकाअनुसार जुन ८ र ९, २०३० मा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा शतवार्षिकी खेल हुनेछन् भने जुन १३ र १४ मा स्पेन, पोर्चुगल र मोरक्कोमा औपचारिक उद्घाटन र खेलहरू सुरु हुनेछन्। प्रतियोगिताको फाइनल जुलाई २१ मा सम्पन्न हुने अपेक्षा गरिएको छ।
हालको योजनाअनुसार २०३० को विश्वकपमा ४८ वटा टोलीको सहभागिता रहने निश्चित छ। यद्यपि, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सहभागी राष्ट्रको संख्या बढाएर ६४ पुर्याउने विषयमा परीक्षण र छलफल भइरहेको संकेत गरेका छन्।
आयोजकको हैसियतले स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वे स्वतः छनोट भइसकेका छन्। अन्य ४२ स्थानका लागि भने आगामी वर्षमा महादेशीय छनोट प्रतियोगिता सञ्चालन हुनेछन्। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको १०० वर्ष पूरा हुने अवसरमा २०३० को संस्करण विशेष बन्न पुगेको छ। त्यतिबेला १३ टोलीबाट सुरु भएको यो प्रतियोगिता आज विश्वको सबैभन्दा ठूलो खेल महोत्सव बनिसकेको छ।–एजेन्सी