काठमाडौं। उपत्यका छिर्ने मुख्य पश्चिमी नाका नागढुंगाको घुमाउरो उकालो र कठिन मोडहरू केवल भौगोलिक नक्सामा अंकित एउटा नाम मात्र थिएनन्। दशकौँदेखि राजधानी काठमाडौं उपत्यकासँग देशका अन्य भूभागसँग जोड्ने तर सधैँ अवरुद्ध रहने कठिन जीवनरेखाको काम गर्दै आएका थिए। दैनिक घण्टौँसम्म ट्राफिक जाम, दुर्घटना, इन्धनको अत्यधिक फजुल खर्च र वर्षायाममा पहिरोको जोखिमले सबै नेपाली यात्राको साझा नियति बनिसकेका थिए। तर आजबाट नागढुंगाको यो कठिन सास्ती इतिहासमा मात्र सीमित हुनेछ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालको पूर्वाधार विकासको इतिहासमा नयाँ अध्याय थपिएको छ। २ दशमलव ६८ किलोमिटर लामो यो देशकै पहिलो आधुनिक यातायात सुरुङमार्गले सामाजिक र आर्थिक दुवै दृष्टिकोणबाट नेपालको रूपान्तरणमा कोसेढुंगाको भूमिका निर्वाह गर्नेछ। पूर्वाधार निर्माणमा नयाँ मापदण्ड स्थापित गर्दै देशको आर्थिक-सामाजिक गतिशीलतालाई थप तीव्रता दिनेछ।
पहिले नागढुंगाको उकालो पार गर्न सामान्यतया ३० मिनेटदेखि २ घण्टासम्म लाग्ने गर्थ्यो। आजदेखि सुरुङमार्ग हुँदै जम्मा ७ देखि ८ मिनेटमै यात्रा पूरा गर्न सकिनेछ।
सवारीसाधनहरू ढिलो गतिमा उकालो चढ्दा र जाममा अल्झिँदा वार्षिक अर्बौं रुपैयाँ बराबरको पेट्रोल-डिजेल खेर जाने परिपाटीको अन्त्य हुनेछ। जसले देशको व्यापार घाटा घटाउन र वैदेशिक मुद्रा जोगाउन प्रत्यक्ष योगदान पुर्याउने छ। उकालो-ओरालो र खाल्डाखुल्डीले इन्जिन तथा टायरमा पुर्याउने क्षति घट्दा ढुवानी व्यवसायी र यात्रुहरूको सञ्चालन खर्च उल्लेख्य रूपमा कम हुनेछ।
तराई र भारतबाट काठमाडौं उपत्यका भित्रिने खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुहरू समयमै बजारसम्म पुग्ने छन्।धादिङ, नुवाकोट, चितवनजस्ता नजिकका जिल्लाका ताजा तरकारी-फलफूल कम लागतमा राजधानी ल्याउन सकिनेछ। जसको प्रत्यक्ष फाइदा उपभोक्तालाई नै पुग्ने छ।

सडकमा खेर जाने समय घट्नु भनेकै देशको समग्र श्रम उत्पादकत्व बढ्नु हो। दैनिक हजारौं यात्रु र व्यवसायीले सडकमा बिताउने लाखौं घण्टा अब उत्पादनमूलक काममा उपयोग हुँदा यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा समेत सहयोग पुर्याउनेछ।
यस सुरुङमार्गको सामाजिक पक्ष उत्तिकै महत्त्वपूर्ण छ। यसलाई बुझ्न ९ वर्षअघिको एउटा घटनातिर फर्किनुपर्छ। २०७५ साल असोज १८ गते भरतपुर अस्पतालबाट काठमाडौं रिफर गरिएकी चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको नागढुंगाको ट्राफिक जाममा एम्बुलेन्समै मृत्यु भएको थियो।
पृथ्वी राजमार्ग हुँदै आएको एम्बुलेन्स त्रिभुवन राजपथस्थित धुनीबेँसी नगरपालिकाको टायलघर क्षेत्रमा चार घण्टासम्म जाममा अलपत्र पर्दा उनले उपचार पाउनुअघि नै ज्यान गुमाएकी थिइन्। यो घटना कुनै एकल दुर्घटना थिएन, त्यस्तै दुःखद नियति भोग्नु परेका अनगिन्ती बिरामी र परिवारको प्रतिनिधि उदाहरण मात्र थियो।
सुरुङमार्ग निर्माणपछि रजनी चौधरीजस्ता नागरिकले अब जामका कारण अनाहकमा ज्यान गुमाउनुपर्ने छैन। ग्रामीण क्षेत्रबाट काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा लगिने आपत्कालीन र जटिल बिरामीलाई सही समयमा उपचार पुर्याउन र अनावश्यक क्षति रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने पक्का छ।
वर्षायाममा पहिरोका लागि जोखिमपूर्ण मानिने यस क्षेत्रमा अब आधुनिक स्वचालित भेन्टिलेसन प्रणाली, अत्याधुनिक सीसीटीभी क्यामेरा, २४ घण्टे निगरानी केन्द्र र उद्धार कार्यका लागि छुट्टै बनाइएको २.५६ किलोमिटर लामो सुरुङले यात्रुलाई सुरक्षित र आरामदायी यात्राको प्रत्याभूति दिनेछ।

सुरुङमार्गका दुवै प्रवेशद्वार (काठमाडौँतर्फ बलम्बु र धादिङतर्फ सिस्नेखोला) वरपरका बस्तीहरूमा आर्थिक गतिविधि विस्तार भइरहेको छ। यी क्षेत्रमा जग्गाको मूल्य बढ्दै गएको छ। होटेल, रेस्टुरेन्ट र साना व्यवसायहरूको तीव्र विस्तार भइरहेको देखिन्छ।
भूकम्पीय दृष्टिकोणले नेपाल विश्वकै एक उच्च जोखिमयुक्त मुलुक मानिन्छ। विश्वमा ११औँ स्थानमा पर्ने यो मुलुकमा भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको निरन्तर दबाबका कारण ठूला भूकम्पको सम्भावना सधैँ रहिरहन्छ। यस्तो अवस्थामा महाभारत पर्वत शृङ्खलामा सुरुङ खन्नु प्राविधिक हिसाबले अत्यन्त जटिल कार्य मानिन्छ। तैपनि, जापानी प्रविधिको प्रयोगमार्फत यो आयोजना सफलतापूर्वक सम्पन्न भएको छ। जसले नेपाली प्राविधिक क्षमताको दायरा नै फराकिलो बनाएको छ।
आयोजनामा संलग्न सयौँ नेपाली इन्जिनियर र ओभरसियरले आधुनिक सुरुङ निर्माण तथा सञ्चालन प्रविधिमा प्रत्यक्ष-अप्रत्यक्ष सीप र ज्ञान हासिल गर्ने अवसर पाएका छन्। यसले उनीहरूको क्षमता र आत्मविश्वास दुवै अभिवृद्धि गरेको छ। जुन आगामी दिनमा सिद्धबाबा सुरुङमार्ग, टोखा-छहरे सुरुङमार्ग र काठमाडौँ-तराई द्रुतमार्गका सुरुङहरू निर्माणका लागि राज्य र निजी क्षेत्र दुवैको आत्मविश्वास बढाउने आधार बनेको छ।
नागढुंगा सुरुङमार्ग केवल कंक्रिट र छडको संरचना अथवा सडक छोट्याउने माध्यम मात्र होइन। यो भोलिको नेपालको आधुनिक पूर्वाधार विकासको मुहार हो। यसले काठमाडौं उपत्यका र अन्य जिल्लाबीचको दूरी मात्र घटाएको छैन। समग्र देशको अर्थतन्त्रलाई गतिशील बनाउने एउटा महत्त्वपूर्ण कोसेढुंगाको काम पनि गर्नेछ।

काठमाडौं र धादिङलाई जोड्ने उद्देश्यले सुरु गरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आज बिहान ११ बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत, जाइका प्रमुखलगायत विशिष्ट पदाधिकारीहरूको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन भएको छ।
२० अर्ब रुपैयाँ लागतमा निर्माण भएको नेपालकै पहिलो सडक सुरुङ आयोजना शिलान्यासको सात वर्षपछि सञ्चालनमा आएको हो। कोभिड-१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले आयोजना निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन र निर्माण अवधि पटक-पटक लम्बिएपछि आजबाट यो पूर्ण रूपमा सञ्चालनमा आएको छ।
नागढुंगा सुरुङको यात्रा २०७६ कात्तिक ४ गते सुरु भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्दै ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका थिए। तर आयोजनास्थलमा राखिएको नयाँ शिलालेखबाट शिलान्यासकर्ताका रूपमा उनको नाम हटाइएको छ।