काठमाडौं। चालू वर्षको बजेटमार्फत ५० युनिटभन्दा माथि उपभोग गरे बिजुलीमा कर तिर्नुपर्ने व्यवस्था गरिएपछि नेपाल विद्युत् प्राधिकरणले असारबाटै भ्याट लिन थालेको छ।
नागरिक स्तरबाट विरोध भएपछि प्राधिकरणले असार मसान्तसम्मको बिलमा असुलिएको भ्याट साउन १ देखि मात्रै लागू हुने सूचना सार्वजनिक गरेको हो। गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्राधिकरणले जनाएको छ।
आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ।
प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युत्को बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो।
प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै स्पष्ट पारिदिन आग्रह गरेको थियो। आर्थिक ऐन, २०८३ मा विद्युत्मा भ्याट लागू हुने व्यवस्था गरिएको छ।
आन्तरिक राजस्व कार्यालयले सोमबार नै एक सूचनामार्फत असार मसान्तसम्मको विद्युत् उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो।
विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमान्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ।
मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्यको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ। प्राधिकरणले लिने शुल्क विद्युत् सेवाको अंग भएकाले साउन १ पछि हुने खपतमा नियमानुसार भ्याट आकर्षित हने विभागको प्रष्टोक्ति छ।
प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई बिल पठाएको थियो। त्यसरी बिल पठाइएपछि उपभोक्ताले गुनासो गरेका थिए। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले त्यसमा चासो राख्दै समस्या समाधानका लागि पहल गरेका थिए।