काठमाडौं । देशलाई कोरोना महामारीबाट जोगाउन सरकारले सीमानामा कडाई गरे पनि त्यसको प्रत्यक्ष फाइदा खाद्य व्यापारीलाई भएको छ । सरकारले आवातजावातलाई पूर्ण रुपमा बन्द गरेपछि खाद्यान्नको व्यापार र राजस्वमा ४ गुणा वृद्धि भएको व्यापारीहरुले बताएका छन् ।
एक व्यापारीका अनुसार सरकारले सीमानामा कडाइ गरेपछि मासिक १ करोडको व्यापार ४ करोड रुपैयाँ पुगेको छ । व्यापार ४ गुणा बढ्ने बित्तिकै राजस्व पनि ४ गुणा नै वृद्धि भएको ती व्यापारीले बताए ।
‘सरकारले कोरोना संक्रमणलाई फैलिन नदिन सीमामा कडाई गरे पनि त्यसको सकारात्मक असर व्यापारमा देखिएको हो,’ एक उद्योगीले भने, ‘अहिलेको तथ्यांकबाट के कुरा प्रष्ट भयो भने नेपालमा ६० प्रतिशत मालसामान तस्करी भएर आउँदो रहेछ ।’
सरकारले तोरी आयात गर्दा ५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । भारतमा ४ प्रतिशत मात्रै वस्तु तथा सेवा कर (जीएसटी) छ । भारतको तुलनामा नेपालमा १३ प्रतिशत कर बढी छ । कर बढी हुने बित्तिकै यहाँ उत्पादन भएको सामान १३ प्रतिशत महँगो हुने भयो ।
त्यही भएर अधिकांश नेपालीले पारी गएर आफ्ना दैनिक उपभोग्य सामग्री लिएर आउने गरेका थिए । तर, अहिले सीमाना कडाइ गरेपछि उनीहरुले स्वदेशभित्र त्यस्ता सामान किन्न थालेपछि व्यापार र राजस्वमा ४ गुणा वृद्धि भएको उद्योगीको भनाइ छ ।
वीरगन्जदेखि जनकपुर हुँदै विराटनगरसम्म सम्पूर्ण खाद्यवस्तु तस्करी भएर नेपाल भित्रिने गरेको थियो । जब देशमा लकडाउन सुरु भयो, मान्छेहरुको आवातजावात बन्द भयो, त्यो बेला खाद्य उद्योगको व्यापार ४ गुणसम्म वृद्धि भएको थियो ।
मानौं, एउटा उद्योगीले जनकपुरमा मासिक १ करोड रुपैयाँको सामान बेच्थे । १ करोडको सामान बेच्दा सरकारले करिब करिब २० लाख रुपैयाँ राजस्व बुझाउँथे । तर, गत महिनामात्रै त्यो उद्योगले ४ करोड रुपैयाँ बराबरको मालसामान बेचेको छ । ४ करोडको सामान बेच्ने बित्तिकै सरकारले ८० लाख रुपैयाँ राजस्व पाएको ती उद्योगीले बताए ।
तस्करीले सिध्याएछ खाद्यको बजार
लकडाउनपछि देशभित्र कति कारोबार हुन्छ भन्ने यकिन भइसकेको छ । कति सामग्री तस्करी भएर भित्रिन्छ भन्ने पनि सरकारले बुझिसकेको छ । खाद्यान्न मात्रै होइन्, हरेक वस्तुको उत्पादन र बिक्री बढेको छ । यसको अर्थ लकडाउन अघि ६० देखि ७० प्रतिशत सामान तस्करी भएर आउने रहेछ भन्ने कुरा अहिले प्रष्ट भएको उद्योगीको भनाइ छ ।
उद्योगीले बारम्बार कि भारतले जे वस्तुमा जति जीएसटी लगाएको छ, सोही अनुसार नेपालमा पनि लगाउनुपर्यो । होइन भने, सीमानामा कडाई गर्नु पर्यो भनिरहेका छन् । ‘सीमानामा कडाई गर्न सम्भव नै छैन्,’ ती उद्योगीले भने, ‘सरकारले भारतमा जे वस्तुको जति कर छ, यहाँ पनि त्यही हाराहारीमा कर निर्धारण गर्यो भने सरकारको राजस्वमा कुनै असर गर्दैन ।’
२/४ रुपैयाँ महँगो हुँदैमा नेपालीहरु भारतीय बजारमा सामान किन्न जाँदैनन् । नेपालमा उत्पादन हुने तोरीको तेल र भारतमा उत्पादन हुने तेलको मूल्यमै धेरै फरक छ । त्यही भएर सम्पूर्ण नेपालीहरु सीमाना पारी गएर खरिद गरेर ल्याउने गरेको ती उद्योगीले बताए ।
लकडाउनपछि सुध्रिएको खाद्य व्यापार
उद्योगीका अनुसार नेपालमा कति सामग्री तस्करी भएर आएको रहेछ भन्ने कुरा लकडाउनपछि फेला परेको छ । ‘देशभित्र यति धेरै तस्करी भएर खाद्य वस्तु, लत्ता कपडा भित्रिन्छ भन्ने मलाई पनि लागेको थिएन्,’ वीरगन्जका एक उद्योगीले भने, ‘तर, नेपालको मागको झण्डै ६० देखि ७० प्रतिशत वस्तु तस्करी भएर नेपाल आउँदो रहेछ । त्यो कुरा लकडाउन पछि फेला पर्यो । अब सरकारले यसलाई कसरी कन्ट्रोल गर्ने त्यसमा पनि सोच्नुपर्ने बेला आएको छ’
जब लकडाउन भयो, त्यसपछि स्वदेशी कपडाको माग बढ्न थाल्यो, चप्पलको माग ह्वात्तै बढेको छ । खाद्यान्नको माग पनि उकालोतर्फ लागेको छ । देश लकडाउन हुँदा यस्ता वस्तुको माग किन बढ्यो भन्दा सरकारले सीमानाबाट आवातजावात बन्द गरिदियो ।