काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा नसमेटिएका कतिपय विषय र बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई आईतवार दिएको सुझाव प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अहिलेको परिस्थितिलाइ सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने बताए ।
‘राष्ट्र बैंकले चार ओटा कार्यादल बनाएर अध्ययन गरिरहेको छ’ उनले भने, ‘कतिपय बजेटमा नसमेटिएका अथवा बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत समेटेर मौद्रिक नीति ल्याउने छौं ।’
सेजनले मौद्रिक नीतिसँग सरोकार राख्ने निजी क्षेत्र, बैक तथा वित्तीय संस्था, पुँजी बजार, पर्यटन, कृषि, उर्जा, पूर्वाधार, विदेशी लगानी, आयात निर्यात, अटोमोबाइल, रियलस्टेटलगायत क्षेत्रसँग अन्तरक्रिया गरेको थियो । सरोकारावालासँगको छलफल तथा अन्तरक्रियालाई समेत समेटेर सेजनले मौद्रिक नीतिका लागि सुझाव प्रतिवेदन तयार पारेर राष्ट्र दिएको हो ।
सेजन अध्यक्ष भिमप्रसाद गौतमले उक्त सुझाव प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरे । गभर्नर अधिकारीले सेजनले दिएका सुझावलाई आगामी मौद्रिक नीतिमा समेटिने बताए ।