काठमाडौं । सडक डिभिजन मीनभवनले पप्पु कन्स्ट्रक्सनलाई टेकु पुल निर्माण गर्दा गलत ढङ्गमा निर्माण भएका भौतिक संरचना भत्काई ७ दिनभित्र मापदण्डअनुसार निर्माण गर्न निर्देशन दिएको छ ।
जेआईईसी/पप्पु जेभीद्वारा निर्माणाधीन टेकुस्थित विष्णुमती पुलमा इन्जिनियरको निर्देशन र ठेक्का स्पेसिफिकेसनको अन्यथा हुने गरी पुलको सुपर स्ट्रक्चर निर्माण गरिएको भन्दै त्यसलाई सात दिनभित्र सुधार्न निर्देशन दिएको छ ।
डिभिजन कार्यालयले पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेर मापदण्ड विपरीत काम गरेपछि तोकेको मापदण्डअनुसार निर्माण कार्य नगरे ठेक्का तोडेर नियमानुसार कारबाही हुने कार्यालयले बताएको छ । करिब ६२ मिटर लामो पुल तत्कालीन दिगो सहरी यातायातको आयोजनाबाट निर्माण गरिएको हो ।
तत्कालीन आयोजना प्रमुख अनन्त आचार्यका अनुसार यो पुलको फाउन्डेसनमा समस्या नभएर सुपर स्ट्रक्चरमा समस्या छ । पुलमा प्रयोग गरिएका डण्डी र तार मापदण्डभन्दा साना र गुणस्तरहीन कमसल छन् । मापदण्ड विपरीत भयो भनी तत्काल रोक्न लिखित निर्देशन दिइएको थियो ।
पप्पुले रातारात इन्जिनियर (प्राविधिक)बिना नै ढलान कार्य गरेको थियो । त्यसपछि पुल निर्माण आयोजनाले महानगरीय प्रहरीलाई पत्राचार गरी पुल सञ्चालनमा रोक लगाउन भनिएको थियो । प्रहरीले मध्यरातिबाट पुल बीचमा तार जालि राखी सन्चालनमा रोक लगायो ।
एसियाली विकास बैङ्कको करिब २० करोड १३ लाख रुपैयाँ ऋण सहयोगमा यो पुल निर्माण गरिएको हो । बिसं २०७१ मा २०७४ मा सक्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताभन्दा एक वर्ष ढिला निर्माण कार्य सम्पन्न गरे पनि गुणस्तरहीन भएको भनेर विभागले लिन मानेको छैन ।
पुलको लोड टेस्ट गर्दा केही ठाउँमा क्षति भएको भन्दै मापदण्ड पूरागरी सात दिनभित्र निर्माण गर्न डिभिजन कार्यालयले भनेको छ ।