काठमाडौं । ४० मेगावाट क्षमताको सौर्य ऊर्जाका सोलार आयोजना खरिद बिक्री सम्झौता (पीपीए) भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हालसम्म ६ ओटा सोलार आयोजना विद्युत् विकास विभागमा पीपीए भए पनि एक ओटा सोलार आयोजनाले मात्रै लगानी जुटाएर निर्माण भइरहेको छ ।
तनहुँको बेलचौतारा निर्माणाधीन बेलचौतारा सोलार फार्म आयोजनाले वित्तीय व्यवस्थापन जुटाएर निर्माण भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । अधिकांश सोलार आयोजनाको फाइनान्सियल क्लोजर नभएकाले उनले बताए ।
विभागमा पीपीए हुने सोलार आयोजनामा ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना, ५.१ मेगावाटको ब्लक नम्बर वान सोलार फार्म आयोजना, ८.१ मेगावाटका ब्लक नम्बर चार, ८.३ मेगावाटको ब्लक नम्बर दुई सोलार फार्म आयोजना, ५ मेगावाटको बेलचौतारा सोलार फार्म आयोजना र १० मेगावाटको मिथिला सोलार पीभी पावर प्रोजेक्ट छन् ।
३२ मेगावाटका सोलार आयोजनाले लिए सर्भे लाइसेन्स
त्यस्तै, ३२ मेगावाटका ७ ओटा सोलार आयोजनाहरुले विभागमा सर्भे लाइसेन्स लिइएको विभागले जनाएको छ । ८.५ मेगावाटको बुटवल सोलार कम्पनी, १ मेगावाटको सोलार पीभी प्रोजेक्ट, १० मेगावाटको इटहरी च्यानल सोलार आयोजना, १.३ मेगावाटको ग्रीड कनेक्टेड सोलार आयोजना, ३ मेगावाटको सिर्जनशील सोलार आयोजना, ५ मेगावाटको सोलार पीभी प्रोजेक्ट १, ३ मेगावाटको ग्रीड टाइड सोलार फार्म आयोजनाले विभागबाट सर्भे लाइसेन्स पाएका छन् । विभागका अनुसार, हाल १.६ मेगावाट क्षमताका दुइओटा सोलार आयोजना मात्रै सञ्चालनमा छन् ।
विभागमा हालसम्म ५६ ओटा सोलार आयोजनाले सर्भे लाइसेन्सका लागि आवेदन दिएका छन् । ४५० मेगावाटका ती आयोजनाले सर्भे लाइसेन्सपश्चात् पीपीए भई निर्माण प्रक्रियामा जान सक्ने विभागका महानिर्देशक मधुप्रसाद भेटुवालले जानकारी दिए । नवीकरणीय ऊर्जाको रुपमा सौर्य ऊर्जा भरपर्दो, सस्तो र आधुनिक भएको उनले बताए ।