काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बतएका छन् ।
प्रतिनिधिसभाको अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित भएका अर्थमन्त्री खतिवडाले भुक्तानी दावी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताए ।
उनले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोधभर्ना नलिने नै रहेको दावी गरे । उनले आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिँदा असार मसान्तमा खर्च बढी देखिएको बताए । उनले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको जानकारी गराए ।
असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको स्पस्ट पारे । उनले भने ‘भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखहरुले समयमा दावी गर्नुहुन्न, सोधभर्ना लिनुहुनन्न । सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ । सोधभर्ना पनि फेरी जेठ असारमा धेरै आउँछ । असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि त्यहि देखिन्छ र खर्च पनि त्यहि देखिन्छ ।’
अर्थमन्त्री खतिवडाले राजश्व पनि असार मसान्तमा धेरै उठने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताए । बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसार खरिदमा विवेक र ढंग पु¥याउन नसके विवादमा पर्न सक्ने भएकाले पनि खर्चका प्रक्रियाहरुमा कठिनाई र ढिलाई हुने गरेको बताए ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यस अघि दिएका निर्देशनहरु अर्थमन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले बजेट खर्चमा पनि सरकार गम्भिर नभएको बताए । उनले सबल समयमा सबल अर्थतन्त्रको जिम्मेवारी पाउनुभएका अर्थमन्त्रीको काम गर्ने प्रवृतिले अर्थतन्त्रमा चुनौति थपिएको बताए ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की शाहीले बैठकमा सांसदहरुले विज्ञ अर्थमन्त्री भएर पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना गरे । उनीहरुले सरकारका कामकारबाही हेर्दा अबको चुनावमा मतदातालाई के भन्ने चिन्ता बढ्दै गएको बताए । उनीहरुले सरकारी खर्च बढाएर विकास निर्माणका कामलाई तीब्रता दिन सरकार गम्भीर नभएको बताए ।