काठमाडौं । मुख्य व्यापारिक हबको पहिचान बनाएका बजारमा महिना दिनमा ५० हजार रुपैयाँ भन्दा कम व्यापार भएको पाइएको छ ।
सरकारले असार २ गते लकडाउन खुकुलो बनाएसँगै खुलेका पसलले नगन्य रुपमा मात्रै व्यापार गरेका हुन् । न्यूरोडमा ५० वर्षदेखि कपडाको व्यापार गरिरहेका व्यापारी अनुप अग्रवालका अनुसार लकडाउन अघि न्यूरोडका प्रत्येक व्यापारीले दिनको ३ देखि ४ लाख रुपैयाँको व्यापार गर्थे । तर, अहिले मासिक रुपमा ५० हजार रुपैयाँको व्यापार गर्न पनि सकस हुन थालेको छ ।
जवकी, न्यूरोडको एउटा सटरको मासिक भाडा ४ लाखदेखि १० लाख रुपैयाँसम्म छ । ‘१० लाख भाडा छ । व्यापार ५० हजारमा खुम्चिएको छ,’ अग्रवालले भने, ‘यो आम्दानीले कर्मचारीलाई तलब सुविधा कसरी दिने ? सटर भाडा कसरी तिर्ने ?, बैंकको ब्याज कहाँबाट ल्याएर बुझाउने ?’
न्यूरोड मात्रै होइन्, दरबारमार्गको अवस्था पनि उस्तै छ । दरबारमार्गका अधिकांश पसलले एक महिनाको अवधिमा एक लाख रुपैयाँको पनि व्यापार गर्न सकेका छैनन् । दरबारमार्ग ब्रान्डेड सामान बेच्ने ठाउँ हो । त्यहाँ एउटा सामान बेच्ने वित्तिकै न्यूनतम १० हजारदेखि अधिकतम ४०/५० हजार रुपैयाँ आउँछ । त्यस्तो ठाउँमा पनि मासिक एक लाख रुपैयाँको व्यापार हुन नसकेको व्यापारीहरु बताउँछन् ।
दरबारमार्गका एक व्यापारीका अनुसार सरकारले लकडाउन खुकुलो बनाएदेखि साउन १ गतेसम्म जम्मा १ लाख २० हजार रुपैयाँको सामान बिक्री गरिएको छ । जबकी, मेरो सटर भाडा १० लाख छ । ५ जना कर्मचारी छन्। उनीहरुको मासिक सेवा सुविधा मात्रै १ लाख २५ हजार रुपैयाँ छ । बैंकको ब्याजको कुरै नगरौ ।
त्यसैगरी, काठमाडौंको अर्को व्यापारिक हब हो– चावहिल । जहाँ व्यापारीले लकडाउन अघि एक दिनमा ४ लाख रुपैयाँको व्यापार गर्थे । तर, असार २ देखि साउन १ गतेसम्म जम्मा ४५ हजार रुपैयाँ मात्रै व्यापार गरेको चावहिलका कपडा व्यापारी निरज अग्रवाल बताउँछन् । जबकि, उनले लकडाउन अघि दिनको ३ लाख ५० हजार देखि ४ लाख रुपैयाँसम्म व्यापार गर्थे । उनको पसलको भाडा ४ लाख छ ।
यसबाहेक व्यापारिक मलको अवस्था पनि त्यो भन्दा कम छैन् । सिभिल मल, सिटिसि मल, राइजिङ मल, सिटी सेन्टरलगायतका सबै मलको व्यापार शुन्य प्राय छ । यो एक महिनाकोबीचमा मुस्किलले १ लाख रुपैयाँको पनि व्यापार नगरेको सम्बद्ध व्यापारीहरु बताउँछन् ।
अहिले क्रयशक्ति शुन्यमा झरेको छ । क्रयशक्ति बढाउन मौद्रिक नीतिले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने देख्छन्, पूर्व अर्थमन्त्री समेत भइसकेका अर्थविद् डा. रामशरण महत ।
‘व्यापार व्यवसाय फस्टाउनलाई माग पनि बढ्नु पर्यो । माग बढ्नलाई मानिसको क्रयशक्तिमा वृद्धि हुनुपर्यो,’ महतले भने, ‘बजारमा सामान छ, तर माग छैन भने त्यसको कुनै अर्थ हुँदैन ।’
त्यही भएर केन्द्रीय बैंकले विस्तारकारी नीति चाहियो भनेर कांग्रेसले माग गरेको डा. महतको भनाइ छ । सरकारले व्यापार व्यवसाय खुला गरे पनि जीवन सामान्यकरण भइ नसकेकाले पनि व्यापारमा ठूलो असर देखिएको उनको भनाइ छ ।
आगामी तीन महिनासम्म पनि व्यापारमा कुनै सुधार नआए धेरै व्यापारीले पसल पूर्ण रुपमा बन्द गर्ने सोच समेत बनाइसकेका छन् । व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा कसरी सटर भाडा तिर्न सकिन्छ ? कसरी कर्मचारीलाई तलब सुविधा दिन सकिन्छ ? आउँदो तीन महिना हेर्ने नभए सदाका लागि व्यापार बन्द गर्नुको विकल्प नभएको उनीहरुको भनाइ छ ।