काठमाडौं । अप्रत्यासित बढेको घरजग्गाको मूल्य पुन ओरोलो लाग्ने संकेत देखिएको छ । व्यापारीलाई उद्योगीले उधारोमा सामान बेच्न पूर्ण रुपमा बन्द गरेसँगै घरजग्गाको मूल्य ओरालो लाग्ने देखिएको हो ।
अहिलेसम्म उद्योगी व्यवसायीसँगबाट रिटेलरले उधारोमा सामान ल्याउने, त्यो सामानलाई नगदमा बेच्ने र त्यो पैसा लगेर घरजग्गामा लगानी गरेकाले यसको मूल्य ह्वात्तै बढेको थियो । अब उद्योगी, इम्पोटर्स, वितरकले उधारोमा सामान नदिने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर घरजग्गाको मूल्यमा पर्ने सम्भावना रहेको सम्बद्ध व्यापारीहरु बताउँछन् ।
‘खासगरी रिटेलरले एक रुपैयाँ लगानी नगरि आम्दानी गरिरहेका थिए । सामान बेचेर उद्योगी, इम्पोटर्स तथा वितरकलाई भुक्तानी पनि नगर्ने गर्थे,’ नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले भने, ‘अहिले सिमेन्ट, स्टिल, खाद्यान्नलगायत केही उद्योगीले उधारो पूर्ण रुपमा बन्द गरेका छन्, भने मोबाइल आयातकर्ताले पनि उधारोमा मोबाइल नदिने विषयमा छलफल गरिरहेका छन् ।’
एकातिर उद्योगीले नगदमा सामान बेच्दा उनीहरुको पैसा फस्ने सम्भावना भएन भने त्यो पैसा घरजग्गाा समेत जान रोकिन्छ । नयाँ पैसा घरजग्गामा नजाने वित्तिकै यसको मूल्य विस्तारै ओरालो लाग्ने सम्भावना रहेको मल्होत्राले जानकारी दिए ।
बजारबाट उद्योगीले डेढ खर्ब रुपैयाँ भन्दा बढी उधारो उठाउन बाँकी छ । तर, रिटेलरले उपभोक्तालाई उधारोमा सामान बेच्दैनन् । उपभोक्तालाई नगदमा बेचेर त्यहाँबाट आएको पैसा घरजग्गामा लगानी गर्दा मूल्य आकाशिएको उनको बुझाइ छ ।
मोबाइल आयातकर्ताले पनि उधारोमा मोबाइल नदिने बताइसकेका छन् । यद्यपि, मोबाइल वितरकसँग छलफल भइरहेको छ । तर, चोरी तस्करी भएर आएको मोबाइल बेच्ने पसल तथा डिलरलाई कालोसूचीमा राख्ने र कुनै पनि आयातकर्ताले उक्त डिलरलाई मोबाइल नदिने निर्णय गरिसकेको मल्होत्राले जानकारी दिए ।
सिमेन्ट उत्पादक संघका अनुसार सिमेन्ट उद्योगीको मात्रै झण्डै ५० अर्ब रुपैयाँभन्दा बढी उधारो बजारबाट उठाउन बाँकी छ । त्यसैगरी स्टिल उद्योगीको पनि ३० अर्ब रुपैयाँ भन्दा बढी उधारो उठाउन बाँकी छ ।