काठमाडौं । चालू आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले अपेक्षित प्रगाति गरेको जनाएको छ । हाल (असार २४ गते)सम्म मन्त्रालयले ७२ प्रतिशत पुँजिगत खर्च गरेको जनाएको छ । खासगरी सहरी क्षेत्रको पूर्वाधार, सडक, ढल, शुरक्षित आवास, एकिकृत शहर, नयाँ सहर र स्मार्ट सिटी निर्माणमा मन्त्रालयले झन्डै ७० प्रतिशतकै हाराहारीमा भौतिक प्रगति गरेको छ ।
गत आवमा विनियोजन भएको बजेटमध्ये अधिकांश सहरी विकास तथा पूर्वाधारमा खर्च भएको मन्त्रालयले जनाएको छ । खासगरी यस अवधि विश्व बैङ्कद्वारा सञ्चालन भएका सहरी शासकीय क्षमताका आयोजनाहरुमा भने प्रगति कम भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले बताए । सहरी क्षेत्रमा शुरक्षित आवास आयोजनामा भने अपेक्षित प्रगति नभएको दवाडीले बताए ।
मन्त्रालयको गत आवमा ३३ अर्ब ३७ करोड रुपैयाँ विनियोजन भएको थियो । कार्यविधि नबन्दा शुरक्षित आवास निर्माणको काम न्युन प्राप्त भएको उनको तर्क छ ।
उनले सहरी वातावरणतर्फका आयोजनामा ८२ प्रतिशत, संघीय वातावरणतर्फ ७० प्रतिशत, क्षेत्रीय सहरीतर्फका आयोजनामा ८३ प्रतिशत, एकिकृत सहरी विकासतर्फ ७८ प्रतिशत प्रगति हासिल भएको बताए ।
गत आवमा २३० किमी सडक कालोपत्रे, ३३५ किमी पानीको पाइप लाइन विस्तार, १४ किमी ढल निकास विस्तारको काम भएको छ । त्यस्तै, ५ किमी धोबीखोला करिडोरको निर्माणको काम पनि सम्पन्न भएको छ । मनोहरा हनुमन्ते करिडोर सूचारु गर्नेगरी पूर्वाधार बनेको छ । बागमती नदीमा ७ किमी ढल र २ किमी सडक निर्माण भएको छ । ६ किमी नदी नियन्त्रण गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
४३ ओटा साना ठूला पार्क पनि गत आवभित्रै निर्माण गरिएको मन्त्रालय स्रोतको दाबी छ । काठमाडौं उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि बन्चरे डाँडामा ल्यान्डफिल्ड साइड निर्माणको कामले तीव्रता पाइरहेको छ ।
त्यस्तै, नयाँ सहर र स्मार्ट सिटीको योजनाअनुसार केही उपलव्धि हासिल भएका छन् । १५ ओटा नयाँ सहर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । १३ ओटा स्मार्ट सीटी निर्माणका लागि गुरुयोजना तयार भइसकेको छ ।
संसद भवन निर्माणका लागि डिजाइन भएर टेन्डर गर्ने चरणमा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्री निवासको डिजाइन र प्रदेश प्रमुख निवासको अध्ययनको काम झन्डै अन्तिम चरणमा पुगेको जनाइएको छ । १५ सय व्यक्ति अटाउने बृहत सभाहल सुर्खेतको कालीकोटमा निर्माण भएको छ ।
दमकमा भ्युटावर निर्माणका लागि सम्झौता भइसकेको छ । २ अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र ३ ओटा जनस्वास्थ्य केन्द्र, ६ ओटा बर्थिङ सेन्टर, १ तालिम केन्द्र गरी कुल १७७ ओटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् ।
काठमाडौं उपत्यकामा ४ ओटा नयाँ नगर निर्माणको डीपीआर अन्तिम चरणमा छ । १ लाख ३० हजार रोपनीमा सुविधासम्पन्न नयाँ नगर निर्माण २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
सहरी मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुर जोड्ने बाहिरी चक्रपथ निर्माण गर्न स्रोत सुनिश्चितता नभएकाले प्रगति गर्न नसकेको बताएको छ । ठूला लगानी आवश्यक पर्ने र बजेट व्यवस्थापन नहुँदा अहिले बाहिरी चक्रपथ निर्माण अन्योलमै छ ।