काठमाडौं । कर्मचारी सञ्चय कोषले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुको कर्जाको ब्याजदर घटाएको छ । सञ्चय कोषले जलविद्युत आयोजनाहरुको ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गरेको छ । यसअघि जलविद्युत आयोजनाहरुको ब्याजदर १०.७५ प्रतिशत थियो ।
कोषको लगानीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन ।
यी आयोजनाहरुमा सञ्चय कोषले २७ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । ब्याजदर घटेपछि आयोजनाको लागत कम हुने भएको छ । नयाँ बन्ने आयोजनाले पनि सस्तो ब्याजमा कोषबाट ऋण पाउने भएका छन । नयाँ आयोजनाले पनि कोषबाट ९.७५ प्रतिशत ब्याजमा कर्जा पाउने छन ।
आयोजनाहरुको ब्याजदर १ प्रतिशत घटाएको कोषका प्रशासक तुलसी गौतमले बताए । उनले नयाँ ब्याजदर साउन १ गतेदेखि लागु भएको उनले सुनाए । कोषले लिने र दिने सबै किसिमको ब्याजदर १० प्रतिशत भन्दा कम गरिएको गौतमले जानकारी दिए ।
बैंकहरुले ब्याजदर घट्पछि सञ्चय कोषले पनि पुनरावलोकन गरेको उनको भनाइ छ । यी आयोजनाको निर्माण अवधि थपिएपछि लागत बढेको छ । माथिल्लो तामाकोसी कात्तिकसम्म सञ्चालनमा आउने भएको छ ।
यस्तै रसुवागढी र सान्जेन आयोजना पनि आगामी ६ महिना र मध्य भोटेकोसी आगामी वर्षभित्र सञ्चालनमा आउने छ । गत साउनमा कोषले जलविद्युत आयोजनाको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर १०.७५ प्रतिशत कायम गरेको थियो ।
कोषको यो निर्णयले जलविद्युत आयोजनालाई केही राहात हुने भएको छ । ५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन ।
ब्याजदर कम भएपछि आयोजनाको लागत कम हुने छ । कोषले माथिल्लो तामाकोसीसँग १२ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरे पनि आफैंले घटाउँदै आएको छ । माथिल्लो तामाकोसी, रसुवागढी, मध्य भोटेकासी र सान्जेन आयोजनाहरुको निर्माण अवधिको ब्याजदर ऋणमा पुँजीकरण हुने छ । कोषले तामाकोसीको पेव्याक पिरियड बढाएर १५ वर्ष पुर्याइसकेको छ ।
बैंकहरुले मुद्धति निक्षेप र कल डिपोजिटको ब्याज घटाइरहेका छन । कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा ७५ अर्ब रुपैयाँ बढी मुद्धति निक्षेप राखेको छ ।
सञ्चय कोष बैंकहरुको सबैभन्दा ठुलो संस्थागत निक्षेपकर्ता हो । कोभिड महामारीका कारण ब्याजदर सस्तो बनाउन बैंक तथा वित्तीय संस्थाहरुले प्रशासनिक खर्च कटौति गरिरहेका छन । खर्च कटौतिढीले ब्याजदर १.५ प्रतिशतसम्म घट्ने बैंकहरुले बताउँदै आएका छन ।
यस्तै सञ्चय कोषले सञ्चयकर्ताबाट लिने र दिनेको ब्याजदर पनि घटाएको छ । कोषले सञ्चयकर्तालाई कोषको रकममा ७ प्रतिशत ब्याज दिने भएको छ । यसअघि ८ प्रतिशत थियो । यस्तै सञ्चयकर्ताको विशेष सापटीमा ८.२५, ४० लाख भन्दा कम सापटीमा ८.५० सो भन्दा बढीमा ८.७५ प्रतिशत तोकिएको कोषले जानकारी दिएको छ । पछिल्लो समयमा कोषले निक्षेप–कर्जा अनुपात (स्प्रेड) दर १ प्रतिशत मात्र राखेको छ ।