काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ।मास ५ को बुकिङ खुला गरेको छ। आधिकारिक रूपमा सार्वजनिक हुनुअगावै 'गेस एंड बुक द अल न्यु ई-मास ५ एट योर प्राइस' नामक विशेष योजना सुरू गरेको छ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन ई-मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउने छन्। कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्ने छन्।
यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइटमा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्ने छन्। मूल्य अनुमानका लागि ई-मास ५ प्राइम भेरियन्टको दायरा २९.९९ लाखदेखि ३४.९९ लाखसम्म तोकिएको छ। ‘प्रिमियम’ भेरियन्टको दायरा ३४.९९ लाखदेखि ३९.९९ लाखसम्म निर्धारण गरिएको छ।
कम्पनीले उल्लेख गरेअनुसार यस योजनामा नियमपूर्वक सहभागी भएकामध्येबाट ‘लक्की ड्र'मार्फत प्रत्येक भेरियन्टबाट पाँच जना भाग्यशाली विजेताहरू चयन गरिने छ। विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन ई-मास ५ खरिद गर्न पाउने छन्।
यसैबीच जगदम्बा मोटर्सले एक लाख बुकिङ रकम तोकेर प्रोटोन ई-मास ५ को बुकिङसमेत खुला गरेको छ। ग्राहकहरूले बैंक अथवा अनलाइनमार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाएर आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’को उपाधी हासिल गरेको थियो। कम्पनीका अनुसार ई-मास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’ भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ। यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ।
नेपालमा विद्युतीय सवारी साधनको बजार निरन्तर विस्तार भईरहेको र प्यासेन्जर गाडीको बिक्रीमा ईभीको हिस्सा बढ्दै गएको सन्दर्भलाई ध्यानमा राखेर यो योजना ल्याइएको कम्पनीले उल्लेख गरेको छ। देशको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमा प्रोटोन ई-मास ५, ग्राहकहरूको लागि एक उत्कृष्ट विकल्पको रूपमा स्थापित हुनेमा जगदम्बा मोटर्सले विश्वास व्यक्त गरेको छ।