काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा सुधार आउँदा अन्तःशुल्कले भने धोका दिएको छ । खासगरी मदिरा विक्रीमा व्यापक गिरावट आएपछि त्यसको असर अन्तःशुल्कमा परेको हो ।
सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा आन्तरिक भ्याट, आयकर र अन्तशुल्क बापत ३ खर्व ८० अर्ब रुपैयाँ उठेको छ । अघिल्लो आर्थिक वर्षमा ३ खर्व ५३ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।
गतवर्ष २ खर्ब १७ अर्ब रुपैयाँ आयकर, ९८ अर्ब रुपैयाँ भ्याट र ६५ अर्ब रुपैयाँ अन्तशुल्क उठेको छ । अघिल्लो वर्ष १ खर्ब ९२ अर्ब रुपैयाँ आयकर, ८८ अर्ब रुपैयाँ भ्याट र ७३ अर्ब रुपैयाँ अन्तःशुल्क उठेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष अन्तशुल्क ७ अर्ब रुपैयाँ घटेको छ भने आयकर २७ अर्ब रुपैयाँ र भ्याट १० अर्व रुपैयाँले बढी उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष मदिरा विक्रीमा मन्दी छाएपछि अन्तशुल्क घटेको हो । चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी –लकडाउन)ले सम्पूर्ण व्यवसाय प्रभावित भएपनि होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरु बन्द हुँदा त्यसको असर मदिरा विक्रीमा देखिएको छ ।
होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसहरुमा हुने ठूला जमघट र कार्यक्रममा मदिरा बढी खपत हुने गरेको थियो । लकडाउनमा यी सबै सबै कार्यक्रम रोकिँदा मदिरा विक्री वितण ठप्पजस्तै छ । जसको असर आन्तरिक राजस्वको अन्तःशुल्कमा परेको छ । नेपालमा आन्तरिक मदिरा बढी प्रयोग हुने गरेको छ ।