तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो ।
ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
उनका अनुसार विद्यालयको नाममा रहेको १०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी गरिएको छ । ‘हाल विद्यालयको नाममा १७० रोपनी क्षेत्रफल जग्गा छ, त्यहीमध्ये १०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्नका लागि डिपिआर गरेका हौँ’ वडाध्यक्ष रेग्मीले भने ।
नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि आगामी आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवनलगायत निर्माण गरिनेछ । रङ्गशाला निर्माणका लागि करीब २० करोड बजेट आवश्यक पर्ने देखिएको वडाध्यक्ष रेग्मीले बताए ।
उनका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार, नगर विकास कोष तथा अन्य दातृ निकायलाई आकर्षित गरी यथाशीघ्र निर्माण प्रक्रिया शुरु गर्नका लागि नगरपालिकाले कदम लिनेछ ।
नगरपालिकाले वडान नं ४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको जग्गामा नगर बसपार्क निर्माणका लागि पनि डिपिआर तयार गरेको छ । त्यस्तै नगरपालिका–२ एक्लेखेतमा चिस्यान केन्द्र निर्माणका लागि पनि डिपिआर तयार भएको नगरपालिकाले जनाएको छ । रासस