काठमाडौं । नेपाल लगानी बोर्ड (आईबीएन)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ६ जना आवेदकहरु सटलिस्टमा परेका छन् । गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा बनेको उपसमितिले ६ जनाको नाम सटलिस्ट गरेको हो ।
उपसमितिले पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विद्युत् नियमन आयोगका सदस्य रामकृष्ण खतिवडा, सेजाका पूर्व कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्ट, पूर्वबैंकर सुमन शर्मा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, र प्रत्यक्ष वैदेशिक लगानीमा विद्यावारिधि गरेका डा. सरोज कोइरालाको नाम सटलिस्ट गरिएको छ ।
तर, लगानी बोर्डका सीईओ बन्न १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये बाट ६ जना छनोट गरिएको हो । उपसमितिले छनोट गरेको व्यक्तिको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको समितिलाई बुझाउने छ । सो समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, र अर्थविद् डा. गोविन्द नेपाल छन् ।
त्यसपछि खतिवडाको समितिले ६ जना मध्ये तीन जनाको नाम मन्त्रीपरिषद्मा लैजाने छ । मन्त्रीपरिषद्ले एक जनलाई ४ वर्षै कार्यकालका लागि सीईओ नियुक्त गर्ने छ ।
उपसमितिले छनोट गरेका व्यक्तिहरु आ–आफ्नो क्षेत्रमा दख्खल राख्ने व्यक्ति हुन् । जोशी बोर्डको सीईओ भएर आएपछि नेपालको पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय समूदायमा बजारीकरण गर्न सफल भए । नेपालका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरेर देशभित्र पर्यटकको संख्या बढाउन ठूलो सहयोग गरेका हुन् ।
त्यसैगरी, भट्ट पनि ४ वर्ष विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेजा)मा विताएका व्यक्ति हुन् । उनकै कार्यकालमा सेजाको काम अघि बढेको हो । निजी क्षेत्रलाई सहभागिता गराएर उनले सेजको काम अघि बढाएका हुन् । सेजमा देखिएको समस्या समाधान गर्न र उद्योगीलाई लगानीअनुकूल वातावरण बनाउन भट्टले निकै राम्रो भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी, विद्युत् नियमन आयोगमा बसेर अहम् भूमिका निर्वाह गर्ने व्यक्तिमा पर्छन खतिवडा । त्यसैगरी नेपाल पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पनि आफ्नो कार्यकाल सफल बनाएका छन् । उनको कार्यकालमा निजी आवस बन्नेदेखि सार्वजनिक महत्वका भवन निर्माणमा पनि उनको सफलता देखिएको छ ।
लगानी बोर्डलाई ६ अर्ब रुपैयाँ माथिका परियोजना स्वीकृत गर्ने कानुनी अधिकार दिएपछि बोर्डको महत्व झन बढेको हो । त्यसैगरी दुईसय मेगावाटभन्दा ठूला जलविद्युत् परियोजनाको समन्वय पनि बोर्डबाट नै हुने व्यवस्था छ । त्यही भएर प्रतिष्ठित व्यक्तिहरुले आवेदन दिएका हुन् । अन्तर्राष्ट्रिय समूदायसँग प्रत्यक्ष सम्बाद गर्नेदेखि देशभित्र हरेक वर्ष हुने लगानी सम्मेलनले बोर्डको महत्व झन बढाएको हो ।