काठमाडौ । पछिल्लो समय बैङ्किङ कसुरका घटना बढ्दै गइरहेको देखिएको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) को पछिल्लो तथ्यांक अनुसार बैङ्किङ क्षेत्रमा आर्थिक हिनामिनाका घटनाहरु बढेको छ ।
सीआईबीले बिहीबारसम्म विभिन्न बैङ्क तथा वित्तीय संस्थामा भएका बैङ्किङ कसुरका घटनमा कुल २२ अर्ब २ करोड ४७ लाख ५४ हजार ७४१ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्धा दायर गरेको छ ।
यो विगो सीआईबी स्थापना भएकोदेखि हालसम्मको हो । सीआईबीको स्थापना २०६७ मा भएको हो । ९ वर्षको अवधिमा सीआईबीले बैङ्किङ कसुर गरेका २१२ जनालाई पक्राउ गरेको छ । सीआईबीका अनुसार तत्कालिन गोरखा डेपलपमेन्ट बैङ्ककका ३ जनालाई पक्राउ गरी ८६ करोड ७३ लाख १६ हजार ८७८ रुपैयाँ बराबरको विगो माग गरिएको थियो ।
त्यसैगरी, नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडका कसुर गर्ने ३ जनालाई पक्राउ गरी ५ अर्ब ७९ करोड २ लाख ४४ हजार ३३५ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको पनि ७ अर्ब ७३ करोड ५७ लाख ४५ हजार ७०५ रुपैयाँ बराबरको रकम दाबी गरिएको छ भने सो कम्पनीका ८ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ । विशेष गरी बैङ्किङ कसुरमा बैङ्कका कर्मचारी संलग्न हुने गरेका छन् ।
छोटो समयमा दुःख नगरी पैसा कमाइने भएकाले बैङ्किङ कसुर सम्बन्धी घटना बढेको सीआईबी प्रवक्ता दिपक रेग्मीले बताए । प्रवक्ता रेग्मीका अनुसार प्रविधीको राम्रो ज्ञान भएकाले एटीएम तथा सिस्टम ह्याक गर्ने तथा व्यवस्थापनमा राम्रो दख्खल भएका कर्मचारीले आफू नदेखिने गरी नीतिगत रुपमा नै कसुर गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
त्यस्तै, जनरल फाइनान्स कम्पनीको पनि १३ करोड ९९ लाख ४५ हजार ८८८ रुपैयाँ बराबरको विगो दाबी गरिएको छ । यस कम्पनीका २ जनालाई पक्राउ गरी कारवाही चलाएको सीआईबीले जनाएको छ ।
त्यस्तै, नेपाल विकास बैङ्कका १ जनालाई पक्राउ गरी ३६ करोड ५ लाख ७० हजार २७३ रुपैयाँ बिगो दाबी गरेको छ । सीआईबीका अनुसार सम्झना फाइनान्स कम्पनीका कसुर गर्ने २ जना पक्राउ गरी कारावाही चलाइएको छ । यस कम्पनीलाई ६ करोड २८ लाख ९२ हजार ९५९ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।
त्यस्तै प्रोग्रेसिप फाइनान्स कम्पनी, युनाईटेड विकास बैङ्क, क्रिष्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स कम्पनी, एच एन्ड ‘बी’ डेभलपमेन्ट बैङ्क, हिमालय फाइनान्स कम्पनी, बैभव फाइनान्स कम्पनीलगायतका बैङ्क तथा वित्तीय संस्थाहरु उपर सीआईबीले बैङ्किङ कसुर अन्र्तगत मुद्धा चलाएको छ ।
त्यस्तै, सिदार्थ डेभलपमेन्ट बैङ्क, तत्कालीन किष्ट बैङ्क, एनआईडीसी क्यापिटल मार्केट्स, एनबी बैङ्क, सिभिल बैङ्क, बुटवल फाइनान्स, पिपल्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैङ्क, कृषि विकास बैङ्क (स्वयम्भु शाखा ) एभरेष्ट बैङ्क, कृषि विकास बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थाहरुमा बैङ्किङ कसुरका घटना भएका छन् ।
त्यस्तै, बैङ्किङ कसुर गरी कारवाहीमा पर्ने बैङ्क तथा वित्तीय संस्थाहरुमा ग्लोबल आईएमई बैङ्क, प्रुडेन्सियल फाइनान्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स कम्पनी तथा मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन कम्पनी रहेका छन् ।
आफ्नै बैङ्कका कर्मचारीले ठगी गर्ने क्राम बढेकाले बैङ्किङ क्षेत्र असुरक्षित बन्दै गएको अनुसन्धानले देखाएको छ ।
के गर्दा बैङ्किङ कसुर गरेको ठहर्छ ?
बैङ्किङ कारोबार गर्दा गलत काम गरेमा बैङ्किङ कसुर अन्तर्गत कारबाही हुन सक्छ । बैकिङ कसुर ऐन २०७३ (पहिलो संशोधन) अनुसार यी काम गरे बैङ्किङ कसुर गरेको ठहर्छ ।
–अनाधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने
–अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने
– विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने
–अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने
–कर्जाको दुरुपयोग गर्न नहुने
–बैङकिङ् स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने
–ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने
–ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोक्न नहुने
–कागजात वा खाता सच्याई कीर्ते वा जालसाजी गरी हानी नोक्सानी पुर्याउन नहुने
–बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याई काम कारोबार गर्न नहुने
–बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय विवरण तयार गर्न नहुने
–अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुने
– ढुकुटीको कारोबार गर्न नहुने
– गैर कानूनी रुपमा बैङ्किङ् कारोबार गर्न नहुने रहेका छन ।