काठमाडौं । सनराइज बैंकमा देखिएको सञ्चालकहरुको विवादमा नियामक नेपाल राष्ट्र बैंकले मिलेर आउन निर्देशन दिएको छ । केही दिनयता सनराईजका सञ्चालहरुबीच प्रमुख कार्यकारी अधिकृत (सीईओ) राख्ने र हटाउने विषयमा विवाद भएको थियो । आइतबार राष्ट्र बैंकले सञ्चालकहरुलाई बोलाएर बस्तुस्थिति जानकारी माग्दै मिलेर आउन निर्देशन दिएको हो ।
आफ्नो कार्यकाललाई लिएर सञ्चालकहरुबीच विवाद भए पनि सीईओ जनक शर्मा पौड्यालले राजीनामा नदिने बताईसकेका छन् । आवश्यक परे कानूनी उपचारमा जाने तर, सञ्चालकहरुको विवादकै कारण आफूले बैंक नछाड्ने निष्कर्षमा सीईओ पुगेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने मिलेर आउन भनेको बताए । ‘सनराईज बैंकका अध्यक्ष र सञ्चालकहरुको कुरा सुन्यौं र उहाँहरुलाई छिटो भन्दा छिटो मिलेर आउन निर्देशन दिएका छौं’ उनले भने ‘सञ्चालकहरुबीच विवाद आउँदा बैंकमा समस्या हुनसक्छ, त्यही भएर सबै कुरा छिटो मिलाएर आउन भनेका हौं ।’
सनराइजमा शैलेन्द्र गुरागाँइको अध्यक्ष र सीईओ हटाउने ‘स्टेप’, बोर्डमा भाँडभैलो, निशानामा पौडेल
बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकद्वय शारदा शर्मा पुडासैनी र दीपक नेपाल शर्माकै पक्षमा छन् भने सञ्चालकत्रय शैलेन्द्र गुरागाईं र बच्चाराज टातेर र मालचन्द दुगड सीईओ हटाउनुपर्ने पक्षमा छन् । उनीहरुले सीईओ नहटे मोतीलाल दुगडले अध्यक्ष छाड्न दबाब दिइरहेका छन् । यसअघि विज्ञ सञ्चालक ओमकृष्ण जोशी पनि सीइओ हटाउनुपर्ने पक्षमा थिए
। राष्ट्र बैंकले विज्ञको भूमिका पक्षधरता होइन भनेर जोशीमाथी प्रश्न उठाएपछि भने उनी तटस्थ बस्दै आफैले सञ्चालकबाट राजीनामा दिने मनस्थितिमा पुगेको जानकारी कम्पनी सचिवलाई दिएको स्रोतले बतायो । यद्यपी जोशीको सञ्चालकको कार्यकाल भने ४ महिना मात्र बाँकी छ ।
जोशीको तटस्थतासँगै सीईओ हटाउने र राख्नेबीचको मतान्तर बराबर भएको छ । यद्यपी केन्द्रीय बैंकले हस्तक्षेप गर्दै बैंकका अध्यक्ष र सञ्चालकहरुलाई मिलेर आउन भन्दै निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सञ्चालकहरुलाई मिल्न दबाब दिएर सिईओको राजीनामा नहुने संकेतसमेत गरेको छ । ‘बैंकका सञ्चालकहरुको विवादकै कारण सिईओको राजीनामा दिनुपर्ने कुनै कारण हुँदैन’ राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले भने, ‘हामीले सञ्चालकहरु मिलेर आउन भनेका छौं, ‘नभए सञ्चालक समिति बर्खास्त गरेर राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिन्छ ।’ सञ्चालकहरुको विवादले बैंकलाई धरासायी हुन नदिइने भन्दै ति अधिकारीले भने, ‘विगतमा सञ्चालकहरुको विवादका कारण धेरै वित्तीय संस्था समस्यामा फसेकाले छिट्टै सहज बनाउन भनेका छौं ।’
सञ्चालकहरुको विवाद सतहमा आएपछि २०६६ जेठमा राष्ट्र बैंकले बैंक अफ काठमान्डूमा हस्तक्षेप गर्दै सञ्चालक समिति भङ्ग गरेको थियो । त्यस्तै, २०७० फागुनमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले बर्खास्त गरेको थियो । त्यसैगरि केही समय चरम विवादमा रुमलिएको कुमारी बैंक सञ्चालक समिति पनि राष्ट्र बैंक हस्तक्षेपपछि सञ्चालहरुबीच सहमति भएको थियो ।
वित्तीय क्षेत्रमा कतिपय बेला सञ्चालकहरुको मिलोमतोमा क्षमताविहीन व्यक्तिलाई पनि सिईओ बनाउने गरेको र सञ्चालकहरुले भनेको कुरा सिईओले नमानेमा समय अगावै वा सञ्चालक समितिले विना जिम्मेवारी हटाउने अभियान सुरु गरेको पाइएपछि राष्ट्र बैंकले सिईओ नियुक्तीमा हस्तक्षेप गर्ने गरि नीति बनाउन पनि जुटेको छ ।
बैंक सञ्चालक समितिले सिईओ नियुक्तीका लागि आधारसहित विस्तृत विवरण पेश गर्ने र त्यसलाई केन्द्रीय बैंकले अनुमोदन गरेपछि मात्रै सञ्चालक समितिले सिईओ नियुक्त गर्न सक्ने व्यवस्था गर्न खोजिरहेको छ । यस्ता घट्नाले राष्ट्र बैंकलाई सिईओ नियुक्तिमा आफ्नो अधिकार कायम गर्न अझ सहज बनाउनेछ । सञ्चालकहरुको आपसी मनमुटावको शिकार बैंकको व्यवस्था पर्नु हुँदैन । यदि बैंक सिकार भएको खन्डमा लाखौं निक्षेपकर्ताहरुको निक्षेपमा जोखिममा पर्ने देखिन्छ ।
यसअघि पनि सनराईजमा सिईओ निरज श्रेष्ठ नियुक्त गर्दा पनि तिब्र विवाद भएको थियो । सञ्चालकहरुबीच विवाद बढेपछि श्रेष्ठले सनराईजमै नगई राजीनामा दिएका थिए । शर्मा नियुक्ती सहमत देखिए गुरागाँइ पछिल्लो समय आफूले भनेको सिईओले नमानेको भन्दै विपक्षमा देखिएका छन् ।
गुरागाँइ सीईओ र अध्यक्षमध्ये एक जनाले पद छाड्नुपर्ने अडान राख्दै आएका छन् । यसअघि गुरागाँइ जनता बैंक नेपाल (हाल ग्लोबल आईएमई)को सञ्चालक रहँदा पनि सञ्चालकबीच मनमुटाव गराउन भुमिका निर्वाह गरेको आरोप लागेर बैंकबाट बाहिरिएका थिए ।