काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत भएको छ । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरेको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।
गत आर्थिक वर्षको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा समेत गरी ६ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्रसम्मको आपूर्र्ति पाईप तथा बाग्मतीसम्मको वास आउट पाईप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सो जानकारी गराइएको हो ।
खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।
समीक्षा बैठकमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी सहसचिव अरुण सिंखडाले गराए । मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई १ लाख ९० हजार २९२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले जानकारी दिए ।
त्यस्तै गत आर्थिक वर्षमा २४२ आयोजना सम्पन्न भई १ लाख ९४ हजार ४२३ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको बताइएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको आ. व. २०७६/०७७ मा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी गराईयो ।
खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको जानकारी महानिर्देशक सुनिलकुमार दासले दिए ।
आव २०७६/०७७ मा आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको बैठकमा जानकारी दिईयो । त्यस्तै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको बताईयो ।
आर्थिक वर्ष २०७६/०७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनाहरु मध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजनाहरु सम्पन्न भई ५० हजार ५७० जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनाहरुमध्ये ४ वटा सम्पन्न भई करिब ६१ हजार ७४३ जनसंख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए ।
त्यस्तै जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजना सम्पन्न भई ३१ हजार ४४५ जनसंख्या लाभान्वित भएको खानेपानी विभागको भनाई छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको जानकारी गराईयो ।
मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति अन्तर्गत गत आर्थिक वर्षमा २ सय ३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार ७०४ जनसंख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताए ।
समीक्षा बैठकलाई सम्बोधन गर्दै खानेपानीमन्त्री मगरले खानेपानी तथा सरसफाईको क्षेत्रमा दीर्घकालीन मार्गचित्र (रोडम्याप) तयार गरेर मन्त्रालय अघि बढेको जानकारी दिइन । ‘गत आर्थिक वर्षमा हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्यौं’ उनले भनिन, ‘यो चालु आर्थिक वर्ष हाम्रा लागि चुनौति र अवसर हुने छ । ।’
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आर्थिक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताए । उनले सरकारले लिएको एक घर एक धाराको नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पारे ।