काठमाडौं । अहिले सबैतिर खानेपानीको अभाव र खडेरी परिरहेका बेला इमाडोलमा भने खानेपानीका लागि पानी जम्मा गर्ने ट्याङ्की निर्माण गरिएको छ ।ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा.नं १ इमाडोलमा खानेपानी ट्याङ्की निर्माण भएको छ ।
गत साल असार १५ गतेबाट निर्माण सुरु भएको ट्याङ्की तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको हो । काम सुरु गरेको एक वर्षभित्र ३ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २७ लाख र गत आर्थिक वर्ष २०७५/७६ मा थप २५ लाख बजेट विनियोजन गरी जम्मा ५२ लाख र थप २७ लाख रुपैयाँ स्थानीय उपभोक्ताको अनु्दान गरी जम्मा ७९ लाख रुपैयाँमा ट्याङ्की निर्माण भएको हो ।
नगरपालिकाको वडा १ र ४ का सम्पूर्ण घरधुरीलाई पानी पुग्ने गरी ट्याङ्की निर्माण गरिएको ट्याङ्की निर्माण समितिका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।
उनका अनुसार पहिलादेखि इमाडोल बासीले प्रयोग गर्दै आएको गोदावरी मुहानलाई थप व्यवस्थित गरी सोही पानीलाई ट्याङ्कीमा ल्याएर जम्मा गरी वितरण गर्ने योजना छ ।
ट्याङ्की निर्माण समितिका अध्यक्ष छिरिड लामाले यो ट्याङ्की निर्माणले स्थानीय खुसी भएको बताए । उनले यहाँका वडा १ र ४ का स्थानीय बासीलाई पानीको सहज वितरण गर्ने गरी पाइप विस्तारका्े कार्य सुरु भएको र अब २ वर्षभित्र विस्तार गरिसकिने जानकारी दिए । दुई वर्षमा नै प्रत्येक घरघरमा पानी जडान गर्ने उनले जानकारी दिए ।
उनका अनुसार जनतालाई अब आउने मेलम्चीको पानी पनि जडान गर्ने गरी काम अगाडि बढेको छ । उनले भने, ‘योजना तीन वर्षको हो, अब २ वर्ष बाँकी छ । यो २ वर्षमा पानीको मुहान गोदावरीदेखि ट्याङ्कीसम्म पाइप बिछ्याउने र प्रत्येक घरघरमा धारा जडानदेखि पानी विस्तारको कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढिरहेका छौँ ।’