×

स्वदेशी चेन–बिजनेसको प्रतिस्पर्धा, नयाँ अवधारणामा युवाहरू

images

व्यापार तथा सेवाका विविध क्षेत्रमा विदेशी साझेदार भित्र्याएर फ्रेन्चाइच वा चेनमार्फत बिजनेस गर्ने चलन नेपालमा दशकपहिलेसम्म थियो । यो कुनै नौलो कुरा पनि थिएन । तर, पछिल्लो समयमा भने नेपाली कम्पनीहरूले स्वदेशी ब्रान्डलाई नै फ्रेन्चाइच मोडलमा लगी आफ्नो व्यापार–व्यवसाय विस्तार गर्ने होडबाजी नै चल्न थालेको छ । 

होटल, कफी सप, सपिङ सेन्टर, रेष्टुराँ लगायतका क्षेत्रमा दुई वा दुई भन्दा बढी आउटलेट खोलेर व्यवसायीले उपत्यका र उपत्यकाबाहिर सेवा दिने प्रतिस्पर्धा बढेको छ । व्यवसायीको यही प्रतिस्पर्धाका कारण उपभोक्ताले पनि राम्रै सेवा पाइरहेका छन् । यसरी फ्रेन्चाइच विस्तार गर्दै आएका व्यवसायमा; नाङ्लो, डल्ले मःम, बोता, केएफसी, केकेएफसी, बर्गर हाउस, चिकेन स्टेसन, बिगमार्ट, भाटभटेनी, सेल्सबेरी, बाजेको सेकुवा, हिमालयन जाभा, स्यान्को कट्टी रोल, साथी मार्टलगायत रहेका छन् ।

सञ्चालकहरुले विदेशी उत्पादन नभई स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखी व्यवसाय सञ्चालन् गरिरहेका छन् । यसले एकातिर स्वदेशी उत्पादनको प्रमोट भइरहेको छ भने अर्कोतिर देशभित्रकै विभिन्न सम्भावनालाई इंगित गरिरहेको छ । 

कोरोना महामारीका कारण अर्थतन्त्रका विभिन्न क्षेत्र प्रभावित भए । यद्यपि व्यावसायीहरुको फ्रेन्चाइच विस्तारलाई हेर्दा निराश हुने अवस्था छैन । बर्गर हाउस, चिकेन स्टेसन, साथीमार्ट, डल्ले मःम लगायतले कोरोनाकालमा पनि आफ्नो व्यवसाय विस्तार गर्न छाडेनन् ।

अधिकांश व्यावसायीका अनुसार सुरुमै फ्रेन्चाइच विस्तार गर्ने योजना हुँदैन । तर, व्यवसाय राम्रै सञ्चालन गर्न सकेमा फ्रेन्चाइच खोल्न नयाँ व्यावसायीहरुले नै चासो देखाउँछन् । 

यसरी विस्तार गर्नेे व्यावसायीले कुन ठाउँमा कतिवटा आउटलेट, फ्रेन्चाइच तथा शाखा विस्तार गर्ने भन्ने ठोस मापदण्ड नबनाए पनि १/२ किलोमिटरको दूरीमा नयाँ शाखा वा फ्रेन्चाइच खोल्न पाउने सामान्य नियम बनाएको बताउँछन् । यस्तै कतिपय फ्रेन्चाइज आवश्यकताका आधारमा पनि विस्तार भइरहेका उनीहरु सुनाउँछन् ।

डल्ले मःम 

सन् २०११ बाट सञ्चालनमा आएको व्यवसाय हो, डल्ले मःम । सञ्चालनको ४ वर्षसम्म पनि यसले फ्रेन्चाइच विस्तार गरेको थिएन । तर, २०१४ देखि ललितपुरको लबिम मलबाट फ्रेन्चाइचको सुरुवात गरेको यसका सञ्चालक आलोक योञ्जन बताउँछन् । डल्ले मःमका सञ्चालक  हुन्, दिवस–आलोक योञ्जन । उनीहरुले विदेशमा पढे र स्वदेशमा लगानी गरे । आलोकका अनुसार सामान्यतया ५० लाख रुपैयाँ भएमा एउटा फ्रन्चाइच खोल्न सकिन्छ । यद्यपि डल्लेको फ्रेन्चाइच सञ्चालन गर्न भने ३ वटा विकल्पसहित शुल्क लाग्ने उनीहरु बताउँछन् ।

थोरै क्षेत्रमा डल्लेको सानो फ्रेन्चाइच सञ्चालन गर्न १२ लाख, मध्यम स्तरका लागि १४ लाख र सबभन्दा ठूलो सञ्चालन गर्न १८ लाख रुपैयाँ तिरेपछि यसको नामबाट व्यवसाय सञ्चालन गर्न पाइन्छ । यस्तै ३ प्रतिशत रोयल्टीसमेत बुझाउनुपर्छ । 

डल्लेले फ्रेन्चाइचको अनुमति दिँदा स्थानीयलाई प्राथमिकतामा राख्ने गरेको छ । ‘सबै ठाउँको व्यवसायको अवस्था हामीलाई वा नयाँ मान्छेलाई थाहा हुँदैन । त्यसैले स्थानीयलाई दिनु राम्रो हुन्छ’ दिवस भन्छन् । 

ब्रान्ड बनाउन खुलेका व्यवसायले नयाँ आउने व्यवसायीको लगानी नडुबोस् भनेर पूर्वतयारी स्वरुप छलफल र व्यवसाय सञ्चालनबारे विभिन्न जानकारी दिने गरेका छन् । त्यसै मध्येको एक डल्ले मःमले फ्रेन्चाइच खोल्न चाहाने नयाँ व्यवसायीलाई फिजिबिलिटी गराएर मात्रै व्यवसायको अनुमति दिन्छ । 

‘हाम्रो फ्रेन्चाइचको फिजिबिलिटी गर्ने एउटा कम्पनी छ । त्यससँग डल्लेको फ्रेन्चाइच चलाउन मन भएकालाई भेट गराउँछौं र कम्पनीले रिपोर्ट दिन्छ’ योञ्जन भन्छन्, ‘फिजिबिलिटीको रिपोर्ट तयार गर्दा ५० हजारदेखि १ लाखसम्म खर्च हुन्छ । व्यवसाय सुरु गरेपछि मन परेन वा नसकिने भयो भने ५० लाखको लागनी जोखिममा पर्छ । तर, यसरी पहिले नै तयारी गरियो भने लगानी डुब्ने जोखिम रहँदैन ।’ 

शाखा जति विस्तार गर्न सक्यो त्यति व्यवसाय पनि चल्ने सम्भावना रहने उनको भनाइ छ । तर, व्यवसायलाई राम्रोसँग चलाउन र फाइदा लिनका लागि बजारीकरणको पनि त्यति नै आवश्यकता रहने आलोक बताउँछन् । ‘५ वर्ष पहिलासम्म नेपालीले मार्केटिङमा के खर्च गर्ने ? व्यापार–व्यवसाय चलिरहेको छ भन्थे । अहिले मार्केटिङ नै महत्वपूर्ण बनेको छ’ उनले भने, ‘हामीले जाउलाखेल र लबिम मलमा नजिकै खोल्यौं । न्युरोड र डब्लूटीसी पनि नजिकै हो । तर, एक अर्कालाई कसैले हानी पुर्याएको छैन ।’ 

सञ्चालनको १० वर्ष भइसक्दा पनि एउटै स्थानबाट अर्थात् सेन्टर किचेन बनाएर मःम तयार गर्दै आएको छ डल्ले मःम । यसका सबै शाखाबाट एउटै गुणस्तर प्रदान गर्न सेन्टर किचेन सञ्चालन गरिएको सञ्चालक बताउँछन् । 

कम्तीमा १ किमि दूरीमा मात्रै डल्लेको शाखा विस्तार गर्न पाइन्छ । तर, स्थान र मानिसको चहलपहल हेरेर सोभन्दा कम दूरीमा पनि शाखा खोल्न सकिन्छ । यसको फ्रेन्चाइच खोल्नेहरु ३/४ पटक अन्य ब्रान्चमा गएर व्यवसायको अवस्था बुझी नयाँ शाखा खोल्न आउने गरेको योञ्जन बताउँछन् ।  काठमाडौंसँगै पोखरामा गरी हाल ९ वटा फ्रेन्चाइच सञ्चालनमा रहेका छन् । साथै २ सय जनालाई रोजगारी प्रदान पनि गरेको छ । प्रत्येक ब्रान्चमा मूल्य पनि समान छ । तर, उपत्यकाबाहिर भने लागत र बजारको आधारमा मूल्य फरक पर्ने आलोक बताउँछन् ।

द बर्गर हाउस 

२०७२ चैत ३० गतेबाट सुरु भएको बर्गर हाउसका अहिले ८८ वटा आउटलेट छन् । १० वर्षसम्म अरुको होटलमा कुकको काम गरेका वसन्त लामाले सञ्चालनमा ल्याएका हुन्, बर्गर हाउस । उनले २०७२ सालमा शंखमूलमा ७५ लाख लगानीमा पहिलो बर्गर हाउस खोले । हाल बर्गर हाउसका सबै फ्रेन्चाइचको लगानी एक अर्बमाथि रहेको छ । 

एक जनाले सुरु गरेको बर्गर हाउसका सबै फ्रेन्चाइचमा ३ सय जनाले लगानी गरेको बताउँछन् वसन्त । उनले बर्गर हाउस सुरु गर्दा फ्रेन्चाइचबारे सोचेका थिएनन् । ‘सुरुमा ब्रान्ड बनाऊँ र आफू कसरी स्थापित हुने भन्ने थियो । फ्रेन्चाइचको सोच त पछि आएको हो’ उनले भने, ‘फ्रेन्चाइच मैले विस्तार गरेको होइन । अरु नयाँ व्यवसायीले फ्रेन्चाइच विस्तार गर्ने भनेर माग्न आउनुभएको हो ।’ 

उनका अनुसार बजारमा जे कुराको बढी प्रयोग वा खपत हुन्छ त्यसैको फ्रेन्चाइच विस्तार गर्ने र प्रयोग गर्ने क्रम बढ्छ । कोरोना संक्रमणका बीचमा पनि आफ्नो सेवाक्षेत्र विस्तार गर्दै आएको बर्गर हाउस खानाका पारखीमाझ लोकप्रिय बनिसकेको छ । यसलाई विशेषतः स्वदेशमै मात्र विस्तार गर्ने उनको योजना छ । वसन्त भन्छन् ‘अहिलेको सोच बर्गर हाउसलाई विदेशमा विस्तार गर्ने छैन । भारतसम्म विस्तार हुन्छ । तर, पछि के हुन्छ भन्न सकिँदैन ।’

स्वदेशकै लोकप्रिय ब्रान्ड बनेको बर्गर हाउसको फ्रेन्चाइच सञ्चालनका लागि ४ देखि ५ लाखसम्म शुल्क लाग्ने र सरकारी मापदण्डअनुसार रोयल्टी बुझाउनुपर्ने उनको भनाइ छ । काठकाडौं उपत्यकाभित्र १ किलोमिटरको दूरीमा र उपत्यकाबाहिर भने ५/१० किमीको दूरी या आवश्यकताका आधारमा फ्रेन्चाइच खोल्न पाइन्छ । तर, अब फ्रेन्चाइच खोल्न कम गर्दैछ । ‘अब ६/७ वटा फ्रेन्चाइच खुल्ने तयारीमा छन् । त्यसपछि केही समय फ्रेन्चाइच खोल्न बन्दजस्तै गर्न लागेका छौं’ उनले भने । 

नाम हो, बर्गर हाउस । खानामा भने बर्गरदेखि नेपालीले रुचाउने अन्य खानाका प्रकारसमेत पाइन्छन् । त्यसो त रोजगारीका लागि दुबई पनि नगएका होइनन् । तर, महिनाको ५०/६० हजार कमाएर जीवनयापन गर्न नसक्ने लागेपछि उनी नेपाल फर्किएका हुन् । ६ वर्षको अन्तरालमा बर्गर हाउसले २५ सय बढीलाई रोजगारी दिँदै आएको छ । यसका सञ्चालकसँग ६ वटा आउटलेट छन् भने अन्य सबै फ्रेन्चाइच हुन् । बर्गर हाउसका सबै आउटलेटमा खानाको स्वाद फरक–फरक छ । तर, प्रत्येक आउटलेटमा कुक र कर्मचारीलाई तालिम दिएर उस्तै स्वाद दिने प्रयास भने गर्दै आएको छ । 

बोता मःम 

बोता मःमका सञ्चालक निभेन अमात्य हुन् । ७ वर्षअघि महाराजगन्जको बेरी एन्ड डेरी क्याफेबाट व्यवसायमा हात हालेका उनले एनपी ग्रुपअन्तर्गत बोता चेन रेस्टुरेन्ट, बी एन्ड डी क्याफे, बी एन्ड डी बेकरी र मिल्कको आइसक्रिम सञ्चालन गरेपछि बोता सञ्चालन गरेका हुन् ।

एउटै स्वादमा खानेकुरा उपलब्ध गराउन बोताले पनि सेन्ट्रल किचेन सञ्चालन गर्दै आएको छ । बोतामा मःमका ५० बढी भेराइटी पाइन्छ । ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट सञ्चालन गरेको बोताले उपत्यकाका अन्य १० भन्दा बढी स्थानमा फ्रेन्चाइच खोलेको छ ।
खानाका परिकारमा विविधीकरण गरिएको यस चेन रेस्टुरेन्टको मुख्य आकर्षण मःमको स्वाद र बायो डिग्रेडेबल बोता नै हो । बोताले सांस्कृतिक पहिचान दिने र मःमले स्वाद दिने सञ्चालकको भनाइ छ । 

देशभर आफ्नो रेस्टुरेन्ट चेन बनाउने तयारीमा रहेको एनपी ग्रुपले बुटबल, चितवन र पोखरामा नयाँ आउटलेट खोल्ने र फ्रेन्चाइज दिने योजना बनाएको छ ।  बोताको फ्रेन्चाइजीलाई नेपालबाहिर पनि विस्तार गर्दै मल्टिनेसनल चेन रेस्टुरेन्टको रुपमा डेभलप गर्ने बताउँछ । 

बाजेको सेकुवा 

फ्रेन्चाइच विस्तार गरेर सेवा दिने भीडमा अर्को नाम हो, बाजेको सेकुवा कर्नर । सेकुवामा छुट्टै पहिचान बनाएको यसले विगत ४ दशकदेखि सेवा दिँदै आइरहेको छ । २०३५ सालमा काठमाडौंको सिनामंगलस्थित एयरपोर्ट गेटअघि सानो सटरबाट सुरु भएको थियो यसको यात्रा । 
खोटाङबाट झापा हुँदै काठमाडौं आएका दीनानाथ भण्डारीले एयरपोर्टको गेटमा सेकुवा बेच्न सुरु गरेका थिए । हाल उक्त सेकुवाले देशका मुख्य सहरका साथै विदेशमा पनि आफ्नो शाखा विस्तार गरेको छ । त्यस्तै हजारौं व्यक्तिलाई रोजगारी पनि दिएको छ । 

स्यान्को कट्टी रोल 

१९ वर्ष पहिला सडक छेउमा उभिएर खान मिल्ने गरी ठेलामा व्यापार गर्थे स्यान्को कट्टी रोलका सीईओ ज्ञानप्रकाश राई । ५ लाखबाट सुरु गरेको व्यवसायको लगानी अहिले ६५ करोड पुगिसकेको छ । हालसम्म स्यान्कोका ५५ वटा फ्रेन्चाइच विस्तार भइसकेका छन् । यस्तै २ सय जनाले रोजगारीसमेत पाएका छन् । 

खानाका परिकार पस्किँदै र आउटलेट थप्दै आएका उनले आईपीओको सपना पनि देख्न थालेका छन् । 

पछिल्लो समय आउटलेट र फ्रेन्चाइज खोल्दै गरेका व्यवसायले आफ्नै उत्पादनलाई बजारमा पठाउने क्रम पनि बढ्दो छ । त्यसै मध्येको एक हो, स्यान्को । स्थानीय खानेकुराबाट तयार हुने स्यान्कोका लागि व्यवसायीले पनि कृषिकर्म गर्नुपर्ने राईको भनाइ छ । कट्टीरोलका लागि चाहिने, तरकारी, पोल्ट्री, मसलादि कृषिजन्य उत्पादनका लागि कृषि क्लस्टर नै बनाएर एग्री इकोसिस्टममा जाने तयारी उनको छ । यसका लागि उनीलगायत उनका सम्पूर्ण साझेदारको छलफलमा कृषिकर्मका लागि कम्पनीसमेत दर्ता गराएका छन् । 

केकेएफसी 

नेपालमै पहिलोपटक रोबटबाट खानाको अर्डर लिने र खानाका परिकार ग्राहकको टेवलसम्म पु¥याएर आफ्नो सेवा सुरु गरेको थियो केकेएफसीले । हाल केकेएफसी पनि फ्रेन्चाइच मोडलमा गएर पहिचान बनाउँदै छ । 

विगत एक दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रञ्जित साहले सञ्चालन गरेको सो रेष्टुरेन्टले फास्टफुड कुजिनअन्तर्गत क्रिस्पी फ्राइड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकार पस्किँदै आइरहेको छ । साहका ३ दाजुभाइ मिलेर रोबट प्रविधिको प्रयोगलाई रेष्टुराँ क्षेत्रमा ल्याएका हुन् । यसले न्युरोडको पिपुल्स प्लाजाबाट आफ्नो सेवा सुरु गरेको थियो । 

हिमालयन जाभा

फ्रेन्चाइच कल्चरमा थपिने अर्को एउटा नाम हो, हिमालयन जाभा । फ्रेन्चाइच मात्रै होइन नेपालमा व्यवस्थित कफी कल्चर विकास गर्ने जस पनि यसैलाई जान्छ ।  इन्डोनेसियाको विश्वविख्यात जाभा र नेपालको पहिचान झल्किने हिमाल जोडेर सन् १९९९ बाट गगन प्रधानले हिमालयन जाभाको सुरुवात गरेका थिए । 
हिमालयन जाभामा करिब ७० प्रकारको कफी बन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा यसका आउटलेट तथा फ्रेन्चाइच छन् ।

भाटभटेनी 

बिजनेस क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको भाटभटेनीले १८ भन्दा बढी आउटलेटहरु सञ्चालन गरी सकेको छ । टंगालबाट सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकाभित्र बौद्ध, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुलचोक, बालाजु र सातदोबाटोमा छन् । यस्तै उपत्यकाबाहिर धरान, बुटवल, भैरहवा, पोखरा, चितवन, विराटनगर, इटहरी र नेपालगन्जमा सञ्चालनमा छन् । 

वार्षिक अर्बौंको व्यवसाय गर्दै आइरहेको भाटभटेनीले हजारौंलाई रोजगारी पनि दिएको छ । ‘सेभ मनी, सेभ टाइम’ नारासहित नेपालीको ‘सपिङ डेस्टिनेसन’ बनेको छ । पछिल्लो समय इटहरीमा खुलेको भाटभटेनीमा सामान किन्न मात्र नभई घुम्न जानेको संख्या पनि उत्तिकै छ । इटहरीको भाटभटेनीले मात्रै करिब एक हजार जनालाई रोजगारी प्रदान गरेको भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ बताउँछन् । 

चिकन स्टेसन  

४ वर्ष अघि सुरु भएको चिकेन स्टेसनका पनि ४२ वटा फ्रेन्चाइच पुगिसकेका छन् । ४२ वटै सञ्चालनमा भने आइसकेका छैन् । सञ्चालनमा नआएहरुको दर्ता प्रक्रिया सम्पन्न गरेर सञ्चालनको तयारीमा रहेको सञ्चालक निकेश ताम्राकारले बताउँछन् ।

एक्लै चिकेन स्टेसन सुरु गरेका ताम्राकारसँग लकडाउनपछि भने पार्टनरसमेत जोडिएका छन् । ६० लाखबाट सुरु गरेको उक्त व्यवसायको हालको लगानी ४ देखि ५ करोड छ । र, सो रकम फ्रेन्चाइच बाहेकको भएको ताम्राकारको भनाइ छ । ‘चिकेन स्टेसनकै भए पनि फ्रेन्चाइचमा अरु व्यवसायीको लगानी हुन्छ । त्यसैले हामीले हाम्रो नै हो भन्न मिल्दैन । ४÷५ करोड लगानी कम्पनीको मात्रै हो’ उनले भने । 

ललितपुरको झम्सिखेलबाट सुरु भएको चिकेन स्टेसन अहिले काठमाडौं उपत्यकाका अधिकांश चोकदेखि देशका मुख्य सहरमा समेत फैलिएको छ । त्यसमध्ये उपत्यकाभित्र २६ वटा ब्रान्च तथा फ्रेन्चाइच रहेका छन् । 

नयाँ व्यवसायीले चिकेन स्टेसनको फ्रेन्चाइच सञ्चालन गर्न चाहेमा १२ देखि १५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । एक्सप्रेस मोडलका लागि १५ लाख र सामान्य रेष्टुराँ सञ्चालन गर्न चाहेमा १२ लाख लाग्छ । कम्पनीले फ्रेन्चाइच खोल्ने नयाँ व्यवसायीलाई बोर्ड, मेन्युलगायत सामान पनि प्रदान गर्दै आएको छ । 

व्यवसाय सञ्चालकहरु सुरुमा फ्रेन्चाइच मोडलको बारेमा नसोचीकन व्यवसाय सञ्चालन गर्ने गरेको उनी बताउँछन् । ताम्राकार पनि यस्तै एक हुन् । उनकै भाषमा भन्दा ‘अनएक्सपेक्टेड’ रुपमा चिकेन स्टेसनको फ्रेन्चाइच कल्चार विस्तार भएको हो । ‘व्यवसाय राम्रो हुँदै गयो । साथीहरुले शाखा विस्तार गरौं न भन्दा भन्दै ५÷६ वटा भएपछि फ्रेन्चाइच मोडलमा लगेका हौं’ ताम्राकारले सुनाए ।  

चिकेन स्टेसनले काठमाडौं उपत्यकाभित्र कम्तीमा पनि २ किमिको फरकमा मात्रै फ्रेन्चाइची खोल्न दिने नियम बनाएको छ । यद्यपि बजारको अवस्था र क्राउड हेरेर कुनै–कुनै क्षेत्रमा त्योभन्दा कम दूरीमा समेत फ्रेन्चाइच खोल्न दिने कम्पनी बताउँछ । उपत्यकाबाहिर धनगढीमा २ वटा छन् भने अन्य ठाउँमा ‘एक सहर एक चिकेन स्टेसन’ सञ्चालन हुँदै आएको छ । 

यस्तै कम्पनीको फ्रेन्चाइच सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक डेढ लाख रुपैयाँ रोयल्टी बुझाउनुपर्ने हुन्छ । रोयल्टी लिएबापत कम्पनीले व्यवसायीलाई पनि विभिन्न सेवा सुविधा दिने गरेको छ ।

साथी मार्ट 

२०७७ भदौदेखि सञ्चालनमा आएको साथी मार्टले पनि आफ्ना शाखा र फ्रेन्चाइच विस्तार गर्दै आइरहेको छ । सञ्चालनको करिब डेढ वर्षमा साथी मार्टका ८७ वटा आउटलेट खुलिसकेका छन् । यस्तै यो वर्ष थप २०० र ४ वर्षमा एक हजार आउटलेट खोल्ने योजना साथी मार्टको छ । 
छोटो समयमा पनि धेरै आउटलेट खोलेको साथी मार्टको उद्देश्य देशैभरि सेवा दिने साथी मार्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोखरेल बताउँछन् । व्यवसाय सञ्चालनमा चुनौती रहे पनि ग्राहकको प्रतिक्रिया सकरात्मक भएकाले अघि बढ्न हौसला मिलेको उनले बताए । गत वर्षको तुलनामा चालू वषर्मा व्यवसाय २०० प्रतिशतले वृद्धि भएको पोखरेल बताउँछन् ।

साथी मार्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र ४० देखि ५० हजार युवालाई स्वरोजगार बनाउने उद्देश्य लिएको छ । साथै साथीले खानेकुरा तथा साबुनहरु आफैंले उत्पादन गर्छ । मार्टले खुद्रा, होलसेल र अनलाईमार्फत पनि सामान बिक्री–वितरण गर्दै आएको छ । 

स्थापनाकालमै फ्रेन्चाइच खोल्ने सोच बनाएको र सोहीअनुसार अघि बढेको पोखरेल बताउँछन् । तर, नयाँ व्यवसायीले यसको फ्रेन्चाइच सञ्चालन गर्न कुनै शुल्क वा रोयल्टी बुझाउनु पर्दैन । ३÷४ सय वटा आउटलेट सञ्चालन गर्दासम्म नयाँ व्यवसायीलाई प्रोत्साहन गर्न शुल्क वा रोयल्टी नलिने मार्टको योजना छ ।

कम्पनीले नयाँ व्यवसायीलाई मार्टको डिजाइनदेखि आवश्यक तालिमसमेत दिन्छ । ‘नयाँ व्यवसायीले ठाउँको मात्रै छनोट गर्नुभयो भने अरु सहयोग हामी गर्छौं’ सीईओ पोखरेल भन्छन् । 

११ करोडबाट मार्ट सुरु गरेका पोखरेल साथी मार्टलाई पब्लिक कम्पनी अर्थात् आईपीओमा लैजाने योजना बनाउँदैछन् । ‘चालू आर्थिक वर्षको अन्त्य वा अर्को आर्थिक वर्षसम्ममा चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य लिएका छौं’ उनी भन्छन्, ‘हामीले १५ करोडको आन्तरिक सेयर पनि जारी गरिसकेका छौं ।’ 

-क्यापिटल म्यागेजिनबाट ।

मङ्गलबार २० पुस २०७८ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया