काठमाडौं। नर्सरी व्यवसायी संघको आयोजनामा पुष्प, फलफूल, कृषिवन तथा जडीबुटी नर्सरी व्यवसायका उत्पादनको बृहत् प्रदर्शनी ‘प्रथम तिहार फ्लोरा एक्सपो २०८२’ आजदेखि सुरु भएको छ।
मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले वास्तविक किसान तथा साना किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले अनुदान दिएर मात्र होइन बजारको सुनिश्चितता पनि महत्वपूर्ण पाटो रहेको प्रतिक्रिया दिए।
‘आन्तरिक प्रर्वद्धन र राष्ट्रिय सुरक्षा हाम्रो प्राथमिकता हो। अब बन्ने नीति किसानमैत्री हुनुपर्छ। साना किसानलाई हौसला बढाउनुपर्ने, जोखिम न्यूनीकरण गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो’, सचिव शर्माले भने।
नर्सरी व्यवसायी संघ नेपालका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले यस मेलाले नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन–अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि मेला बृहत् साझा मञ्च हुने विश्वास लिएको बताइन्।
पाँचदिने मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएका छन्। साथै मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउ बिजन, औजार उपकरण तथा प्रविधिको समेत कक्ष रहनेछ। मेलामा विभिन्न किसिमका ७० कक्ष रहनेछन्। मेलामा कम्तीमा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा ७० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।