×

राष्ट्र बैंकको निर्देशनकाे धज्जी उडाउँदै कामना सेवा बैंक, संस्थापक काफ्लेलाई सर्वसाधारणबाट सञ्चालक 

images

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेको पाइएको छ । 

अध्यक्ष आचार्य र सीईओ बस्नेतले एकीकृत निर्देशन २०७८ बुँदा नं. ६ को उपबुँदा (१५) मा भएको व्यवस्थालाई लत्याउँदै संस्थापकतर्फका लगानीकर्ता देवकृष्ण काफ्लेलाई सर्वसाधारणतर्फबाट सञ्चालक बनाइएको खुलेको हो । 

अध्यक्ष र सीईओलाई अनुकूल बनाउन उनीहरुले राष्ट्र बैंकको व्यवस्था लत्याएका हुन् । निर्देशनको उपबुँदा १५ मा ‘संस्थापक÷संस्थापक समूहको सेयर धारण गरेका सेयरधनीले संस्थापक समूहबाहेक अन्य समूहबाट सञ्चालकमा उम्मेदवारी दिन पाउने छैनन्’, भनिएको छ । 

स्रोतका अनुसार काफ्ले कामना बैंकका संस्थापक सेयरधनी हुन् । आफूअनुकूल काम गराउन सहज हुने भएपछि अध्यक्ष आचार्य र सीईओ बस्नेतको जोडबलमा काफ्ले सर्वसाधारणतर्फबाट सञ्चालक बनेका हुन् । 

दुई व्यक्तिले बैंकमा गैरकानुनी रूपमा कार्य गर्न थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको छ । अनलाइनमार्फत दर्ता उजुरी आएको र आवश्यक कारबाही गर्न वित्तीय संस्था सुपरिवेक्षण विभागमा सेवा विकास बैंकको उजुरीलाई पठाइएको केन्द्रीय बैंकले जनाएको छ ।

एकीकृत निर्देशनको बुँदा ६ को उपबुँदा १५ अनुसार संस्थापक सेयरधनी साधारण सेयरधनीका तर्फबाट सञ्चालन बन्न नपाइने प्रष्ट व्यवस्था छ । यदि त्यसरी सञ्चालक बनाइरहेको रहेछ भने बैंकलाई कानुनी कारबाही हुने केन्द्रीय बैंकले जनाएको छ । 

कामनाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले यस बारेमा आफूलाई केही पनि जानकारी नभएको बताए । ‘निर्वाचन अधिकृतको रोहबरमा सञ्चालक बन्ने व्यवस्था भएकाले कार्यकारी प्रमुखलाई यस बारेमा केही थाहा छैन’, बस्नेतले क्यापिटल नेपालसँग भने । 

त्यसबाहेक बैंकमा महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको, आन्तरिक परीक्षमा फेल भएका सुरेश उप्रेतीलाई पास गराइएको, आफूलाई मन पर्ने कर्मचारीलाई कार्यसम्पादनमा कमजोर भए पनि बढुवा गरिएको, कौडीको मोल भएको जग्गा धितो राखेर करोडौं रुपैयाँ ऋण प्रवाह गरेको लगायत विषय उल्लेख गरेर केन्द्रीय बैंकमा उजुरी परेको छ । 

एकीकृत निर्देशनविपरीत कार्य गर्नेबाहेक अन्य कैयौं विकृतिका बारेमा क्यापिटल नेपालले सीईओ बस्नेतलाई सोध्दा कुनै पनि कुरा आफूसमक्ष नआइपुगेको बताए ।
  
 

मङ्गलबार २७ बैशाख २०७९ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया