आइतबार​, असोज १० २०७८ १०:३४ PM

×

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी अगाडि बढाउन सकिन्छः अध्यक्ष दाहाल

images


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसीसी)लाई अगाडि बढाउन सकिने बताए ।

एमसीसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसीसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उनको निवास खुमलटार पुगेकी छन् ।

अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताए उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। “नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसीसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौं”, अध्यक्ष दाहालले भने ।

आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उनकाे भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तरक्रिया गर्न आफू नेपाल आएको बताए। उनले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरे ।

आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताए। उनले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको जनाइएको छ ।

सो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गरेकी छन् । बिहीबार नेपाल आउनुभएका उपाध्यक्ष फतिमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसक्नुभएको छ । एमसीसीका बारेमा परस्परविरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ फतिमा नेपाल आएकी हुन् ।

शुक्रबार​ २५ भदौ २०७८ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया