मङ्गलबार, कात्तिक २ २०७८ ०४:२६ AM

×

स्टार्टअपलाई प्रवर्द्धन गर्न एन्जल इन्भेस्टमेन्टको संस्कृति बसाल्दैछौं (अन्तर्वार्ता)

images

विभिन्न गैरसरकारी संस्था तथा कम्पनीहरूमा प्रमुखको भूमिकामा गर्दै आएका आशुतोष तिवारी एक अनुभवी र सफल व्यवस्थापक हुन् । हाल उनी सफल पार्टनर कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । उनले सो कम्पनी २०१७ अगस्टमा सफलको स्थापना गरेका हुन् । सफल पार्टनरले आफ्नो स्थापना कालदेखि विभिन्न स्टार्टअप कम्पनीहरूमा एन्जल इन्भेस्टमेन्ट तथा मेन्टरसिप र रणनीतिक व्यवस्था निर्माणमा सहयोग पुर्याउँदै आइरहेको छ । विश्वव्यापी रूपमा बढिरहेको स्टार्टअप कल्चरसँगै लगानीको अभावले समस्याग्रस्त रहेको यस क्षेत्रका विविध पक्षमा सीईओ तिवारीसँग क्यापिटल नेपालका लागि युजु खालिङले गरेको कुराकानी ।  

सफल पार्टनरले स्टार्टअप र लगानीको क्षेत्रमा के कसरी काम गरिरहेको छ ?

हामीले सफल पार्टनर २०१७ अगस्टमा सुरु गरेको हो । २०१७ मा आमनिर्वाचन सम्पन्न भई एउटा पार्टीले पाँच वर्षको ‘म्यानडेड’ लिएर सत्तामा आइसकेको थियो । तब देशमा स्थिरता आयो र अब चाहिँ उद्यमशिलताका लागि उपयुक्त समय छ हो भन्ने मलाई लाग्यो र म आफैंले यो कम्पनी सुरु गरे । सफल पार्टनर हामीले हाम्रो आफ्नै पैसा लगानी गरेर सुरु गरेको होइन । हामीले अरूको पैसा कसरी सदुपयोग गर्ने भनेर अरूबाट पैसा उठाएर सफल पार्टनर सुरु गरेको हो । हामीले लगानीकर्ताहरूसँग तपाईंहरूको पैसा तीन वर्षमा ब्याजसहित भुक्तान गरिदिन्छौं भनेर सुरु गरेको थियौं र त्यो भुक्तान पनि गर्यौं । 

मुख्यतयाः अहिले हामीले तीन भर्टिकलमा काम गरिरहेका छौं । हाम्रो मुख्य काम भनेको कम्पनीलाई  सर्वपक्षीय वृत्ति विकासमा सिकाउने र सहयोग गर्ने हो । चाहे त्यो वित्तीय होस् वा मानव संसाधन वा रणनीति, नेतृत्व, नयाँ बजारमा कसरी जाने, बिक्री कसरी बढाउने, कुनै उत्पादनको बिक्री घटेको छ भने त्यसलाई ‘रिवायर गरेर टर्न अन’ गर्ने कम्पनीको सञ्चालन, कर्मचारी प्रशिक्षण सबैमा हामी विज्ञ परामर्शदाताको रुपमा काम गर्छौं । हामी आफूलाई एक किसिमले ‘बिजनेस इम्प्रुभमेन्ट सर्भिस’ भन्न रुचाउँछौं । 

आफूलाई स्थापित गर्न सक्षम भएकै कारण अहिले ‘प्रोडक्ट मेनुफेक्चर,’ सर्भिस तथा आईटी कम्पनीहरूले हाम्रो सेवा लिने पनि गरेका छन् । सबैलाई प्रशिक्षण दिने भएकाले त्यसलाई हामी बिजनेस इम्प्रुभमेन्ट सर्भिस भन्छौं । 

अर्को भनेको अहिले हामी ठूलो ‘फन्ड इस्टाब्लिज’ गर्न चाहिरहेका छौं । तर, हामीले ठूला–ठूला फन्ड ल्याएनौं किनभने ठूला फन्डहरू ‘डिप्लोय’ गर्न पनि अप्ठ्यारो हुन्छ । यसैले हामीले ‘एन्जल फन्ड’ सुरु गरेका छौं । यसअन्तर्गत हामीले १० देखि १२ लाख रूपैयाँ चाहिने साना व्यवसायमा लगानी गर्छौं । तीनमा लगानीलाई दुई वर्ष होल्ड गर्छौं तबसम्म उनीहरूलाई सल्लाह परामर्श दिएर औपचारिक सिस्टममा लिएर जान्छौं । तब उनीहरूको आइडियाले वृत्ति विकास हासिल गर्यो भने हाम्रो आइडिया पनि प्रमाणित हुन्छ । यसरी त्यहीँ अनुभवको आधारमा कोष खडा गरी लगानीतिर जाने हाम्रो लक्ष्य छ ।

अर्को भनेको हामीसँग ठूला–ठूला दाताहरू छन् जो अहिले निजी क्षेत्रसँग मिलेर काम गर्न खोजिरहेका छन् । निजी क्षेत्रसँग मिलेर लगानी र रोजगारी कसरी बढाउने भनेर काम गरिरहेका छन् । त्यस्तै दाताहरूसँग मिलेर अहिले हामी कर्णाली क्षेत्रहरूमा सुदूरपश्चिममा डोल्मा इम्प्याक्ट फन्ड र विराट कन्सल्टिङसँग मिलेर त्यहाँ फाउण्डेसन र फन्ड ल्याउने भनेर उद्यमशिलताको काम गरिरहेका छौं । केही अघि समयसम्म यूएसआईडीको फन्ड थियो त्यो अहिले सकिएको छ  । अहिले हामी आफैंले ‘प्राइभेट डोनर फन्डहरू’ ल्याइरहेका छौं ।  अब हामी प्राइभेटबाट गर्ने भनेर लागिरहेका छौं । यी सबै हाम्रा व्यावसायिक मोडल नै हुन् । 

अहिले हामी ठूलो ‘फन्ड इस्टाब्लिज’ गर्न चाहिरहेका छौं । तर, हामीले ठूला–ठूला फन्ड ल्याएनौं किनभने ठूला फन्डहरू ‘डिप्लोय’ गर्न पनि अप्ठ्यारो हुन्छ । यसैले हामीले ‘एन्जल फन्ड’ सुरु गरेका छौं । यसअन्तर्गत हामीले १० देखि १२ लाख रूपैयाँ चाहिने साना व्यवसायमा लगानी गर्छौं । तीनमा लगानीलाई दुई वर्ष होल्ड गर्छौं तबसम्म उनीहरूलाई सल्लाह परामर्श दिएर औपचारिक सिस्टममा लिएर जान्छौं ।

कम्पनीमा लगानीका लागि फन्ड कसरी जुटाउनु हुन्छ ?

यसका लागि हामी व्यक्तिगत रूपमा फन्ड संकलन गर्छौं । १, २ लाख होस् वा १० देखि १२ लाख, राम्रो व्यवसायहरूमा हामी लगानीकर्ताहरुको पैसा लगानी गरिदिन्छौं । तर, हामी सुरुमै तपाईंले लगानी गरेको पैसा डुब्न पनि सक्छ यदि यो डुब्दैमा तपाईं पूरै सडकमा आउनुहुन्छ भने पैसा लगानी नगर्नुहोस् भनी सुरुमै भन्ने गर्छौं । यो पैसा उद्यमीहरूलाई सहयोग गर्ने हेतुले उच्च जोखिममा लगानी गर्ने पैसा हो । जोखिम उठाउनु सक्नुहुँदैन भने जग्गा जमिनमा लगानी गर्नुहोस् भनेर हामी भन्छौं । यो चाँडै धनी हुने लगानी होइन । किनभने उद्यमीहरूले धेरै मेहेनत र समय लगानी गर्नुपर्ने हुँदा यसमा धैर्यताको खाँचो पर्छ र सबैलाई यसमा रुचि पनि हुँदैन । यो हिसाबले हामीले लगानीकर्तालाई पनि सबै कुरा सिकाएका हुन्छौं र सिकाउनुपर्छ । 

लगानीकर्तालाई कसरी फण्ड प्रदान गरिन्छ ? 

सुरुमै इक्विटी लियो भने अप्ठ्यारो हुने रहेछ यसैले हामी सुरुमा दुई वर्ष पर्खन्छौं । त्यसैअनुसार उसको लगानीको मूल्याँकन गरी स्वपुँजी प्रदान गर्छौं । सुरुमा २० प्रतिशत जति पार गर्छौं नेपालको हकमा पनि त्यो भार पनि हामीले नै बेहोर्नुपर्छ । सुरुमा हामी लगानीकर्ता र उद्यमीहरूबीच छलफल चलाएर फन्डलाई ‘एन्डमिन्सिट्रेड’ गर्छौं । 

हालसम्म  कतिवटा कम्पनीहरुमा लगानी गरिसक्नु भएको छ ?

हामीले हालसम्म तीनवटा कम्पनीमा लगानी गरेका छौं । ओरेन्ज बल, कवच र एडबाइट कोपिलामा लगानी गर्यौं । पहिलो दुई वर्षमा राम्रो वृद्धि हासिल गरी कम्पनीले हामीले लिएको सेयर आफंैले खरिद गर्न लागेको छ । एडबाइट कोपिला अब फण्डिङको दोस्रो चरणको खोजीमा छ । कवच पनि बजारमा आयो अब उसलाई थप फन्ड आवश्यक छ कारखानाहरू उसले सेटअप गर्नुपर्छ । यसरी हामी कम्पनीलाई प्राथमिक तहमा हुर्काएर त्यसभन्दा माथिल्लो चरणका लागि तयार गर्छौं । 

कम्पनीलाई फन्डिङ केको आधारमा गर्नुहुन्छ ?

लगानी गर्नुअघि हामी सोच, उृत्पादन, टिम, ग्राहक र बजारको आकार हेर्छौं । उत्पादन वा सोचको बजार आकार के छ, टिम कतिको हुनसक्छ, कस्टमर छन् कि छैनन् भन्ने सबै कुरा हेर्छौं । यी कुरा पूरा गरेका आइडिया मात्र हाम्रो लगानीको क्राइटेरियाभित्र पर्छ । भर्खरै इन्क्युबेसन पिरियडमा मात्र छ भने त हामी गर्दैनौं । हामीकहाँ आइपुग्दा इन्क्युबेट भइसकेका हुनुपर्छ । 

नेपालमा बाहिरको अन्तर्राष्ट्रिय अभ्यासमा जस्तो सिड, एन्जल भनेर छुट्याएको लगानी गरिने चलन छैन । व्यावहारिक रूपमा भन्नु पर्दा १ करोड रूपैयाँसम्म सिड र एन्जल भन्छौं । त्योभन्दा माथिको लगानीलाई अर्कै भनिन्छ । हुन सक्ला केही वर्षपछि २ करोड रूपैयाँसम्मकालाई पनि सिड एन्जल भनिएला । तर, बाहिरको जस्तै यहाँ जुन किसिमको सिड, एन्जलको फरकपनाको कुरा गरिन्छ, त्यो यहाँ अभ्यासमा छैन ।

त्यसलाई यहाँ ल्याउन पनि अहिले सकिन्न यसका लागि हाम्रो बजार पनि राम्रोसँग विकास भइसकेको छैन । जस्तो डोल्माले उपाय सिटीमा लगानी गरेको छ । उपाय सिटी त दुई वर्षको मात्र भयो । किन उसले उपायमै गर्यो भन्दा त्यतिको समयको राम्रो रेकर्ड राखेका बजारमा अन्य कम्पनी नै छैनन् । यसले गर्दा यहाँको बजारमा बाहिरको जस्तो सिड र एन्जलको फरकपनालाई ल्याएर कपिपेस्ट गर्न त्यस किसिमको धरातल नै छैन ।

सिड भने पनि एन्जल भने पनि यहाँ एउटै हो । यसमा एक एकजना व्यक्तिको थोरैथोरै पैसा संकलन गरी लगानी गरिन्छ । 
हामीले अब अहिले पैसा चाहिरहेका साना–साना कम्पनीहरूलाई उनीहरूको आइडिया, बजार, टिम र ग्राह हेरेर लगानी गरिरहेका हुन्छौं । जोखिम पनि धेरै हुन्छ । तर, ती सबैलाई ‘क्यालिब्रेट’ बाट लगानी गर्ने हुँदा अहिलेका लागि यसलाई एन्जल नै भन्न रुचाउँछौं । 

सफल पार्टनरलाई नेपालको पहिलो एन्जल इन्भेस्टमेन्ट कम्पनी भन्न मिल्छ ?

एन्जल इन्भेस्टमेन्टको हकमा संस्थागत संरचनामा लागेर लगानी जुटाएर वितरण गरिरहेकोे हामी पहिलो कम्पनी हो । नेपालमा एन्जल इन्भेस्टमेन्ट त्यसरी लगानी गर्ने भनेर यसरी व्यवस्थित रूपमा भएको थिएन । यसअघि आफन्त, साथीभाइबाट अनौपचारिक रूपमा पैसा मागेर लगानी गर्ने चलन थियो । तर, हामीले सबै कुरा पारदर्शी बनायौं । बोर्ड तथा सञ्चालक समिति बनायौं जसले उद्यमीहरूसँग हरेक तीन–तीन महिनामा भेट गर्छन् । ‘पेपरवर्क जेनेरेट’ भएको छ । 

हामी यसलाई जीएसएमएन भन्छौं । अर्थात् गर्भनेन्स, सिस्टम, मेन्टेनेन्स, नेटवर्क हो । सफलले यसमा मूल्य अभिवृद्धि (भ्याल्यु एड) गरेको छ । हाम्रो सिद्धान्तमा २० लाख रुपैयाँ लगानी गरेको कम्पनी दुई/तीन वर्षमा ८० लाखदेखि १ करोड रूपैयाँसम्म बन्छ । त्यो भई पनि राखेको छ । 
हाम्रो आशा भनेको सरकार, नेपाल धितोपत्र बोर्ड (सेबोन) को अघि गएर यो मोडलले काम गर्न सक्छौं ।

हामी अनुभवी भइसकेका छौं भनेर यसलाई नियमन गर्ने नीति बनाउन लगाउनु हो । एकैपटक अवधारणामा मात्र आयो भने आइडियामा त काम गर्ला तर अभ्यासमा गाह्रो हुन्छ । 

एन्जल लगानीमा नीति छैन । हामीले हालसम्म आफैंसँग गरी चारवटा कम्पनीमा लगानी गरी फिर्ता गरिसकेका छौं । तर, ४० वटा कम्पनीलाई लगानी गर्ने हो भने हामी धान्न सक्दैनौं । ४० वटा गर्नुपर्यो भने हामीलाई नियम कानुन चाहिन्छ । एक दुइवटालाई त हाम्रो फण्डले धान्न सक्छ । हामी जस्ता अरू १० वटा कम्पनी आओस् न ताकी सबैले ४० वटालाई लगानी गर्दा ४०० कम्पनीलाई एन्जल इन्भेस्टमेन्ट दिन पाइयोस् न । यसरी चढ्नका लागि हामी भर्याङ बनाउँदैछौं, चार खुड्किलो टेकियो ।  

एन्जल लगानीमा नीति छैन । हामीले हालसम्म आफैंसँग गरी चारवटा कम्पनीमा लगानी गरी फिर्ता गरिसकेका छौं । तर, ४० वटा कम्पनीलाई लगानी गर्ने हो भने हामी धान्न सक्दैनौं । ४० वटा गर्नुपर्यो भने हामीलाई नियम कानुन चाहिन्छ । एक दुइवटालाई त हाम्रो फण्डले धान्न सक्छ । हामी जस्ता अरू १० वटा कम्पनी आओस् न ताकी सबैले ४० वटालाई लगानी गर्दा ४०० कम्पनीलाई एन्जल इन्भेस्टमेन्ट दिन पाइयोस् न । यसरी चढ्नका लागि हामी भर्याङ बनाउँदैछौं, चार खुड्किलो टेकियो ।  

जोखिमले भरिएको यो क्षेत्रमा लगानी किन गर्नु भएको हो ?

भेन्चर क्यापिटल लगानी गर्न कम्तीमा १ देखि २ करोड  डलर चाहिन्छ । त्यति ठूलो कोष नभएसम्म भेन्चर लगानी गर्न सकिँदैन । पहिलो कुरा हामी यति ठूलो रकम उठाउन नसक्ने भएकाले सानैबाट सुरु गरेका हौं । कतिले हामीलाई एन्जल इन्भेस्टमेन्टबाट पैसा कमाए भनेर भन्लान् । यसबाट हामीले पैसा कमाएको पनि छैन । योचाहिँ हाम्रो ‘प्रुफ अफ कन्सेप्ट’ हो । यो हाम्रो परीक्षण हो । यसले काम पनि गर्यो अब हामी विस्तारी ‘स्केलअप’ गर्दै जान्छौं । त्यसका लागि नीतिको आवश्यक छ । 

हालसम्म लगानी गरेका ४ कम्पनीको प्रगतिको अवस्था के छ ? 

पहिलो कुरा त हामी आफैं पनि लगानीमा आधारित कम्पनी थियौं । हामीले तीन वर्षमा ब्याजसहित सबै पैसा भुक्तान गर्न सक्षम भयौं । हाम्रो आइडिया प्रमाणित भयो । अहिलेका कम्पनीहरूमा १६ जना एन्जलहरूले लगानी गरेका थिए । उनीहरू सबैले प्रतिफल पाइसके । ओरेन्ज बल पनि अब यो लगानीबाट बाहिरिदै छ । उसले चाँडै अर्को चरणको ठूलो लगानी खोज्ने क्रममा छ । लगानीको प्रतिफल दिँदै सबै अर्को ‘पोइन्टको फन्ड’ खोजिरहेका छन् ।

कवचमा हामीले २२ देखि २३ लाख रूपैयाँ लगानी गरेका छौं । अब उनीहरू पनि थप लगानीको खोजीमा छन् । अहिले उनीहरूसँग हिसाब किताबदेखि सबै सिस्टम तयार भइसकेका छन् । अब त फन्डका प्रस्ताव गर्दासमेत एउटा पक्का बिजनेस मोडल बनिसकेको छ जुन पहिले थिएन । केही समय अघिसम्म उनीहरू अनौपचारिक व्यवसाय जस्ता थिए अहिले प्रोफेसनल देखिन थाले । यसको अर्थ अब उनीहरूलाई हामीभन्दा ठूला फण्डिङ कम्पनीहरूले पत्याउने भए । एन्जलको काम भनेकै यहीँ हो । केजी र नर्सरी क्लासमा राम्रो गराइ एक कक्षामा पुर्याउने तयारी गराउने हाम्रो काम हो । 

ती असफल पनि हुन सक्थे होला । तर, वृद्धि हासिल गर्दै गइरहेका छन् । यो एक किसिमको प्रयोग पनि थियो । हामी कहिलेसम्म ४ वटामा लगानी गर्ने ४० वटामा गरौं न । त्यसका लागि सरकारले नीति तथा कानुन निर्माण गरोस् ताकी चिन्दै नचिनेको मान्छेले पनि म यो प्लेटफर्ममा आएर लगानी गर्छु भन्दा पत्याउने अवस्था आओस ।

तर, अहिले हामी त्यो लेभलमा जान सक्दैनौं । चारवटा असफल भए त हामी जोखिम व्यहोर्न सक्छौं । ४० वटाको हकमा त त्यो सकिन्न । यसैले यसमा बिमा कसरी राख्ने, जोखिमको कसरी व्यवस्थापन गर्ने, सुशासन कसरी कायम राख्ने  यी सबैमा नीतिको आवश्यक छ जसका लागि हामी ‘फूल प्रुफ कन्सेप्ट’ तयारी गरेर लबिङमा जाने छौं । 

देशको एउटा कुनामा बसेर अर्को कुनामा ढुक्क साथ लगानी गर्न सक्नुपर्यो । अहिले त यसका लागि सुनिश्चित हुने किसिमका संयन्त्र छैनन् । त्यो गर्नलाई हामीले देशभर लगानीको पाइपलाइन विस्तार गर्न पर्यो । ताकी आफ्नो लगानी डुब्यो भने पनि किन डुब्यो भनेर मलाई पहिले नै थाहा हुन सक्छ । यसो हुँदा हामीलाई गर्भनेन्स, मेन्टेनेन्सदेखि सिस्टम सबै कुरा थाहा हुन्छ । 

रेमिट्यान्सको १० प्रतिशत मात्र लगानी गर्न सके पनि कति धेरै व्यवसाय माथि उठ्न सक्ने थिए । तर, त्यो पैसालाई यता ल्याउन विश्वासिलो आधार कसैलाई थाहा नै छैन । सफलले हामी विश्वासिलो छौं भनेर चारजनालाई लिन सक्यो । तर, ४० जनालाई आफ्नै बलबुतामा सकेन किनभने हाम्रो त्यो धरातल नै छैन । यसैले नियमनको आवश्यक छ । हामीले काम गरी अनुभव बटुलिसकेको हुनाले अब चाहिँ हामीलाई सरकारकहाँ पुगी नीति निर्माणका लागि सजिलै लबिङ गर्ने आधार पनि छन् । 

नेपालीहरूकै थोरै ५, १० लाख रूपैयाँ पैसा यसमा घुमाउन सकियो भने कसैको व्यवसाय माथि उठ्छ । नीति नियम बनेको खण्डमा डुब्यो भने पनि जायज कारण हुन्छन् । जोखिम पनि व्यवस्थापन हुन्छ । त्यहाँसम्म पुग्न अझै लामो बाटो हिँड्नु छ । 

लगानीकर्ताहरू कतिको जोखिम बेहोर्ने र व्यवसायीहरू कतिको कन्फिडेन्ट देख्नुहुन्छ ?

लगानीकर्ता धेरै थरीका हुन्छन् । कतिलाई रातारात प्रतिफल चाहिन्छ । तीनका लागि यो लगानी उचित हुँदैन । यसमा प्रतिफल पाउँन ६, ७ वर्ष जति लाग्छ । तपाईंहरू कुरेर सहयोग गर्नुहुन्छ भने ठीक छ नत्र यो बाटो नै नहिँड्नुहोस् भन्छौं । तपाईंसँग २ लाख वा १० लाख रूपैयाँसम्म पैसा छ र बेकरी, रेस्टुराँतिर लगानी गरौं न त हेरौं के हुन्छ डुबे डुब्छ भन्ने किसिमको ‘प्ले मनी’ छ भने उपयुक्त हुन्छ ।

तर, यसमा तपाईंलाई हामी सबै कागजपत्र दिन्छौं । यसरी यो घरजग्गा र सेयर बजार कारोबार जस्तो होइन भनेर हामीले लगानीकर्ताहरूलाई पनि सिकाउनु पर्ने हुन्छ । यसमा उद्यमीहरूसँग घोटिएर उनीहरूलाई फलाउन बढाउन काम गर्नैपर्छ । त्यो विभिन्न वैठकहरुमा हामीले लगानीकर्ताहरूलाई बुझाउँछौं । पहिलो सय जना भएकोमा पछि घटेर ७ जना पुगिरहेका हुन्छन् । ७ जना घटेर ५ जनाले काम गरिरहेका हुन्छन् । 

यसैगरी उद्यमीहरूचाहिँ दुई किसिमका छन् । एउटा पाटोमा अब थोरै १ प्रतिशत उद्यमीहरूचाहिँ परिपक्क भइसकेका छन् । लगानी चाहिन्छ, पैसा राम्रो तरिकाले सदुपयोग गर्नुपर्छ भनी जानेका हुन्छन् जो नगन्य मात्रामा छन् । 

 यो मैले सुरु गरेको मेरो व्यवसाय हो, मेरो सतप्रतिशत हुनैपर्छ भन्ने खालका पनि छन् । जान्ने आए भने मेरो भूमिकालाई दबाइ दिन्छन् यसैले पैसाचाहिँ लेउ अरू चाहिँ नगर भन्ने खालका पनि छन् । अमेजनमा जेफ बेजोसको लगानी अहिले ११ प्रतिशतको हाराहारीमा छ । यसको अर्थ ८९ प्रतिशत अरूले नै खाइरहेका छन् । यहाँको मान्छेले राम्रो लगानीकर्तालाई धेरै हिस्सा दिँदा केही बिग्रँदैन भन्ने कुरा बुझ्दैनन् । ५ लाखको व्यवसाय ५ करोड रूपैयाँ भयो भने त सबैका लागि फाइदा हो नी ! यहाँ मैले सुरु गरेको मैले हुर्काएको भन्ने भावना छ । 

राम्रो लगानीकर्ता छ भने मिलेर काम गर्न सकिन्छ भन्ने भावना विकास हुनु पर्यो । अर्को डराउने बानी छ । राम्रो लगायो राम्रो अंग्रेजी बोल्यो भने यसले सबै खाइदिन्छ भन्ने भय छ । वार्ता गरेर केही जानौं, औपचारिक रूपमा हस्ताक्षर नभएसम्म केही पनि बिग्रन्न भने बुझाइ पनि छैन । हामीलाई खाइदिन्छ भन्ने मनोभाव छ । आफैंमा ‘कन्फिडेन्स’ छैन । 

अर्को कुरा लगानीकर्तालाई मिडियाले पनि बिगार्दो रहेछ । मिडियाले कहाँको मान्छेलाई कहाँ ल्याएर राखिदिने गरेको छ । जसले  गर्दा मान्छेले यसलाई सहज ठानिरहेका छन् । साग बेचेर पनि मान्छे लखपति भनी मख्ख परिरहेका छन् । दुई चारवटा कभरेज भइसकेपछि कलेजहरूमा ‘मोटिफेसन स्पिचका’ लागि बोलाइदिन्छन् त्यसपछि त ओहो म २२ वर्षको मान्छे के–के न भए भन्ने घमण्ड विकास हुन्छ । उनीहरूको आत्मरति बढ्न थालेपछि अल्छिपना सुरु हुन्छ । यो धेरैमा देखा पर्यो । 

भारतमा यो गाह्रो छ । हैदरावादमा केही गरे दिल्लीमा कुनै वास्ता हुँदैन, तर यहाँचाहिँ ज्ञानेश्वर, त्रिपुरेश्वर, कोटेश्वरमा यो त्रिकोणभित्र जो गर्नुभयो त्यो राष्ट्रिय स्तरमा छाउँछ । यो त्रिकोणभित्र जे बनायो त्यो चर्चित हुन्छ । यो बरमुडा ट्रयांगल हो यसमा छिरेपछि सबै उभो लाग्ने उधो लाग्न थाल्छन् । यस्तो धेरै उद्यमी मैले देखेको छु । बजारमा फोकस गर भनेर भने उसलाई अल्छी लाग्छ । 

अर्को कुरा भनेको महत्वकांक्षा पुगेन । पठाओ बंगलादेशबाट यहाँ आयो । तर, यहाँको हामी किन भारत तथा बंगलादेश जान सोच्न सक्दैनौं । काठमाडौंबाट बाहिर जान पनि सोच्न सक्दैनौं । बल्ल बल्ल अलि–अलि बाहिर जान थाल्दैछौं । तर, त्यो स्पेस नेपालमा पनि छ भन्नेसम्म सोच्न सक्दैनौं । यहीँ त्रिकोणमा बसिरहेका छन् । 

महत्वकांक्षा बढाउनुपर्छ । यो बढाउन राम्रा मान्छेलाई बीउपुँजी दिन पर्यो । त्यो दिन हामी सक्दैनौं । हामीलाई सल्लाह देउ हामीसँग काम गर्न आउ भन्ने हुति नपुगेर दुई/तीन वर्ष काम गर्यौं । अनि अष्ट्रेलिया, जापान कुद्यो । यस्ता धेरै छन् । एकछिनको रहर जस्तो भयो । 

अर्को कुरा भनेको अब धेरैले अमेरिकामा यस्तो गर्यो भनेर पढ्छन् । तर, नेपाललाई त्यो स्तरमा जाँच्न नै सकिन्न । किनभने सिलिकन भ्याल्ली जुन तरिकाले विकास भएको छ त्यसको पछाडि ५०, ६० वर्षको इतिहास छ । यो फोन नेपालले किन बनाउन सक्दैनौं भने जसले बनाएको हो उसँग त्यो छ यहाँ कपिपेस्ट गरी यहाँ ल्याउन सक्दैनौं ।

यहाँ धेरै कुराको पछाडि छौं सिक्न सक्छौं भन्ने ध्याउन्नमा होइन त्यस्तै बन्ने भन्ने ध्याउन्नमा छौं । अब उनीहरूको जस्तो धरातल आधार र विभिन्न चरण पूरा नगरेको हुँदा असफल हुने र निराश हुने भएको हो । 

यसमा तपाईंलाई हामी सबै कागजपत्र दिन्छौं । यसरी यो घरजग्गा र सेयर बजार कारोबार जस्तो होइन भनेर हामीले लगानीकर्ताहरूलाई पनि सिकाउनु पर्ने हुन्छ । यसमा उद्यमीहरूसँग घोटिएर उनीहरूलाई फलाउन बढाउन काम गर्नैपर्छ । त्यो विभिन्न वैठकहरुमा हामीले लगानीकर्ताहरूलाई बुझाउँछौं । पहिलो सय जना भएकोमा पछि घटेर ७ जना पुगिरहेका हुन्छन् । ७ जना घटेर ५ जनाले काम गरिरहेका हुन्छन् । 

सेयरधनीले पैसाभन्दा ठूलो आकारमा स्वामित्व खोज्छन् भन्ने स्टार्टअप उद्यमीहरूको गुनासो छ । यहाँ के भन्नुहुन्छ ?

हो, तपाईंले भने जस्तै यहाँ केही लगानीकर्ता त्यस्तै छन् । उनीहरूलाई सुरुमै ठूलो भागमा नियन्त्रण चाहिन्छ । ५१ प्रतिशत मलाई देउ भनी उद्यमीलाई कर्मचारी बनाउन खोज्छन् । त्यो सेयरधनीले पनि नबुझेकै हो । त्यसलाई बुझाउन सकिन्छ । यसका लागि सुरुमा २०, अनि फेरि २० गर्दै सेयर डाइलुट गरी बढाउँदै जान सकिन्छ । तर, बजार परिपक्व भएपछि मान्छेले बुझ्दै जान्छन् । सुरुमै मालिक बनेर काम छैन भनेर बुझ्छन् । 

लगानीकर्ताले म ८० प्रतिशत होल्ड गरेर तिमीलाई २० प्रतिशत मात्र दिए पनि चलाखीसाथ केही गलत गर्दिन भनेर सुनिश्चित गर्न सक्नुपर्यो । यसका लागि पारदर्शिता, जवाफदेहिता, बोर्डको पेपरवर्क एकदमै महत्वपूर्ण हुन्छ । यसले हामी एकअर्कालाई विश्वास गर्छौं भन्ने देखाउँछ । उद्यमीले पनि तिम्रो पैसा मात्र देउ अरू कुरामा बाठो हुन पर्दैन मैले सुरु गरेको म नै सर्वेसर्वा भन्ने जस्तो स्वभाव देखाउनु हुँदैन ।

उसले पनि तीन महिनामा एक पटक बैठक गर्नुपर्छ, बैठकको माइन्यूट, विवरण बनाउने बानी बसाल्नुपर्छ । पैसा लिएपछि अलिकति जवाफदेहिता र पारदर्शिता त देखाउनुपर्छ । कति त पैसा पायो अब जे गर्दा पनि हुन्छ जसरी जाँदा पनि हुन्छ भनी एकलौटी राज गर्न खोज्छन् । त्यसैले कतिपय लगानीकर्ताहरू सुरुमै धेरै सेयर होल्ड गरी सुरुमै नियन्त्रण गर्न खोज्छन् । त्यो चाहिँ कम्युनिकेसन र ट्रस्टको ईस्युलाई सम्बोधन गर्न सक्यो भने धेरै हदसम्म समाधान हुन्छ जस्तो मलाई लाग्छ । 

तपाईंहरूले लगानी गरिसकेको सुरुवाती अवस्थाका कम्पनीहरूको आइडिया प्रुभन भइसकेको मानिन्छ । अब उनीहरूलाई त्यसपछिको थप अन्य चरणको लगानी संकलनका लागि कतिको सहज वातावरण बन्छ ?

त्योचाहिँ अब उद्यमीहरू र हामीमा नै भर पर्छ । उसले लगानी नै पाउँछ भन्ने प्रत्याभूति त हुन्न तर सम्भावना भने बढ्छ । किनभने हामीकहाँ आउँदा उनीहरू अनौपचारिक हुन्छन् । ग्राहकरु थोरै होलान्, अलि–अलि प्रोडक्ट र टिम होलान्, पेपर वर्क राम्रो थिएन होला । दुई वर्षसम्म हामीसँग विभिन्न चरणमा बस्दा, मेन्टरसिप लिँदा उनीहरूले त्यो कुरा त आफूमा विकास गर्न सक्छन् ।

अब हामीले नै अर्को २ करोड रूपैयाँको ल्याउनेभन्दा पनि तिमी डोल्मा जस्ता विभिन्न लगानीकर्ताका लागि तयार भयौ भन्न सकिन्छ । अथवा उसले आफ्नै पनि घर परिवारबाट पनि लगानी उठाउन सक्छ ।यसको अर्थ अनौपचारिकदेखि एकैपटक औपचारिक जान अप्ठ्यारो छ । हामीले बीचमा पुलको काम गरिदिन्छौं । बैंकमा जस्तो घरजग्गा धितो राखेर ऋण झिक्न परेन । बजार र सोचकै भरमा गर्न सक्छन् ।  

पछिल्लो समय धेरै स्टार्टअपहरू जन्मिए तर सबैमा आइडिया भने एकै प्रकारको देखियो, नेपाली स्टार्टअप उद्यमीहरूमा कतिको नवप्रवर्तन र आइडियाहरू देख्नुहुन्छ ?

उद्यमशिलतामा जति धेरै आयो त्यति राम्रो हो । किनभने जबसम्म धेरै आउँदैनन् तबसम्म के राम्रो भनेर हामीलाई थाहा हुँदैन । यसैले कपी गर्नेले पनि गरून् किनभने परिमाणले नै गुणस्तरिताको निर्धारण गर्छ । हजारौं स्टार्टअप जन्म दिनुहोस् ५ सय बच्लान्, त्यसबाट फेरि २५० बाँकी रहलान् । यसरी अन्तिममा १०, १५ वटा बाँकी हुन्छन् । जति बाँकी हुन्छन् ती धेरै अघि बढेर जान्छन् । हाम्रोतिर एउटा स्टार्टअप डुब्दैमा घरबार डुब्ने जोखिम धेरै छ । त्योचाहिँ हुनुहुँदैन ।

अमेरिका, भारत, हैदरावाद तिर धेरै स्टार्टअपहरू जन्मन्छन् सबै बाँच्छन् भने हुँदैन । त्यहाँ पछुताएर बस्नु पर्दैन, गर्नलाई अरू धेरै कुरा हुन्छन् । हाम्रो तिर त्यस्तो पुसअप फ्याक्टर केही पनि छैन । त्यसले गर्दा मानिसहरूले कपी गर्ने सिक्ने गर्छन् किनभने यहाँ अरू सपोर्ट सिस्टम नै केही पनि छैन । 

यसैले हामी हजारौं स्टार्टअप जन्माउ बरु त्यसलाई साहारा दिन सरकारी र दाताको पैसालाई एउटा माध्यम बनाऊ । ताकी उनीहरूको समय खेर गए पनि घरबार चाहिँ नडुबोस् त्यस्तो खालको सहयोग प्रणाली बनाउन पर्यो । सिलिकन भ्याल्लीमा कति धेरै स्टार्टअपहरू जन्मन्छन्, मरेर जान्छन् त्यसको अर्थ यसबाट उनीहरू बिमुख नै हुन्छन् भन्ने हुन्न । तर, हामीले यहाँ त्यस किसिमको सपोर्ट सिस्टम नबनाएको हुँदा स्टार्टअपहरू पानीको फोका जसरी आउने हराउने भइरहन्छ । त्यसैले धेरै आयो हरायो भनेर चिन्ता लिनु पर्दैन, आउने, जाने भइरहन्छ र धेरैले नयाँ कुरा पनि सिक्न सक्छन् । 

स्केलअपको कुरामा स्टार्टअपहरूले एकैपटक धेरै भर्टिकल विकास गरिरहेका हुन्छन् जुन देख्दा उनीहरूको व्यवस्थापनले पनि नभ्याउने देखिन्छ । यो धेरै परीक्षण जस्तो भएन र ?

यहाँ बजारको तरिका नै त्यस्तो छ । तिमी यहाँ लाग्ने भयौं तिम्रो लागि १८ महिनाको लगानी यहाँ छ है भन्ने खालको बजार नै छैन । त्यै भएर म सपोर्ट सिस्टमको कुरा गरिरहेको छु । विदेशमा सपोर्ट सिस्टम राम्रो छ । सामान्य उद्यमीले पनि त्यो सुविधा पाउँछन् यसलै त्यहाँ सजिलै उद्यमशिलता उत्पादन हुन्छ तर यहाँ त्यहाँका भन्दा राम्रा उद्यमीले पनि त्यो सपोर्ट सिस्टम पाउन सक्दैनन् । 

यसैले सबै तिर बाजी थापिरहेका हुन्छन् वास्तवमा त्यो उनीहरूको जोखिम न्यूनीकरण गर्ने तरिका हो । त्यसलाई म नकारात्मक तरिकाले हेर्दिनँ । तलको सपोर्ट सिस्टम राम्रो नहुँदा आफ्नो बचाउका लागि आफैं उपाय अपनाउँछ, प्रयोग गर्छ । सरकारले बाटो बनाइदिए त्यसमा अरू संरचना निर्माण गर्दा हुन्थ्यो । तर, यहाँ त उद्यमी आफैंले बाटो पनि बनाउ संरचना पनि आफैं निर्माण गर तर कर उठाउ भन्ने किसिमको छ । यहाँ उद्यमी भनेको छ, यो पनि गरेको छ, त्यो पनि गरेको छ । हेर्दा यो के गरेको जस्तो लाग्छ तर बाँच्ने तरिका नै अब यहीँ छ । यो हाम्रो दुखित वास्तविकता हो । 

हामी हजारौं स्टार्टअप जन्माउ बरु त्यसलाई साहारा दिन सरकारी र दाताको पैसालाई एउटा माध्यम बनाऊ । ताकी उनीहरूको समय खेर गए पनि घरबार चाहिँ नडुबोस् त्यस्तो खालको सहयोग प्रणाली बनाउन पर्यो । सिलिकन भ्याल्लीमा कति धेरै स्टार्टअपहरू जन्मन्छन्, मरेर जान्छन् त्यसको अर्थ यसबाट उनीहरू बिमुख नै हुन्छन् भन्ने हुन्न । तर, हामीले यहाँ त्यस किसिमको सपोर्ट सिस्टम नबनाएको हुँदा स्टार्टअपहरू पानीको फोका जसरी आउने हराउने भइरहन्छ । त्यसैले धेरै आयो हरायो भनेर चिन्ता लिनु पर्दैन, आउने, जाने भइरहन्छ र धेरैले नयाँ कुरा पनि सिक्न सक्छन् । 

पछिल्लो समय भारतमा स्टार्टअपहरू धेरै प्राथमिक सेयर (आईपीओ) मा गए, ती सफल पनि भए । जुमाटो घाटामा गएको कम्पनी आईपीओमा गएपछि धेरै पैसा संकलन गरेको सुनियो, नेपाली स्टार्टअपको हकमा पब्लिकमा गएर आईपीओ जारी गर्न कस्तो छ सम्भावना ?

हाम्रोमा त्यो स्तरको परिपक्वता नै छैन । यहाँ कुपन्डोलको उकालो चढ्न गाह्रो छ उद्यमीहरूलाई सगरमाथा पुग्ने त परकै कुरा हो । हाम्रोमा स्केल नै पुग्दैन । भारतमा विदेशी लगानीकर्ताहरू धेरै आएर लगानी गरेका छन् धेरै बाहिरी पैसा आएको छ । पैसा आउँदा, त्योसँगै सिस्टम म्यानेजरहरू पनि आउँछन् । अनि कम्पनी झनै परिपक्व हुन्छ । हामीकहाँ कुनै पनि विदेशी कम्पनीले लगानी गर्न ५ करोडको रूपैयाँको सिलिङ राखिदिएको छ । कुनै पनि नेपाली कम्पनीलाई ५ करोड चाहिँदैन । उसलाई चाहिने भनेको २० लाखदेखि १ करोड रूपैयाँसम्म हो । 

कवच २२ लाखदेखि ५ करोड रूपैयाँमा जाँदैछ । यसैगरी सबैलाई समय त चाहिन्छ नि ! यसैले विदेशी कम्पनी नआउँदा पैसा मात्र होइन उसको नेटवर्क, प्रविधि केही पनि आउँदैन । यहाँ नेपालीले नै लगानी गर्छन् भन्छ तर नेपालीहरूमा त्यो मनोवृत्ति विकास भइसकेको छैन । यसैले न विदेशी न स्वदेशी कसैको पनि लगानी आउँदैन । 

विदेशी कम्पनीलाई २५ लाखदेखि पैसा लगानी गर्ने सुविधा दियो भने यहाँ धेरै पैसा आउँछ । यहाँ सिक्छन् बढ्छन् । एक दुइवटा विदेशी कम्पनीले बदमासी गरेका होलान् तर तिनले गरे भन्दैमा अधिकांशलाई दोष दिएर बस्ने होइन । उद्यमीहरूलाई पुँजी नै नभएर यहाँ समस्या भएको हो । बैंकमा जाउँ भने धितो राख्न  भन्छ सबैको नाममा जग्गा हुँदैन । 

यहाँ बैंकले बिजनेस आइडिया हेर्दैन, पहिचान र तपाईंको ‘क्लास स्टाटस’ हेर्छ । काठमाडौंमा हेरियो भने धेरैजसो स्टार्टअप उद्यमीहरू माथिल्लो वर्ग र धेरै नेटवर्क भएकाबाट आएका छन् । जसलाई घरको भाडा तिर्न पर्दैन, दालभातको पैसा तिर्न र काम गर्न पर्दैन । स्टार्टअपमा गएपछि ग्लोबल साथीहरूसँग कुरा गर्न पाइन्छ म नेपालमा पढाइ सकेर स्टार्टअप सुरु गर्दैछु भन्ने । ठूला रमाइला कुरा गर्ने, सामाजिक सञ्जालका प्रोफाइलहरू पनि एकदमै आकर्षक देखिन्छन् । किनभने एक दुई वर्षमा त्यो व्यवसायले काम गरेन भने अन्तिममा पारिवारिक व्यवसाय सम्हाल्ने तथा अन्य काम गर्ने विकल्प हुन्छन् । 

त्यो देखेर यहाँका अन्य निम्नवर्गीय उद्यमीहरू पनि आउन खोज्छन् तर उनीहरूको सपोर्ट सिस्टम केही हुँदैन र गल्र्यामगुरलुङ ढल्छन् । यो हामीले धेरै पटक देखेको छौं । त्यसैले हामी कतिलाई त सपोर्ट सिस्टम छैन अहिले उद्यमशिलतामा नआउ, विस्तारी सिक पनि भनेर भन्ने गर्छौं । यसैले हामीले पैसालाई कसरी ‘डेमोक्रेटाइज’ गर्ने, कसरी धेरैको भागमा पुर्याउने भनी पाइपलाइन तयार गर्नपर्छ, जुन हामी गर्न सकिरहेका छैनन् ।

ताकी तपाईंको थर र बुवाको नामभन्दा पनि तपाईंको आइडियाले लगानी तान्न सकोस् । ट्यालेन्ट त जता पनि छ नी, यहीँ अवसर र पुँजी त नभएको हो । यी कुरालाई राम्रोसँग वितरण गर्न सकियो भने त धेरै उद्यमी हुन्छन् नि ! सबैले यतातिर सोच्नुपर्छ भन्ने हाम्रो धारणा हो । 
नेपाल कम्पनी बन्द गर्दा पर्ने झन्झटिलो कानुनी व्यवस्थाले पनि स्टार्टअपलाई मारमा पारकेको छ भन्ने सुनिएको छ । के यस्तै अवस्था हो !
कुनै पनि धर्म मान्न लगाउन सबैले नर्कको डर देखाउँछन् । यहाँको अर्थतन्त्र र व्यवस्थामा पनि तिमी असफल हुन पाउँदैनौं भन्ने तगारो अघि नै राखिदिएको छ ।

बिजनेस गर्दा फेल हुन पनि पाउने सुविधा हुनुपर्छ । ती सबै ढोका अघि नै बन्द गरिदिएको छ भने त केही पनि गर्न सकिन्न । त्यो कुरा यहाँको नीति निर्माणकर्ताहरूले नबुझेको हो । वास्तवमा अर्थतन्त्रमा धेरै ढोका खोलिदिनु पर्छ । ताकी एउटामा असफल भयो भने पनि अर्कोमा जान सकून् । तर, यहाँ घाटामाथि जरिवाना थपिदिएर मान्छेलाई आजित बनाउने प्रचलन छ ।

त्यो हामीले गर्ने होइन । प्रयास गर असफल भयो भने चिन्ता नलेउ तिमीले ५, ६ हजार पैसा बुझाएर बाहिरिन सक्छौं भने मान्छेले धेरै प्रयास गर्ने भयो । यहाँ हरेक वर्ष नाफामा जानै पर्ने, कर बुझाउनै पर्ने प्रावधान विकास गरेको छ । सुरु गर्न पाएको छैन एकैपटक ६० हजारको विल आइसकेको हुन्छ । 

सरकारले पाँच वर्षसम्म स्टार्टअपहरूलाई सहुलियत दिनुपर्छ । अस्ति नीतिमा त्यो कुरा उल्लेख पनि भएर आएको छ तर अहिलेसम्म कार्यान्वयनमा आएको छैन । यति भयो भने एउटा पुसअपको आधार हुन्छ । त्यो नभएसम्म उद्यमशिलताको आधार नै हुँदैन । 

नेपालमा विश्व बजार जानसक्ने आइडिया भएका स्टार्टअप कति छन् ?

मानौं, मैले सफललाई १५ वर्षपछि बेच्ने ठानेको छु भने मैले अहिलेदेखि सिस्टम, प्रक्रिया बनाएर राख्न पर्यो । बेचुला, नबेचुला त्यो मेरो आफ्नो कुरा हो । सिस्टम, प्रक्रिया, कागज त तयार गर्न सकिन्छ  । गर्ने नगर्ने आफ्नो कुरा हो, महत्वकांक्षा राख्दैमा बर्बाद हुने होइन, तर लक्ष्य राख्न सकिन्छ भन्ने कुरा हो । 

भारतीयहरूमा हामी किन भारतमा मात्र बस्ने ग्लोबल्ली जाने भने खालका महत्वकांक्षा बढिसकेको छ । भारतमा चल्ने कुरा आजभोलि पूरै दक्षिण एसियामा चल्न थालिसकेको छ । हामी भने देशभित्रै त्यो पनि काठमाडौंमै सीमित भएर रुमल्लिरहेका छौं । 

यहाँ फेरि उसले पनि स्टार्टअप गर्यो, म पनि गर्छु उ पनि सीमित छ म पनि सीमित हुन्छु भनेर ‘पियर प्रेसर’ पनि डाउन हुँदै गइरहेको छ । हामीले त्यसबाट बाहिर निस्किएर बाँकी विश्व हेर्नपर्छ । त्यसैअनुसार आफू र आफ्नो कम्पनीलाई विस्तार गर्नुपर्छ भन्ने हाम्रो सोच हो । त्यसका लागि पैसा, नेटवर्क चाहिन्छ । 

अहिले लोकेसनवाइज स्केलअप गर्दा स्टार्टअपहरू देशका मुख्य सहर मात्र पुगिरहेका छन्, देशव्यापी रूपमा पनि गइरहेको अवस्था छैन । इन्टरनेट पहुँच र उपभोक्तामा स्टार्टअपको सेवाको चेतना कमी नै मुख्य कारण हो ?

जनचेतनाका कुरा त विस्तारै परिवर्तन हुँदै जान्छ । तर, यसबाहेक कति कुरा पूर्वाधारका छन् ती पनि विस्तारै बन्दै जान्छन् । अहिलेका लागि काठमाडौंबाट पोखरा बुटवल पुग्नु पनि सकारात्मक कदम हो । कोही गएनन् भनेर चिन्ता लिन पर्दैन । विस्तारी यो प्रचलन सुरु हुँदैछ । हामीले साना–साना कुरालाई पनि सेलिब्रेट गर्नुपर्छ । 

सफलले व्यवसाय विकास गर्न नयाँ कम्पनीसँग काम गर्दै छ ?

अहिले हामीले गरेको लगानी भनेको पहिलो पुस्ताको एन्जल इन्भेस्टमेन्ट भन्छौं । अबका दिनमा भने हामी हरेक महिना मिटिङ गरेर ती मिटिङबाट हरेक पटक एउटा वा दुईटा उद्यमीलाई आफ्नो प्रोडक्ट तथा ‘आइडिया पिच’ गर्न लगाउने र त्यहाँ लगानीकर्ताहरूलाई पनि सँगै राख्ने ताकी लगानीकर्ताहरूले मन परेको खण्डमा लगानी गर्न सक्छन् । अन्यथा मन नपरेको खण्डमा पनि उद्यमीहरूले कम्तीमा ‘फिडब्याक’ पनि पाउन सक्छन् । 

यो हुन सक्यो भने हरेक कम्पनीले आफ्नो आइडिया बाहिर ल्याउन सक्यो । वर्षको ११ महिना मात्र गर्यौं भने पनि २२,२३ वटा कम्पनीलाई ल्याउन सक्छौं । त्यसका लागि बंगलादेश, भारत र अन्य देशका एन्जल इन्भेस्टमेन्ट कम्पनीहरू कसरी काम गरिरहेका छन् भनेर हेरिरहेका छौं । यसलाई हामीले दोस्रो पुस्ताको एन्जल इन्भेस्टमेन्ट नामाकरण गरेका छौं । त्यो सुरु गरेका छैनौं । तर, गर्ने तयारीमा छौं । यो गर्न सके उद्यमीहरू थप माझिएर आउलान् । यो पनि सपोर्ट सिस्टमकै एउटा नमुना हुनेछ । हाम्रो तर्फबाट केही योगदान हुनेछ । 
  


 

आइतबार​ २४ असोज २०७८ ०६:०५ PM मा प्रकाशित

प्रतिक्रिया