बुधबार, असार २ २०७८ ०८:१७ PM

×

वार्षिक प्रतिवेदन पेश नगर्ने सबैभन्दा धेरै झापाका सहकारी

images

विराटनगर । आर्थिक वर्ष २०७६/०७७ सम्मको लेखापरिक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश नगर्ने सबैभन्दा धेरै झापाका सहकारी छन् । झापाका २ सय ६ वटा सहकारी प्रतिवेदन नबुझाएको उल्लेख छ । 

प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरीले सूचना निकाली प्रतिवेदन नबुझाउने सहकारीको नाम सार्वजनिक गरेको छ । कार्यालयबाट सहजीकरणका साथै पटक ताकेता गर्दा पनि प्रतिवेदन नबुझाउने सहकारी संघ संस्थाको नामावली सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ । 

त्यसैगरी झापापछि मोङका सहकारी छन् । मोरङ ८६ वटा सहकारीले प्रतिवेदन पेश गरेका छ्रैनन् । त्यस्तै सुनसरीका ४६, इलामका ४३, उदयपुरका १९, ओखलढुङ्गाका १९, खोटाङगका १३, ताप्लेजुङ्गका ११, तेह्थुमका २६, धनकुटाका १६, पाचथरका २७, भोजपुरका १६, संखुवासभाका १२ र सोलुखुम्बुका १२ वटा सहकारी रहेका छन् ।

सहकारीहरूले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरि साधारणसभाबाट पारित भएको लेखापरिक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन साधारण सभा सकेको ३० दिनभित्र आफ्नो नियामक निकायमा बुझाउनुपर्ने हुन्छ । 

प्रदेश नं. एक सरकारको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारीले प्रदेश सहकारी रजिष्टार कार्यालयमा बुझाउनुपर्छ । कार्यालयले निकालेको सूचनामा उल्लेख भएअनुसार प्रदेश एक सरकारको नियमन क्षेत्राधिकारभित्र १ हजार ४१ सहकारी पर्छन । त्यसमध्ये ४ सय ८९ वटा सहकारीले मात्र आफ्नो लेखापरिक्षण सहितको वार्षिक प्रतिवेदन बुझाएका छन् । 

पटक–पटक ताकेता गर्दा नी प्रतिवेदन नबुझाउने सहकारीलाई प्रदेश सहकारी रजिष्टार कार्यालयले तोकिएको जरिवाना सहित यही जेठ मसान्तसम्ममा बुझाउन आग्रह गरेको छ । कार्यालयमा उपस्थित भएर बुझाउन नसक्नेले इमेलमार्फत नि पठाउन सकिने सूचनामा जनाइएको छ । जेठ मशान्तसम्म नबुझाउने र कुनै जानकारी नगराउने सहकारीलाई निष्क्रिय सूचीमा राखिने सहकारी रजिष्टार कार्यालय इटहरीले जानकारी दिएको छ । 

करिब २० अर्ब बचत

प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने सहकारीले प्रदेश रजिष्टार कार्यालयमा बुझाएको प्रतिवेदनका अनुसार उक्त सहकारीहरूमा १९ अर्ब ९९ करोड ८५ लाख ९७ हजार ९ सय १२ रुपैयाँ बचत रहेको छ । 

त्यसैगरी ३ अर्ब ६५ करोड ४१ लाख ८० हजार २०४ रुपैया सेयर पुँजी छ भने  १६ अर्ब ७३ करोड ८४ लाख ६२ हजार ९ सय ९० रुपैयाँ ऋण लगानी भएको छ । सहकारीहरूको संस्थागत पुँजी २ अर्व ३७ करोड ५८ लाख ४१ हजार ७ सय ३२ रुपैयाँ छ भने ३ लाख ८८ हजार ४ सय ८४ जना सदस्य छन् । जसमा पुरुष २ लाख १२ हजार ६ सय ७९ जना छन् भने महिला १ लाख ७५ हजार ८०५ जना छन् । 

त्यस्तै सहकारीहरूले १६ करोड ७१ लाख २९ हजार १ सय १९ रुपैयाँ बराबरको खरिद कारोबार गरेका छन् भने २१ करोड १० लाख ६२ हजार ९ सय २ रुपैयाँ बराबरको बिक्री कारोबार गरेका छन् । ४ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 
 

शुक्रबार​ २८ जेठ २०७८ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया