×

ओएसिस स्पाः जागिरदेखि आफ्नै व्यवसाय गर्नेसम्म मञ्जुको बिजनेस–जर्नी

images

पोखरा । हाम्रो दैनिक जीवन यान्त्रिक बनेको छ । बिहान उठेदेखि रातिसम्म हाम्रा आँखा, दिमाग उपकरणमाथि दौडिरहेका छन् । यसले शरीर र दिमागमा थकान सिर्जना भइरहेको छ । त्यसमाथि एकातिर दिनप्रतिदिन सहरको वातावरण प्रदूषित बन्दै छ भने अर्कातिर शरीर र दिमागलाई आराम मिल्ने स्वच्छ, शान्त, मनोरम वातावरण हत्तपत्त भेटिँदैन । 

यिनैको परिपूर्ति गर्ने एउटा साधन हो, स्पा । 

स्पाको इतिहासबारे विभिन्न धारणा भेटिन्छन् । कतिपयले स्पा युरोपियन मुलुक बेल्जियमको सहर स्पाबाट आएको भन्छन्, जुन रोमन कालखण्डदेखि स्नानका लागि चिनिन्थ्यो । 

प्राचीन रोमन, मेसोपोटामिया, मिस्र, मिनोअनका साथै ग्रिक सभ्यतामा सामाजिक स्नानलाई धार्मिक रुपमा पालन गरिन्थ्यो । विभिन्न स्नान विधिको प्रयोग पहिले ग्रिकहरुले गर्थे । 

त्यहीँबाट सुरु भएको पाइन्छ स्पा कल्चर।

जे होस्, प्रागैतिहासिक कालमा स्पा एउटा उपचारको लोकिप्रय साधन थियो । तर, बदलिँदो जीवनशैलीसँगसँगै अहिले स्पा आराम र आनन्दका लागि पनि प्रयोग हुँदै गइरहेको छ ।

नेपालमा पनि पछिल्लो समय स्पा व्यवसाय फैलिने क्रममा छ । झन्डै डेढ दशकअघि ठमेल वा केही सीमित पाँचतारे होटलमा थियो । तर, अहिले देशका प्रमुख सहरमा फैलिरहेको  छ । 

त्यसैमध्येको एउटा हो, पोखराको लेकसाइडस्थित ‘ओएसिस स्पा एन्ड ब्युटी केयर प्रालि' जसलाई युवा व्यवसायी मञ्जु विष्टले हाँकिरहेकी छिन् ।

. . .

भारतको हिमाञ्चल प्रदेशमा २०५१ सालमा परिवारकै ज्येष्ठ सन्तानको रुपमा जन्मिएकी विष्टको पुर्ख्याैली घर सल्यान हो । छ/सात वर्षकी हुँदा उनी आमाबुवासँगै बसाइँसराइ गरी नेपालगन्ज आइन् । 

नेपालगन्ज आइसकेपछि बाँकेको खजुरामा उनका बुवाआमाले सानो खाजाघर र किराना पसल सञ्चालन गरे । हाल सो ठाउँ जानकी गाँउपलिकाको रुपमा परिचित छ । 

एसएलसीसम्म खजुराकै जानकी माविमा पढेकी विष्टले कलेज धम्बोजी क्याम्पस नेपालगन्जमा पढिन् । एसएलसी दिएपछि केही समय आफ्नो जीवनकै पहिलो जागिरको रुपमा रामारोशन बचत नामक सहकारीमा काम गर्न थालिन् । 

काम सहकारीमा, रुचि पार्लरको । कामसँगै रुचिलाई पनि प्राथमिकता दिँदै उनले पार्लरको बेसिक कोर्स नेपालगन्जमै सिकिन् । यसका लागि उनी कोही कसैबाट प्रेरित भएकी भने होइनन् ।  

मध्यम वर्गीय परिवारमा जन्मिएकी र तराई मूलमा बसोबास गर्दै आएकी उनलाई काठमाडौं-पोखरा आममानिसको जस्तै सपनाको सहर लाग्थ्यो । ‘मलाई काठमाडौं, पोखरा बस्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ उनी सुनाउँछिन्, ‘यसमा कुनै ठोस कारण भने थिएन ।’

पोखरा बस्ने विष्टको इच्छा छोटो समयमै पूरा भयो । त्यसको कारण बन्यो, उनको प्रेम । 

खासमा विष्ट कसैसँग गहिरो प्रेममा थिइन् । उनीहरु दुवैले आपसी सहमतिमा प्रेमलाई विवाहमा रुपान्तरण गर्ने योजना बनाए । तर, उनीहरुका लागि पारिवारिक र सामाजिक परिवेश तगारो बन्यो ।  

सच्चा प्रेम यति सानो कुरामा कहाँ अड्किन्छ र ? अन्ततः उनीहरुको रोजाइमा पर्यो पर्यटकीय नगरी पोखरा । सोही योजनामुताबिक उनीहरु पोखरा पुगे । 

‘पोखरामा एक जना साथी हुनुहुन्थ्यो । उहाँलाई आफ्नो समस्या बताएँ । त्यसपछि पोखरामै आऊ भन्नुभयो, आयौं,’ आफूलाई मन पर्ने ठाउँ पोखरा कसरी आइपुगिन् भन्ने कुरा उनले हाँस्दै सुनाइन् ।

तर, जे सोचेर उनीहरु पोखरा आए, त्यो भएन । ‘सोचेझैं जिन्दगी रैनछ’ गीत उनको जीवनमा चरितार्थ हुन पुग्यो । सोचेको नहुँदा नसोचेकै संघर्ष पनि जिउनका लागि गर्नुपर्यो । 

‘संघर्षकै क्रममा श्रीमानले पामेको एउटा होटलमा सेफको काम गर्नुहुन्थ्यो,’ ती दिन सम्झन्छिन् विष्ट, ‘म खाली थिएँ । यही खाली समयमा फेरि पोखरा आएर पनि पार्लरको एडभान्स्ड कोर्स सिक्न थालें । नेपालगन्जमा सिकाइ पूरा भएको थिएन ।’

त्यति बेला पामेबाट लेकसाइड आउन एक–एक घण्टामा गाडी छुट्थ्यो । त्यही गाडी समातेर पार्लर सिक्न आउजाउ गर्न थालिन् उनी । 

‘कहिले पैसा हुन्थ्यो, कहिले हुँदैनथ्यो । पैसा नहुँदा वा गाडी छुट्दा हिँडेर पनि आउजाउ गरें,’ उनी गम्भीर बनिन् ।

लेकसाडमा पार्लरको महत्व खासै थिएन । किनकि त्यहाँ सबै होटलै होटल थिए । तर, स्पा भने हुन्थे । पार्लर गर्न अलि लोकल एरियातिर जानुपर्ने रहेछ ।

विष्टलाई पार्लर सिकाउने दिदीले नै पार्लर मात्र सिकेर हुँदैन बरु स्पा पनि सिक्नू भनिछन् । तर, उनले स्पामा रुचि नभएको र नसिक्ने भनिन् ।

फेरि तिनै दिदीले स्पा सिक्नु केही नराम्रो होइन, तपाईंलाई नराम्रो लागेको हो भने पहिले हेर्नुस्, बुझ्नुस् अनि जे लाग्छ त्यही गर्नुस् भन्नुभयो । स्पा गरिरहेका अरु केहीको उदाहरण पनि दिनुभयो,’ स्पाप्रति आफ्नो धारणा वा बुझाइ गलत रहेको पश्चाताप गर्दै विष्ट

सुनाउँछिन्, ‘त्यसपछि अलि कन्भिन्स भएँ ।’

पार्लर कोर्स पूरा गरेकी विष्ट फेरि स्पा ट्रेनिङ गर्नतिर लागिन् । 

स्पा ट्रेनिङ सकेपछि उनी खाली भइन् । घरमा यतिकै बसिरहेको समय थियो । पोखराकै अतिथि रिसोर्टमा राम्रो थेरापिस्ट तथा स्पा ह्यान्डल गर्न सक्ने मान्छे चाहिएको खबर सुनिन् । हतारिँदै उनी त्यहाँ पुगिन् । हतारिनुको कारण थियो, उनको आर्थिक अवस्था । त्यहाँ कुराकानी भयो र मिल्यो पनि । अनि उनले आफ्नो जीवनको दोस्रो जागिर सुरु गरिन् । 

जागिर त सुरु भयो । तर, उनका श्रीमान् यो पेसासँग त्यति खुसी थिएनन् । यसै विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच मतभेद पनि हुन थाल्यो । 

‘मैले स्पामा जागिर सुरु गर्दा घरमा मतभेद भयो,’ अनवरत संघर्षमा होमिएकी विष्ट भन्छिन्, ‘यसरी केही गर्न खोज्दा घरमै पनि समस्या आइप¥यो । यी सबैका बाबजुद पनि ‘केही त गर्नैपर्छ’ भन्ने हुटहुटी ममा छँदै थियो ।’ 

अतिथिमा काम सुरु गरेको ५/६ महिना मात्रै भएको थियो, भूकम्प गयो । यसले सबै क्षेत्रमा प्रभाव पर्यो । अब के गर्ने भन्ने भयो । यही बीचमा बुवाआमा भारतमा हुनुभएकाले उतैतिर घुम्न गएको विष्टले बताइन् । 

उनीहरु भारतबाट फर्केर त आए । तर, भूकम्पपछिको पर्यटन क्षेत्रको अवस्था दयनीय थियो । पोखराबाट उतै नेपालगन्ज गएर फेरि केही गर्ने कि पोखरामै केही समय पर्खने भन्ने अन्योलबीच अतिथि रिसोर्टका तत्कालीन अप्रेसन म्यानेजरसमक्ष आनो समस्या राखिन् । त्यसपछि उनका श्रीमानलाई पनि सोही रिसोर्टमा जागिरको अवसर मिल्यो । यसरी दुवै जनाले त्यहीँ जागिर गर्न थाले । 

यो क्रम दुई वर्षसम्म चल्यो ।

अतिथि रिसोर्टका दुइटा स्पा सञ्चालनमा थिए । एउटा रिसोर्ट बाहिर थियो भने अर्को रिसोर्टभित्र । उनी भने त्यही रिसोर्टभित्रको स्पामा जागिर गर्थिन् । जागिर गरेको ५/६ महिनापछि उनीसँगै जागिर गर्ने एक जनालाई स्पा सञ्चालन गर्न दिने निर्णय भयो ।

‘काम गर्न आउनेको तुलनामा म सोझी थिएँ । हिँड् भनेपछि सीधा मात्रै हिँड्ने मेरो बानी थियो,’ उनी भन्छिन्, ‘स्पा अर्कोलाई दिएपछि मलाई चित्त बुझेन । सोझो दिमागले पनि सँगै काम गर्ने कर्मचारीको मातहतमा आफूलाई  काम गरिरहन ठीक ठानेन । र, काम गरिरहेको ठाउँमा काम नगर्ने निर्णयमा पुगेँ ।’

तर, काम छोडेर के गर्ने भन्ने कुराको योजना भने उनीसगँ थिएन । थियो त केवल अनुभव र इगो । 

अतिथिमा विष्टले जागिर छोडे पनि उनका श्रीमान्ले भने गरिरहे । जब जागिर छोडिन्, नैतिक दबाबमा परिन् । कसरी हुन्छ आफ्नै स्पा खोल्नुपर्ने चुनौती उनलाई भयो । 

यसै क्रममा स्पा खोल्ने चक्करले थुप्रै रिसोर्टहरु चहार्न पुगिन् । आफूले गरेको काम बताइन् । बल्लतल्ल लेकसाइडकै पोखरा भिलेज रिसोर्टमा एउटा स्पा पाइयो, जुन बिक्रीमा थियो ।

‘जसरी पनि सो स्पा लिनुपर्ने बाध्यता थियो,’ संघर्षले लिएको अर्को मोडको कथा सुनाउँदै विष्ट भन्छिन्, ‘स्पाका दुइटा कोठा मात्रै थिए । भाडा मात्रै ४० हजार प्रतिमहिना । १ लाख ९० हजार त्यहाँको सामानको मूल्य तय भयो ।’

यसरी उनले आफ्नो पहिलो स्पा व्यवसायका रुपमा पोखरा भिलेजमा साथीसँगै साझेदारीमा सुरु गरिन् । यो भुइँचालोको एक वर्षपछि अर्थात् २०७३ सालको कुरा हो ।

भनिन्छ नि ! कामले काम सिकाउँछ । स्पा सुरु गर्दागर्दै आफ्नो लोकल मार्केट तथा बजार ब्यवस्थापन गर्ने क्षमता कमजोर भएको अनुभव उनलाई हुँदै गयो । तर बिनाबजार व्यवसाय चल्न सक्दैन भन्ने कुरामा भने उनी पूर्णरुपमा सजग थिइन् । सोही कुराको उदाहरण थियो, साझेदारी । 

उनकै साथीले आफ्ना लोकल कस्टमर रहेको, आफू पनि सेयर होल्डर बनेर मार्केटिङ गर्छु भनिछन् । यति भएसी विष्टलाई के चाहियो ! सहर्षै प्रस्ताव स्वीकार गरिन् । र, दुई जनाले स्पा रन गर्न थाले । तर, जहाँ गए पनि समस्याले नछोड्ने ! पार्टनरबीचमै समस्या हुन थाल्यो । 

यही बीचमा द यात्रा कोर्टयार्डमा स्पा खाली रहेको सूचना पाएपछि उनी प्रस्ताव लिएर त्यहाँ पुगिन् । अब भने भाडामा नभई सेयरिङ बेसिसमा स्पा सञ्चालन गर्ने सहमति गरी अघि बढिन् । 

एकातर्फ दास्रो स्पा आयो भने अर्कोतर्फ साझेदारीमा समस्या । 

समस्याले सधैं नकारात्मक स्थिति निर्माण मात्रै गर्दैन, कहिलेकाहीँ परिणाम पनि देखाउँछ । यही कुरा उनको जीवनमा मेल खायो । साझेदारीमा आएको समस्याका कारण पोखरा भिलेजमा रहेको स्पा साथीलाई जिम्मा लगाइन् । 

एक दिन अचम्मै भयो । द यात्रा कोर्टयाडमा स्पा चलाइरहेकी उनलाई पोखराकै कुटी रिसोर्ट एन्ड स्पामा स्पा सञ्चालनको अफर आयो ।

त्यसपछि अर्को स्पा कुटी रिसोर्टमा भयो । त्यहाँ पनि रेभिन्यू सेयरिङ बेसिसमा काम सुरु भयो । यति बेलासम्म उनी कम्पनी मोडेलमा भने गइसकेकी थिइनन् ।

‘कुटीमा स्पा सुरु गर्दागर्दै ओएसिस स्पाको परिकल्पना भयो,’ जागिर खानेदेखि आफ्नै व्यवसाय गर्नेसम्मको यात्रा सम्झन्छिन् उनी, ‘अनि ओएसिस स्पा एन्ड ब्युटी केयर प्रालि’ दर्ता गरें ।’

यसरी पहिलो कम्पनी मोडलको रुपमा टुकी रिसोर्टमा प्रवेश गरेकी उनी सँगसँगै रिसोर्टबाहिर पनि आफ्नो छुट्टै स्पा होस् भन्ने चाहनालाई साकार रुप दिन रिसोर्टबाहिर स्पा चलाउन थालिन् । तर, त्यो लामो समय टिकेन । 

‘बाहिरी व्यवस्थापनमा कठिनाइ आएकाले उक्त स्पा बेचिदिएँ,’ उनले सुनाइन्, ‘यद्यपि घाटा भने भएन । पाँच लाखमा किनेर छोटो समयमै ८ लाखमा बेचिदिएँ ।’

खासमा रिसोर्ट, होटलभित्रका स्पाहरु व्यक्तिगत रुपमा बेच्न मिल्दैन । तर, थर्ड पार्टीलाई साझेदारीका रुपमा चाहिँ राख्न मिल्छ ।

सम्झौताअनुसार स्पेस होटल वा रिसोर्टले उपलब्ध गराउँछ भने स्पाले म्यानेजमेन्टको काम गर्छ । त्यसमा सेयरिङ बेसिस हुन्छ अर्थात् कमाइको केही प्रतिशत स्पाले होटल वा रिसोर्टलाई दिनुपर्छ ।

कम्पनी मोडलमा गएपछि बिजनेस एकपछि अर्को गर्दै एक्सपान्सन हुँदै गयो । पोखराकै टप फाइभमा ओएसिस स्पा आउन थाल्यो । यसले विष्टलाई अपार खुसी दियो, जुन खुसी उनको कल्पनाबाहिर थियो । 

विष्टको बिजनेस यात्रा यतिमै रोकिँदैन । एक्सपान्सकै क्रममा पोखराको फाइभस्टार होटल पोखरा ग्रान्डमा अर्को भव्य र विशाल स्पा सुरु भयो । उनका अनुसार त्यसको लगानी मात्रै ५० लाख थियो । यस्तै माउटेन ग्लोरी फरेस्ट रिसोर्टमा पनि अर्को स्पा सुरु भयो । त्यसपछि

क्रमशः होटल सहारा, द लेकसाइड रिट्रिट, पोखरा च्वाइस इन, द कुटी रिसोर्ट पनि खुले ।  यसरी एक वर्षभित्रमा ८ वटा होलटमा स्पा खुले । जसमा ५० जना स्टाफले रोजगारी पाए । 

सबै ठीकठाक चलिरहेको थियो । यही बेला कोभिड–१९ भित्रियो । 

कोभिडले सबै होटल बन्द भए । यद्यपि रेभिन्यू सेयरिङ बेसिसमा काम गरेको हुनाले त्यति धेरै घाटाको भागीदार हुनुपरेन । घाटा भनेको बैंकको ब्याज धान्नुपर्ने भयो । होटलले नै स्पेस उपलब्ध गराउने भएकाले भाडा तिर्नुपरेन, जसले ठूलो राहत दियो ।

‘क्रमशः सुरु गरेको स्पामा गरिएको लगानी बढ्दै जादा बैंक लोन पनि बढ्दै गएकोे र बीचमा कोभिड १९ का कारण स्पा सञ्चालन गर्न नपाएको कारणले पहिले कमाएको पैसा सबै सकियो,’ उनी भन्छिन्, ‘अहिले सबै ठाउँमा यथावत् चलिरहेका छन् ।’

यो क्रममा यावत् आरोह–अवरोह भयो । जागिर खानेदेखि कम्पनी मोडलको बिजनेस सेट–अपसम्म भयो । तर, एउटा कुराचाहिँ अचम्मै भयो । त्यो के भने, हिजो विष्टले जुन ठाउँबाट स्पामा जागिरेको रुपमा यात्रा सुरु गरेकी थिइन्, कोभिडपछि त्यही ठाउँमा कम्पनी मोडलबाट आफ्नो स्पा सञ्चालन गर्न सफल भइन् । 

‘मेरो सबैभन्दा ठूलो उपलब्धि भनेकै यही हो,’ उनको अनुहारमा गर्व र सन्तुष्टिको चमक देखिन्छ, ‘जहाँ काम गरें, त्यही ठाउँमा ३ वर्षपछि आफ्नै स्पा कम्पनी मोडलको रुपमा लग्न सफल भएँ ।’ 

नेपाली समाजमा स्पाबारे धारणा

विष्टका अनुसार स्पाबारे समाजमा मिश्रित धारणा छन् । कसैले रिल्याक्सेसन त कसैले थेरापीको रुपमा लिएको पाइन्छ । ओएसिस स्पा रिल्याक्सेसन र थेरापीमा फोकस्ड छ । स्पा भनेको रिल्याक्सेसन, थेरापी र ट्रिटमेन्ट हो । शरीरको दुखाइ, गोली गाँठा दुख्ने, बडीको टक्सिन, नसामा समस्या यी सबैको ट्रिटमेन्ट स्पाद्वारा गर्न सकिने उनी बताउँछिन् । 

के के प्रयोग हुन्छ ?

‘आयुर्वेदिक तेल र ओलिभ ओइलबाट ट्रिटमेन्ट हुन्छ । मेनुमा उल्लेख भएझैं क्वालिटी मेन्टेन गर्ने कुरामा हामी सचेत छौं । हामीले प्रयोग गर्ने तेलदेखि टावलसम्मको क्वालिटी मेन्टेन गर्छौं,’ विष्ट सुनाइउँछिन् ।

ओएसिसमा फरकफरक खालका मसाज छन् । साथै स्टिम तथा ड्राइ साउना पनि छ । स्पासँगै ब्युटी सेक्सन, मेनीकेयर, पेडीकेयर, फेसियल पनि छ । न्यूनतम २ हजार ५ सयदेखि १५ हजारसम्मका स्पा कोर्स उपलब्ध रहेको विष्ट बताउँछिन् । 

ग्राहकको मनोविज्ञान

अन्य स्पामा गएर त्यहाँको त्यस्तै खालको सेवा लिएका ग्राहकले ओएसिसमा आउँदा पनि त्यही सेवा खोजेको व्यवहार गरेको विष्टको भनाइ छ । तर, ओएसिसले आफ्ना थेरापिस्टलाई लिमिटेसन तोकिदिएको छ । 

त्यस्तै थेरापिस्टलाई सुरक्षित वातावरण प्रदान गर्न मसाज कोठामा चुकुल राखिएको छैन । यसले नकारात्मक धारणा भएका ग्राहकबाट बच्न सहयोग पु¥याउने उनको विश्वास छ । 

ग्राहक कस्ता ?

ट्रेकिङको सिजनमा अधिकांश ग्राहक ट्रेकर्स हुन्छन्, त्यसपछि विदेशी हुन् । उनीहरु एउटा सिजनमा हुन्छन् । त्यसपछि नेपाली र भारतीय नै हुन् ।

रोजगारी 

कोभिडपछि अहिले स्पा म्यानेजर, रिसेप्सनिष्ट, थेरापिस्ट, अकाउन्टेन्ट गरी २८ जनाले रोजगारी पाएका छन् । 

रेभिन्यू

अहिलेको समयमा ओएसिसको मासिक रेभिन्यू १५ देखि २० लाख छ । यस्तै सबैको लगानी जोड्दा झन्डै डेढ करोड पुगेको छ । 


 

बिहीबार २६ साउन २०७९ ०७:१७ AM मा प्रकाशित

प्रतिक्रिया