चितवन । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ ।
तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको यो उद्योगले अहिले ८२ प्रकारका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ ।
विगतको स्मरण गर्दै रिजालले भने, “कराईमा भुटेर प्याक गरेर, साइकल, रिक्सामा गाउँगाउँ पुर्याएर बिक्री गथ्र्यौँ ।” बजारका केही व्यापारीको मागअनुसार दालमोठ बनाएर दिने गरेको उनको अनुभव छ ।
धनकुटाबाट मोरङको सलकपुरमा बसाइँ सरेको रिजाल परिवारका जेठा छोरा राजेन्द्रले उर्लाबारीस्थित काकाको दालमोठ उद्योगमा पढ्दै चार वर्ष कामको अनुभव लिए । त्यहाँको उत्पादन आउने चितवनको बजारमा आफैं उद्योग खोल्ने रहर उनीमा जाग्यो ।
बुवा अन्जनीप्रसादले सरसापट गरेर दिएको ६ हजार रुपैयाँले उनले ज्वाइँसँग मिलेर रत्ननगरमा शान्ता कमल दालमोठ उद्योग सञ्चालन गर्न थाले । बैंकको सहयोगमा उद्योगलाई थप विस्तार गर्दै अगाडि बढाए ।
ब्राण्डलाई महत्व नदिई बिक्रीलाई मात्रै हेर्दै आएका रिजालले भाइ पुरुषोत्तम र अच्युतको परिवारसहित रिजाल ब्राण्डमा उत्पादन थाले । ज्वाइँको घर रहेको रत्ननगरको लौरीघोलबाट सुरु भएको यो उद्योग विभिन्न ठाउँमा सर्दै अहिले रत्ननगरकै बेल्सीमा आफ्नै जमिनमा बनेको भवनमा सञ्चालन हुँदै आएको छ ।
एकै परिवारका तीन दाजुभाइका श्रीमती, छोरा, छोरी र बुहारी यसै उद्योगमा आफ्नो सीप र क्षमताअनुसार काम गर्दै आएका छन् । सबैको अभिभावकत्व बुवा अन्जनीले गर्दै आएका छ । माइला भाइ पुरुषोत्तमले भने, “हामीले अहिले पारिवारिक कर्पोरेट व्यवसाय गरिरहेका छौँ ।” परिवारभित्रै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको उनी बताउँछन ।
सुरुका दैनिक २५ किलो दालमोठ उत्पादन गर्ने यो उद्योगमा अहिले आधुुनिक उपकरणबाट दैनिक ८ टनभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगमा ८२ प्रकारका दालमोठजन्य उत्पादन गरिन्छ । दालमोठमात्रै २० प्रकारका छन् भने तीनथरि आलुचिप्स, चारथरि भुजिया र १० थरि फुरनदाना उत्पादन हुन्छन् । यस्तै मुमको दाल, नट क्र्याकर, बदाम, कन्फ्लेक्स, भटमास, मटर फ्राइजस्ता तयारी उत्पादन यस उद्योगले गर्दै आएको छ ।
पुरुषोत्तमका अनुसार ७४ जिल्लास्थित डिलरमार्फत देशभित्र मात्रै होइन विदेशका हङ्कङ, अमेरिका, अष्ट्रेलिया र जापानमा पनि सामग्री पुग्ने गरेको छ । खाडी मुलुकमा यो उत्पादन पुर्याउने तयारीमा रिजाल परिवार जुटेको छ । अहिले बैंकसहित १० करोड रुपैयाँभन्दा बढी लगानी रहेको उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
भारतमा बनेको खियारहित आधुनिक मेसिन उद्योगमा जडान छ । दाउरामा पकाउने गरिन्छ । पुरुषोत्तमले भने, “डिजल, कोइलालगायतका इन्धनलाई हामीले निरुत्साहित गरेका छौँ, वातावरणमैत्री बनाउन हाम्रो जोड छ ।” कसैले गाउँघरमै गुइँठा बनाएर दिए त्यसको प्रयोग गर्ने उनको भनाइ छ ।
विदेशी प्रविधि भित्र्याएर स्वदेशी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण रिजाल परिवारले दिएको छ । उद्योगमा कच्चा पदार्थदेखि उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गरिएको छ । उनले भने, “ सरकारको प्रचलित नियम कानुनलाई पूर्णरूपमा पालना गर्दै हामीले गुणस्तरीय उत्पादन गरेका छौँ ।” आफ्नो उत्पादन विदेशी कम्पनीको भन्दा राम्रो गुणस्तरको रहेको उनको दाबी छ ।
गत वर्ष २६ करोडको बिक्री गरेको उद्योगले यस वर्ष ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य छ । गत वर्षमात्रै नमकिनजन्य उत्पादन ४ अर्ब ५० करोड रुपैयाँ को आयात भएको भन्दै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । रासस