काठमाडौं । अर्थ मन्त्रालयले विगत तीन आर्थिक वर्षको अर्धवार्षिक तथ्यांकसँग चालू आर्थिक वर्षको सोही अवधिको तथ्यांक तुलना गर्दै सरकारको खर्च र आम्दानी प्रगति राम्रो रहेको समीक्षा गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षकाे पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो । अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमै रहेको अर्थले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ९ प्रतिशत रहेकनमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । यस्तै चालू आर्थिक वर्षको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो ।
प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएका कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
समीक्षा अवधिको चालू र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालू खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालू खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।
यस्तै चालू आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालू खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको अर्थ मन्त्रालयले जनाएको छ ।