(एथेन्स), ग्रीस। ग्रीस प्रहरीले बिहीबार नेपालका २५ जना पुरुषलाई कृषि क्षेत्रमा काम लगाउने प्रलोभन देखाएर श्रम शोषण गर्ने आपराधिक गिरोहलाई पक्राउ गरेको जानकारी दिएको छ।
यो गिरोहले लामो समयदेखि विदेशमा काम गरिरहेका नेपाली कामदारलाई झुटो प्रलोभन देखाएर ग्रीसमा ल्याई अमानवीय अवस्थामा काम गर्न बाध्य पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार यो संगठित आपराधिक समूह गत नोभेम्बर २०२४ देखि नै सक्रिय रहेको देखिन्छ। गिरोहका सदस्यले सामाजिक सञ्जाल प्रयोग गरेर बाल्कन मुलुक, मुख्यतया रोमानियामा कानुनी रूपमा काम गरिरहेका नेपाली पुरुषलाई भर्ती गर्दै आएका थिए।
अपराधिक समूहले पीडितलाई ग्रीसमा कृषि क्षेत्रमा काम गर्नका लागि राम्रो ज्याला दिने प्रलोभन देखाएको थियो। रुचि राख्ने कामदार हवाई वा उत्तरी म्यासेडोनिया हुँदै जमिनी सीमाबाट ग्रीस प्रवेश गरेका थिए।
यात्रा खर्च संगठनले नै बेहोरेको थियो तर, पछि पीडितलाई यो रकम आफ्नो कामबाट बिस्तारै फिर्ता गर्नुपर्ने बताइएको थियो। यसरी आर्थिक निर्भरता र ऋणको बन्धन सिर्जना गरिएको थियो भनी प्रहरीले जानकारी दिएको छ।
ग्रीस पुगेपछि कामदारको यात्रा कागजात खोसिएको थियो। केही पीडितलाई पैसा तिर्न बाध्य पारिएको, शारीरिक हिंसा र धम्की दिइएको थियो भने केही अवस्थामा कामदारलाई अपहरण गरी अवैध रूपमा थुनामा राखी अपराधीलाई पैसा तिरेर मात्र रिहा गरिन्थ्यो।
श्रमिक अस्थायी आवास वा गोदाममा बस्न बाध्य पारिएका थिए। कृषि काम त थकाइलाग्दो र कठिन थिए र कुनै विश्रामको समय नै थिएन। गिरोहले उनीहरूलाई ऋण तिर्ने बहानामा थोरै वा कुनै पैसा नै दिएनन्। प्रतिरोध गर्नेहरूले धम्की, डर र शारीरिक हिंसाको सामना गर्नुपरेको प्रहरीले जनाएको छ।
ग्रीस प्रहरीले यस अपराधिक गिरोहलाई पक्राउ गरी २५ जना नेपाली कामदारलाई उद्धार गरेको छ। मानव बेचबिखन र श्रम शोषणको यो घटनाले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली कामदारको कमजोर अवस्थालाई उजागर गरेको छ।
यस प्रकारको अपराध रोक्न र पीडितको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
Greece: 25 Nepalese migrant workers allegedly recruited via social media to be "exploited", charged recruitment fees & subjected to violence; police investigation ongoing