बिहीबार, मंसिर १६ २०७८ ०४:०२ PM

×

मौद्रिक नीतिको समीक्षा यसै साता: ४ र १२ करोडको सीमा संस्थागतमा लागू नहुने

images

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा लगाएपछि सेयर बजारका लगानीकर्ता लामो समयदेखि आक्रोषित बन्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको ४० प्रतिशत सेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, अहिले पनि बैंक तथा वित्तीय संस्थाले १ खर्ब रुपैयाँ पनि सेयर बजारमा लगानी गरेका छैनन् । तोकिएको सीमाभन्दा बैंक तथा वित्तीय संस्थाले धेरै थोर मात्रै लगानी गरेका थिए । 

तर, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा दबाब परेको छ । लगानीकर्ताले केन्द्रीय बैंकको नीतिका कारण बजार ओरालो लागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेर सच्याउन आग्रह गरेका थिए । 

अर्थमन्त्री शर्माले पनि पटक-पटक गभर्नर महाप्रसाद अधिकारीलाई यसलाई सच्याउन भने पछि ४ र १२ करोडको सीमा संस्थागतमा लागू नगर्ने तयारी भइरहेको केन्द्रीय बैंकका एक अधिकारीले बताएका छन् । 

‘निर्णय भइसकेको छैन,’ ती अधिकारीले भने, ‘व्यक्तिगतका हकमा ४ र १२ करोडको सीमालाई यथावत राख्ने र संस्थागतका हकमा खारेज गर्ने विषयमा छलफल चलिरहेको छ । यद्यपि, यो विषयमा अहिलेसम्म टुंगो लागिसकेको छैन ।’ ती अधिकारीका अनुसार यसैसाता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउँदै छ ।  

अहिले बैंकसँग लगानी गर्ने रकम पनि छैन् । बैंकहरुले निर्देशित क्षेत्रमा गएका कर्जामध्ये केहीलाई कर्जा–निक्षेप अनुपात (सीडी)मा लागू नगर्न केन्द्रीय बैंकलाई सुझाव दिएका छन् । खासगरी, कृषि, महिला उद्यमी कर्जालगायतलाई सीडीमा गणना नगर्ने व्यवस्था गर्ने वित्तिकै अहिलेको तरलता अभावको समस्या हल हुने बैंकरहरु बताउँछन् । 

आइतबार​ ५ मंसिर २०७८ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया