×

ओखलढुंगाका युवा कृष्ण थापासहितको टिमले जिल्लामै  सुरू गर्‍याे एक वडा एक उत्पादन

images

काठमाडाैं। ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारीका युवा कृष्ण थापासहितको टिमले जिल्लामै एक वडा एक उत्पादन सुरु गरेका छन्।

स्थानीय कच्चा पदार्थबाट धागो, तेल, जुस, वाइन लायत उपभोग्य वस्तुको उत्पादन गर्दै आएका थापाले आफ्नो जिल्लाका वेरोजगार युवाहरुलाई स्वरोजगारमुखी बनाउँने योजनाका साथ ओखलढुंगाबाट उत्पादनमुलक कामको सुरुवात गरेकाे बताए। उनले चम्पादेवि गाउँपालिका ७ फूलबारीमामा धागो, जडीबुटीको तेल निकाल्ने उद्योग सञ्चालन सुरू गरेको जानकारी दिए।

फूलबारी कृषी उद्योग नामको उद्योग दर्ता गरी पुस २७ गतेदेखि धागो र तेल उत्पादन परिक्षण गरिएको उक्त उद्योगका व्यावस्थापक एवं निर्देशकसमेत रहेका थापाले बताए। अलैंचीकोबोट, केराकोबोट, अल्लो, हात्तिबारबाट कपडाको लागि प्राकृतिक फाइबर र तितेपाती, बेसार, टिम्मुर, सिमालीबाट जैविक तेल उत्पादन परीक्षण सफल भएको उनको भनाइ छ।

स्थानीयस्तरमा खेर गईरहेको अलैंची, केराकोबोट, वनमा पाईने हात्तिबार, अल्लोको बोटबाट कपडाको लागि गुणस्तरीय प्राकृतिक फाईबर विदेशमा समेत निर्यात गर्न सकिने उनको अनुभव छ। त्यस्तै तितेपाती, बेसार र टिम्मुरबाट निकालिने जडीबुटी तेल समेत राम्रो मूल्यमा बिक्री गर्न सकिने थापाले बताए।

‘हामीले स्थानीय स्तरमा भएका सम्भावनाहरुको खोजी गर्ने र युवालाई रोजगारी दिने उद्देश्य हो,’ थापाले भने ‘आफ्नै गाउँ-ठाउँमा खेर गएको कच्चा पदार्थलाई नै सदुपयोग गरेर राम्रो आम्दानी गर्न सकिन्छ। यहाँकै युवाहरूलाई रोजगार बन्नेछन।’ यसअघि उनले थपे ‘यहाँ उत्पादीत वस्तुहरु स्वदेशदेखि विदेशसम्मका बजारमा बिक्री हुन्छन भने हामीले किन नगर्ने ? देश समृद्ध बनाउँने र युवालाई स्वदेशमै रोजगारी दिने हो भने केही न केही सोच बदलेर सम्भावनाको खोजी गर्नैपर्छ।’

फूलबारीमा विद्युत नपुगे पनि उक्त उद्योगका लागि जेनेरेटरबाट चल्ने गरी विभिन्न छ प्रकारका मेसिन सञ्चालन गरिएको छ। स्थानीय तीन महिलाले करिब १ करोड लगानीमा उद्योग सञ्चालन गरिएको सञ्चालकमध्यकी एक शोभा कार्कीले बताइन्। उनीसँगै पुष्पा थापा र तारा खड्काले समेत यो उद्योगमा लगानी गरेका छन्।

गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुंगाबाट प्रतिनिधीसभा सदस्यका प्रत्यासीसमेत रहेकी सञ्चालक शोभा कार्कीले पहिला युवाहरूलाई रोजगारमुखी बनाउँने अभियान अन्तर्गत जिल्लाका प्रत्येक वडामा त्यहाँको सम्भावनाअनुसारको उद्योग सञ्चालन गर्ने बताइन्। हाल उद्योग सञ्चालनको लागि ४ जना कर्मचारी नियुक्त गरिएको छ भने दैनिक रुपमा १० जना महिलाहरुले काम पाएका छन्।

उनीहरूले दैनिक ८ सयदेखि एक हजार रूपैयाँसम्म कमाउने गरेका छन्। जिल्लाका ७५ वडामध्ये उद्योग सञ्चालनको सम्भावना अध्ययान गरेर लगानी गर्ने वा स्थानीय युवाहरूलाई आवश्यक सहयोग गर्ने योजना रहेको निर्देशक थापाले देशको आवाजलाई बताए। गाउँमै नयाँ योजनासहित उद्योग सञ्चालन सुरू गरिएसँगै सुनकोशी, लिखु र चम्पादेवीका युवाहरूले चासो व्यक्त गरेको उनको भनाइ छ।

साना तथा स्वरोजगारमुखी यस्ता उद्योगहरुलाई स्थानीय तहहरुले समेत लगानी गरेर युवाहरुलाई गाउँमै रोजगारीको व्यवस्था मिलाउँन सक्ने प्रसस्त सम्भावना भएपनि स्थानीय तहले हालसम्म यस्ता क्षेत्रमा लगानी गरेको पाइएको छैन। स्थानीय प्रदेश र संघीय निर्वाचनका चुनावी अभियानमा नेताहरुले जनतामाझ गरेका वाचा पूरा गर्दै समृद्ध गाउँ नगर निर्माणका लागि सम्भाव्यता अध्ययान गरेर स्थानीयस्तरमै उत्पादनमुखी परियोजनाहरुमा आवश्यक लगानी गर्नुपर्ने थापाको सुझाव छ।

बुधबार ११ माघ २०७९ ०९:५९ PM मा प्रकाशित

प्रतिक्रिया