×

प्लास्टिक प्रदर्शनी मेलाः मन्त्री भन्छन्– नेपालमा प्लास्टिकजन्य सामानको उत्पादन बढाउनुपर्छ

images

काठमाडौं । प्लास्ट नेपाल फाउन्डेसनको ‘प्लास्ट नेपाल २०२२’ प्लास्टिक प्रदर्शनी बुधबारबाट सुरु भएको छ । उक्त प्रदर्शनी जेठ १२ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ । 

प्रदर्शनी मेलाको उद्घाटन गर्दै उद्योगमन्त्री दिलेन्द्र बडूले प्लास्टिकजन्य उद्योगको गुणस्तर अभिवृद्धि गर्न, निकासी प्रवद्र्धन गर्न र विश्व बजारमा नेपालको पहुँच बढाउन मेलाले सहयोग पुर्याउने बताएका छन् । 

विकसित देशमा प्लास्टिकजन्य उत्पादनको उपयोग बढी गर्ने प्रचलन रहेको भन्दै मन्त्री बडूले नेपालमा पनि प्लास्टिकजन्य सामानको उत्पादन र प्रयोग बढाउनुपर्ने बताएका हुन् । 

साथै प्लास्टिकजन्य उत्पादन वृद्धि गर्न, लगानीलाई सुरक्षित राख्न र निर्यातका लागि नीतिगत तथा प्रविधिको प्रयोगसहितको पक्षमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री बडूको भनाइ छ । 

‘संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा हामीले उद्योग नीतिलाई स्पष्ट गरेका छौं’, कार्यक्रममा बोल्दै उनले भने, ‘उद्योगको विस्तार, राष्ट्रिय उद्योगको उत्पादन बढाउने र उत्पादित वस्तुको उपभोग पनि बढाउने हाम्रो उद्देश्य हो ।’

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्न नहुने बताए । उनले भने, ‘कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म प्लास्टिकको प्रयोग अपरिहार्यजस्तै भएको छ । त्यसैले यसलाई व्यवस्थापन गर्न भने जरुरी छ ।’

साथै नेपालमा प्लास्टिक रिसाइक्लिङ उद्योग आउन लागेको कुरा स्वागतयोग्य भएको अध्यक्ष गोल्छाको भनाइ छ । आर्थिक वर्ष २०७९/०८० को बजेटलाई निजी क्षेत्रले चासोका साथ हेरेको र तरलता संकटले गर्दा उद्यागी/व्यवसायीहरु निरास भएकोसमेत गोल्छाको भनाइ छ । 

नेपालमा प्लास्टिक सामाग्री उत्पादन गर्ने कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क लाग्ने भएकाले भारतबाट धेरै प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरी अनधिकृत रुपमा नेपाल भित्रिने उनले बताए । भन्सार शुल्क कम गर्न उद्योगसचिव अर्जुनप्रसाद पोखरेललाई अध्यक्ष गोल्छाले आग्रहसमेत गरेका छन् । 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि प्लास्टिकको प्रयोग हरेक क्षेत्रमा हुने भएकाले यसको महत्व रहेको बताएका छन् । सरकारले स्वदेशी उद्योगलाई ध्यानमा राखी नीति तथा कार्यक्रम घोषणा गरेकामा उद्योगीहरु सकरात्मक भएको अग्रवालले बताए । 

त्यस्तै नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगोबिना चुलो नबलेजस्तै प्लास्टिकबिना जीवन नचल्ने अवस्था आएको बताए । चीनमा प्लास्टिकबाट पुनःप्रयोगको रुपमा सिरक, डसना बनाउने गरेको भन्दै नेपाली प्लास्टिक उद्योगहरुले पनि पुनः प्रयोग गर्ने प्रक्रियालाई ध्यान दिन उनले आग्रह गरे । 

उद्योगसचिव पोखरेलले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान दिन उद्योगीहरुलाई आग्रह गर्दै अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्र भएको कुरा सरकारले आत्मसात् गर्दै अगाडि बढ्ने बताए । 

प्लास्टिक प्रदर्शनीको पहिलो संस्करण २०७१ र दोस्रो संस्करण २०७५ मा आयोजना भएको थियो । यो भने तेस्रो हो । प्रदर्शनीमा ९५ वटा स्टलका साथै भारतीय कम्पनीसँग आबद्ध विदेशी कम्पनीहरुको प्रविधि प्रयोग गर्ने सप्लायर्सहरु पनि रहेको प्लास्ट नेपालका अध्यक्ष रावलकुमार अग्रवालले बताए । 

यस्तै नेपालका लागि नयाँ प्रविधि कसरी भित्र्याउन सकिन्छ भनेर पनि प्रदर्शनी आयोजना गरिएको अध्यक्ष अग्रवालको भनाइ छ । 

बिहीबार १२ जेठ २०७९ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया