काठमाडौं। आज कात्तिक कृष्ण औँसी। नेपालीहरुका लागि वर्षको सबैभन्दा उज्यालो रात। घर आँगनदेखि सहरका गल्लीसम्म दीपमालिकाले झिलिमिली छ। यही रातलाई गाईतिहारे औँसी वा सुखरात्रि पनि भनिन्छ, जसमा धनधान्यकी देवी लक्ष्मीको पूजा–अर्चना गरिन्छ।
शास्त्रीय मान्यताअनुसार कात्तिक महिनाको जुन साँझ वा अर्धरात्रिकालमा औंसी तिथि पर्छ, त्यही बेला लक्ष्मीपूजा गर्न उपयुक्त मानिन्छ। शिवरात्रिलाई महारात्रि, जन्माष्टमीलाई मोहरात्रि र नवरात्रको सातौं दिनलाई कालरात्रि भनिएझैं, तिहारको औंसीलाई सुखरात्रि भनिन्छ- सुख, समृद्धि र उज्यालोको प्रतीकको रूपमा।
घर-घरमा लक्ष्मीको आगमन
साँझपखदेखि नै घरमा दीप प्रज्वलन र भित्ताभरि रंगोलीको सिँगार सुरु हुन्छ। परिवारका सदस्यहरू सफा लुगा लगाएर घरको मूल ढोकादेखि लक्ष्मी बस्ने कोठासम्म मण्डप बनाएर देवीलाई भित्र्याउँछन्।
लक्ष्मीपूजा साँझपख पश्चिम मोहडा फर्किएर गर्नुपर्छ। दियो, कलश र गणेशलाई पूजा गरेर मात्र लक्ष्मीको प्रतिमा वा तस्वीरमा आवाहन गरिन्छ। पूजा गर्दा चन्दन, अक्षता, फूल, धूप र बत्ती पाँच मुख्य वस्तुका रूपमा प्रयोग गरिन्छ- जसलाई पञ्चोपचार विधि भनिन्छ।
यस्तो छ पूजा विधि र शान्ति मन्त्र
पूजा सुरु गर्नु अघि सबै सामग्रीमा जल छर्केर पवित्रीकरण गर्नुपर्छ। र पुजा मन्त्र यस्तो छ।
ॐ अपवित्र पवित्रो वा सर्वावस्थां गतोपी वा ।
यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरम शुचिः ।।
त्यसपछि दियो, कलश र गणेशको पूजा गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ। ‘भो लक्ष्मी यागच्छः' मन्त्र उच्चारणसहित दीप उज्यालोमा देवीको उपस्थितिको प्रतीक देखिन्छ। पूजा सकेपछि शान्ति पाठ गरेर आरती गरिएको हुन्छ।
ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः,
पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।।
यसरी शान्ति मन्त्र सकेपछि घरका सबै कोठा, धनराशी र वस्तुमा दीप प्रज्वलन गरी लक्ष्मीको कृपाका लागि प्रार्थना गरिन्छ।
लक्ष्मीपूजा केवल धनको प्रतीक होइन, नकारात्मकता हटाउने संस्कार पनि हो।
यस रात घरभित्रका पुराना, टुटेफुटेका र अव्यवस्थित वस्तु बाहिर निकालिन्छन्- अलक्ष्मीलाई विदा गर्ने प्रतीकको रूपमा। नयाँ सुरुवात, स्वच्छता र सकारात्मक ऊर्जासँगै लक्ष्मीको स्वागत गरिन्छ।
पूजा सकिएपछि आरती गर्न सकिन्छ। त्यसको लागि तीन पटक आचमनीबाट जल लिएर दीपकको चारैतिर घुमाउने तथा निम्न मन्त्रको उच्चारण गर्ने ।
ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः,
पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिब्र्रह्म शान्तिः,
सर्वे शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।